— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक नोबेल पुरस्कार पाउनुपर्ने दाबी गरेका छन् । उनले भारत–पाकिस्तानबीच गत मे मा भएको युद्धसहित अन्य देशहरुबीच चलिरहेका संघर्षहरु रोकेको उल्लेख गर्दै आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गरेका हुन् ।
शनिबार राति (अमेरिकी समयअनुसार) एक कार्यक्रममा भने, ‘ट्यारिफ र ट्रेडका कारण हामी सात भिन्न–भिन्न युद्ध रोक्नमा सफल भएका छौं । हामीले भारत–पाकिस्तान, थाइल्यान्ड र कम्बोडियाबीचको युद्ध पनि रोक्यौं ।’
यस्तै अर्मेनिया र अजरबैजान कैयौं वर्षदेखि युद्ध लडिरहेको, भारत–पाकिस्तानबीचको युद्ध व्यापारमार्फत रोकेको कुरा दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ट्रम्पले भने, ‘भारत–पाकिस्तान, थाइल्यान्ड–कम्बोडिया, अर्मेनिया–अजरबैजान, कोसोभो–सर्बिया, इजरायल–इरान, मिश्र–इथियोपिया र रुवान्डा–कंगो । हामीले यी सबैको एक अर्काबीच चलिरहेको युद्ध रोक्यौं । यीमध्ये ६० प्रतिशत व्यापारका कारण युद्ध रोकिए । जस्तै हामीले युद्ध भयो भने भारतसँग व्यापार गर्दैनौं भन्यौं ।’
उनले नोबेल पुरस्कारको कुरा गर्दै अघि भने, ‘यी सबै सफलतापछि मलाई भनियो–यदि तपाईं रुस र युक्रेनबीच युद्ध रोक्न सक्नुहुन्छ भने तपाईंलाई नोबेल पुरस्कार दिइनुपर्छ । मैले भने, –बाँकी सातका बारेमा के? । जुन युद्ध मैले रोकेँ, मलाई हर एकका लागि नोबेल पुरस्कार दिइनुपर्छ ।’
ट्रम्पले कैयौंपटक भारत–पाकिस्तानबीचको युद्ध रोक्न आफ्नो प्रमुख भूमिका रहेको दाबी गर्दै आएका छन् । यद्दपी भारतले उनको हरेक दाबीलाई अस्वीकार गर्दै आएको छ ।