मुख्य समाचार
जर्मनीको म्युनिख विमानस्थलमा अनेकौँ ड्रोन देखिएपछि उडानहरू तत्कालीन रूपमा रोकिए
जर्मनीको म्युनिख विमानस्थलमा अनेकौँ ड्रोन देखिएपछि उडानहरू तत्कालीन रूपमा रोकिए

। जर्मनीको म्युनिख विमानस्थलमा बिहीबार राति अनेकौँ ड्रोन देखिएपछि उडानहरू तत्कालीन रूपमा रोकिएका छन् ।

एकजना प्रहरी प्रवक्ताले शुक्रबार बिहान यो घटना हालै युरोपका विभिन्न मुलुकहरूमा दोहोरिँदै आएका उड्डयन अवरोधहरूको शृङ्खलामध्ये पछिल्लो भएको बताए ।


विमानस्थल प्रशासनले जारी गरेको विज्ञप्तिअनुसार म्युनिखबाट प्रस्थान गर्न तय गरिएका १७ उडानहरू बिहीबार राति स्थगित गरिएका थिए । यस कारण करिब तीन हजारभन्दा बढी यात्रुहरू प्रभावित भएका छन् ।

त्यस्तै, अवतरणका क्रममा रहेका १५ वटा विमानहरूलाई आपत्कालीन रूपमा स्टटगार्ट, न्युरेमबर्ग, भियना र फ्रान्कफर्टसहितका अन्य सहरहरूमा मोडिनु परेको थियो ।



प्रभावित यात्रुहरूको असुविधा कम गर्नका लागि अस्थायी व्यवस्था स्वरूप विमानस्थलले क्याम्प बेड, कम्बल, पेय पदार्थ र खाजाको सुविधा उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यद्यपि, उडानहरू कहिले पुनः सञ्चालनमा आउने भन्ने विषयमा भने कुनै निश्चित जानकारी दिइएको छैन ।

बिहीबार साँझ करिब १९३० जिएमटीमा र त्यसको एक घण्टापछि पुनः म्युनिख विमानस्थल वरिपरि धेरै व्यक्तिहरूले ड्रोन देखेको बताएका थिए । यस घटनापछि दुवै धावन मार्ग सुरक्षाका कारण करिब एक घण्टासम्म पूर्ण रूपमा बन्द गरिएको प्रहरी प्रवक्ताले बताए ।

जर्मन अधिकारीहरूले तत्कालै ड्रोनको उत्पत्ति पत्ता लगाउन खोजीकार्य प्रारम्भ गरेका छन् । यस क्रममा प्रहरी हेलिकप्टरहरू समेत तैनाथ गरिएको भए तापनि ड्रोनको किसिम र सङ्ख्याबारे हालसम्म कुनै आधिकारिक विवरण प्राप्त हुन सकेको छैन ।

यो घटना जर्मनीको प्रसिद्ध ओक्टोबर्फेस्ट महोत्सवको अन्तिम सप्ताहन्तअघि भएको हो । विश्वभरबाट सयौँ हजार मानिसलाई दैनिक रूपमा आकर्षित गर्ने यस पर्वको पूर्वसन्ध्यामा यस्तो घटना हुनुले सुरक्षाप्रति थप चिन्ता बढाएको छ ।

युरोपका अन्य मुलुकहरूमा समेत हालै यस्ता घटनाहरू दोहोरिएका छन् । विशेषगरी कोपेनहेगन, ओस्लो र वार्साका विमानस्थलहरूमा पनि ड्रोन देखिएपछि अस्थायी रूपमा सञ्चालन रोकिएको थियो । यसै कारण अहिले जर्मनी पनि उच्च सतर्क अवस्थामा रहेको छ ।

पोल्यान्ड र डेनमार्कले यस्ता अवरोधहरूका लागि प्रत्यक्ष रूपमा रूसलाई दोषारोपण गरेका छन् । यसैबीच, युरोपेली सङ्घ (इयु) का २७ सदस्य राष्ट्रका प्रतिनिधिहरू बिहीबार कोपेनहेगनमा भेला भई सम्भावित हवाई खतराबाट बच्न ‘ड्रोन पर्खाल’ निर्माण गरेर सुरक्षा सुदृढ गर्ने विषयमा छलफल गरेका थिए ।

गत साताभरि जर्मनीका विभिन्न भागमा सैन्य तथा औद्योगिक स्थलगत क्षेत्रमा समेत ड्रोनको झुण्ड देखिएको रिपोर्ट सार्वजनिक भएपछि अधिकारीहरूले बढ्दो ड्रोन खतराबारे स्पष्ट चेतावनी दिएका छन् ।

यसै सन्दर्भमा जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्डले भने, ‘हामी हाइब्रिड स्वरूपको नयाँ खतरासँग जुधिरहेका छौँ । यसलाई सामना गर्न अब नयाँ प्रकारका उपाय र प्रतिक्रियाहरू खोज्न अपरिहार्य छ । आवश्यक परे हाम्रो हवाई क्षेत्रमा प्रवेश गर्ने सम्भावित ड्रोनहरूलाई खसाल्ने कार्यान्वयन पनि गर्नुपर्ने हुनसक्छ ।’ एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप