— क्रिस्टल प्यालेसले इंग्लिस प्रिमियर लिगमा शनिबार डिफेन्डिङ च्याम्पियन लिभरपुललाई २–१ ले पराजित गरेको छ । प्यालेसका लागि एडि एनकेटिहले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेट निर्णायक गोल गरेका हुन् । यो नयाँ सिजन लिभरपुलको लिगमा पहिलो हार हो ।
लिभरपुल कम्युनिटी सिल्डको खेलमा पनि प्यालेसकै हातबाट पराजित भएको थियो । हारका बावजुत लिभरपुल १५ अंकमा शीर्ष स्थानमा छ भने प्यालेस १२ अंकमा दोस्रो स्थानमा उक्लेको छ । म्यानचेस्टर सिटीले भने दुई आत्मघाती गोलको मदतले बर्नलीलाई ५–१ ले पराजित गर्यो ।
यो जितपछि सिटी १० अंकमा चौथो स्थानमा उक्लेको छ । ब्राइटनले भने दस खेलाडीमा सीमित चेल्सीलाई ३–१ ले पराजित गर्यो । ब्राइटनका लागि डानी वेलब्याकले ७७ र दोस्रो हाफको इन्ज्युरी समयको दसौं मिनेटमा दुई गोल गरे । अन्य खेलमा लिड्स युनाइटेड र बर्नमाउथले रोमाञ्चक २–२ को बराबरी खेले ।