: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार न्यूयोर्कमा अरब देशका नेतासँग गाजाको अवस्थाबारे छलफल गर्ने भएका छन्।
यो छलफल इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको ट्रम्पसँगको भेटभन्दा अगाडि हुन लागेको हो। ट्रम्प र नेतान्याहूबीच सेप्टेम्बर २९ मा भेट तय भएको छ।
न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभाको बैठकका बीच ट्रम्पले अरब नेताहरूसँग भेटवार्ता गर्न लागेका हुन्।
यसमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानका नेता सहभागी हुनेछन्।
बैठक बाहेक डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको महासभालाई पनि सम्बोधन गर्नेछन्।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले सोमबार संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई एक राष्ट्रको रूपमा मान्यता दिएका थिए। यसअघि आइतबार बेलायत, अष्ट्रेलिया, पोर्चुगल र क्यानडाले पनि प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिएका थिए।