: सुनसरीको धरान उपमहानगरपालिकामा भदौ २४ गते जेनजी आन्दोलनको आवरणमा भएको आगजनी र तोडफोडका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीय राजनीतिक दलका नेताहरूले प्रहरीमा किटानी जाहेरी दिएका छन्।
धरानका पूर्व सांसद जयकुमार राई, पूर्व उपमेयर मञ्जु भण्डारी, नेपाली कांग्रेस कोशीका महामन्त्री उमेश थापा, कांग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङ र धरान उपमहानगरपालिका कार्यपालिका सदस्य सिर्जना नेपालले संयुक्त रूपमा इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता गरेका हुन्।
कांग्रेस सभापति तामाङका अनुसार उनीहरूले बुझाएको उजुरीमा १५ जनाको नामसहित पहिचान गरिएकाले तत्काल पक्राउ गरी कानुनी कारबाहीको माग गरिएको छ। धरानमा आगजनी र तोडफोड गर्नेमा पत्रकार विमल शाक्य, संगीतकार हेम सुब्बा, मिलन वान्तवा र दिपचन्द्र राई (कान्छी) लगायतको संलग्नता प्रमाणसहित पुष्टि भइसकेको छ।
भदौ २४ गतेको घटनामा धरानस्थित नेपाली कांग्रेस र माओवादी केन्द्रका पार्टी कार्यालय, भाटभटेनी सुपरमार्केट लगायतका ठाउँमा तोडफोड र आगजनी गरिएको थियो। कांग्रेस महामन्त्री उमेश थापाले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। पूर्व सांसद जयकुमार राईले समेत सबै दोषीलाई पहिचान गरी तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न जोड दिए।
धरानका सबै राजनीतिक दलहरूले समेत घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै संयुक्त दबाब बनाइरहेका छन्। इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले उजुरीका आधारमा घटनामा संलग्नहरूलाई क्रमशः पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिए।