— प्रर्दशनका क्रममा भदौ २४ गते सिंहदरबारभित्र जलाइएका सवारीसाधन नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा लगेर जम्मा गरिने भएको छ । यसको समन्वय सहरी विकास मन्त्रालयले गरिरहेको छ ।
मन्त्रालयले भने जलेका सवारीसाधन जम्मा गरेर संसद् भवन परिसरमा लगेर राखिसकेको छ । मन्त्रालयका सचिव गोपाल सिग्देलका अनुसार आगलागीबाट क्षति भएका ११ वटा चारपांग्रे र ६ वटा दुई पांग्रे सवारी साधनको मुचुल्का उठाई लगेर जम्मा गरिएको हो ।
‘सिंहदरबारभित्र जलेका गाडी लगेर संसद् भवन परिसरमा राख्ने गरेका छौं,’ उनले भने, ‘जुन–जुन मन्त्रालयमा सवारी साधनमा क्षति भएको छ, ती–ती मन्त्रालयले सवारीसाधनको मुचुल्का गर्नुपर्ने हुन्छ ।’ बिमा गरिएको भए त्यसको प्रक्रिया पनि टुंग्याएर मात्र संसद् भवन लग्नुपर्ने उनले बताए ।
‘सिंहदरबारभित्र जलेका गाडीको व्यवस्थापनमा समन्वय हाम्रो मन्त्रालयले गरेको छ, त्यो भनेको कहाँ लगेर राख्ने भन्ने कुरामा हो,’ उनले भने, ‘फेरि गाडी जल्यो उठाइहालौं भन्ने हुँदैन, मुचुल्कासहितका सबै प्रक्रिया पूरा गरेर मात्र लग्नुपर्छ, त्यसैले केही समय ढिला हुनसक्छ ।’
सम्बन्धित मन्त्रालयले नै जलेका गाडीको व्यवस्थापन गर्नुपर्ने उनले बताए । ‘नयाँ बानेश्वरमा जलेका गाडी जम्मा भइसकेपछि पत्रु सवारी साधनका रूपमा लिलाम गरिने छ,’ उनले भने,‘ सम्बन्धित मन्त्रालयले के कति सवारी साधनमा क्षति भयो भन्ने विवरण तयार पार्दै मुचुल्का गरिरहेका छन् ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि जलेका गाडी संसद् भवन लगिसकेको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार ९ वटा गाडी जलेका छन् भने १३ वटा गाडीमा तोडफोड गरिएको थियो ।
‘हामीले मन्त्रालय परिसर पनि सफा गरिसकेका छौं,’ उनले भने, ‘मन्त्रालय र यसअन्तर्गतका विभाग तथा कार्यालयको काम पनि आइतबारबाट नियमित रूपमा सञ्चालन भइसकेको छ ।’ सिंहदरबारभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाहेक सबै मन्त्रालय छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २१ वटा मन्त्रालय सिंहदरबारभित्र रहेका छन् । अहिले सबैले आगलागीबाट क्षति भएका सवारी साधनको मुचुल्का उठाएर संसद् भवन लगिरहेका छन् । के कति सवारी साधनमा क्षति भएको थियो भन्नेबारे भने अझै यकिन तथ्यांक आइनसकेको सहरी विकास मन्त्रालयले जनाएको छ ।