। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी (उनेपा)सँग कुनै पनि सम्वादमा नरहेको बताएका छन् । उनेपाले प्रचार गरेको जुम मिटिङमा पनि संलग्न नहुने उनको प्रष्टीकरण छ ।
निर्वाचन आयोगमा दर्ताका लागि कागजात पेस गरेको उनेपाले नयाँ दल गठनबारे कुलमान घिसिङसहितका विज्ञहरुसँग जुम मिटिङ गर्ने भनेर प्रचार गर्दै आएको छ । यस सम्बन्धमा समाचार सार्वजनिक भएपछि कुलमान घिसिङले त्यसको खण्डन गरेका हुन् ।
समाचारमा आएको कुरामा सत्यता नभएको बताउँदै घिसिङले अनलाइनखबरसँग भने, ‘नयाँ दल भनिएकोसँग कुनै कुरा भएको छैन, यसअगाडि पनि छलफल भएको होइन । प्रचार गरिएजस्तो जुम मिटिङमा पनि म सहभागी हुन्नँ ।’
उनेपाका अध्यक्षमा ज्ञानेन्द्र कुमार तामाङ छन् । यसअघि उनी प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)को कार्यालय सदस्य थिए । पछि उनले गत साउन ३१ गते विज्ञप्ति जारी गरी आम जनता पार्टी परित्याग गरेको र ‘उज्यालो नेपाल अभियान’ गठन गरेको घोषणा गरेका थिए ।
तामाङले दल गठनका सन्दर्भमा कुलमानसँग जुम मिटिङमार्फत् छलफल गर्न लागिएको भन्दै प्रचार सामग्रीहरु सार्वजनिक गरेका छन् । घिसिङले आफूसँग सोध्दै नसोधी आफ्नो फोटो प्रयोग गरेर प्रचार गरिएको भन्दै विरोध समेत जनाएका छन् ।