: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमाथि ठूलो आक्रमण भएको बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले यतिबेला नेपालको संविधानमाथि ठूलो आक्रमण भएको बताएका हुन्।
उनले भने, ‘हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ। प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ। नेपालको नक्सा जलाइएको छ। देशको निशानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानी छानी खरानी बनाइएको छ।’
उनले आह्वान कर्ताले भनेझैं गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भएको बताए। ‘त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए। हाम्रा युवाहरुको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकिताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ। त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु।’
उनले सबै पुस्ताका नेपाली एकजुट हुनुपर्ने बताए। ‘सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न। सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ’, शुभकामना सन्देशमार्फत उनले अपिल गरेका छन्।