: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फासीवाद विरोधी समूह एन्टिफा (फासीवाद विरोधी)लाई आतंकवादी संगठन घोषणा गरेका छन्।
एन्टिफाका सदस्य वा यस विचारधारासँग सम्बन्धित व्यक्तिहरूले नव–नाजीवाद, नव–फासीवाद, गोरा सर्वोच्चतावाद र जातीय भेदभाव जस्ता रूढिवादी अति दक्षिणपन्थी विचारधाराविरुद्ध आवाज उठाउँदै आएका छन्।
ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै भने,ʻम एक खतरनाक र कट्टरपन्थी वामपन्थी संगठन एन्टिफालाई एक प्रमुख आतंकवादी संगठनको रूपमा तोक्दै मलाई खुसी लागेको छ।ʼ
ʻम एन्टिफालाई आर्थिक सहयोग गर्नेलाई उच्चतम कानुनी मापदण्ड र नियमअन्तर्गत अनुसन्धान गर्न पनि सिफारिस गर्दछु,ʼ उनले भने।
राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि यो समूहको विरोध गरेका थिए।
समूहसँग सम्बन्धित धेरैले आफ्नो समूह १९२० र १९३० को दशकमा युरोपेली फासीवादी शक्तिविरुद्धको आन्दोलनको रूपमा अस्तित्वमा आएको विश्वास गर्छन्।
पश्चिम जर्मन अराजकतावादीदेखि शीतयुद्धको समयमा एन्टिफाको विचारधारा मान्नेसम्म सबैले विरोध प्रदर्शनमा कालो लुगा लगाउँछन्।
प्रहरी वा विपक्षीहरूले नचिनुन् भनेर यी मानिस प्रायः आफ्नो अनुहार मास्कले छोप्छन् वा हेलमेट लगाउँछन्।
एन्टिफा प्रदर्शनकारीहरूले रूढिवादी अति–दक्षिणपन्थी कार्यक्रम र राजनीतिज्ञको कार्यक्रममा बाधा पुर्याउने प्रयास गर्दछन्।