: काठमाडौं महानगरपालिकाले जेनजीको आन्दोलनमा सुरक्षाका कारण सिंहदरबारलगायत आगलागी भएको स्थानमा दमकल लान नसकिएको जनाएको छ। काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले आज पत्रकार सम्मेलन गर्दै दमकललाई स्कटिङ गरेर लैजान खोज्दा पनि आगलागि भएको स्थानमा लैजान नसकिएको बताएका हुन्।
सिंहदरबार, अदालत साझा सम्पत्ति जलिरहँदा पनि काठमाडौं महानगरले दमकल नपठाएको भन्ने कुरा गलत रहेको उनको दाबी छ।
‘दमकल जान सक्ने अवस्थामा, दमकल सुरक्षित भएर जान सक्ने अवस्थामा हामीले ढिलाइ गरेका छैनौँ। हामीले विभिन्न व्यक्तिहरू, विभिन्न कम्पनीहरूबाट बालाजु एरियाबाट, स्वयम्भू एरियाबाट हामीले आफ्नो व्यक्तिगत एप्रोचका आधारमा, महानगरको एप्रोचका आधारमा पानी तत्काल होस्, दमकलमा पानी सकिएपछि त्यही ठाउँमा पानी ट्यांकर पुर्याउन हामीले अनुरोध गरेर सयौँ पानी ट्यांकरहरू सहयोगका रूपमा लिएर आएर तत्काल पानी फिलिङ गर्ने अवस्था पनि गर्यौँ।’ उनले भने,‘महानगरपालिकाले दमकल परिचालन गरेन भन्ने कुरा गलत हो। सेनासँग पनि समन्वय भइरहेको थियो।’
उनले भदौ २५ गतेबाट महानगर सरसफाईमा जुटेको बताए। आन्दोलनपश्चात उनले ३७४ टिपर फोहोर संकलन गरेको जानकारी गराए। उनले सरसफाईको क्रममा भेटिएका हतियार सुरक्षाकर्मीलाई बुझाएको बताए। पाण्डेले माथिबाट निर्देशन र निर्णय भएका कुरा मात्र आफूहरुले पालना गरेर जाने बताए।
जेन्जी आन्दोलनका कारण राष्ट्रपति कार्यालय शितल निवास, उपराष्ट्रपति कार्यालय, सिंहदरबार, न्यायालय, संसद भवन लगायतका सरकारी तथा निजी घर जलेर नष्ट भएको थियो।