— सिरहा जेन-जी आन्दोलनका क्रममा काठमाडौंमा ज्यान गुमाएका लहान नगरपालिका-१५ सिमलटोकीका २७ वर्षीय विजय चौधरीको परिवारलाई सहयोग गरिने भएको छ । लहान नगरपालिकाले मृतक चौधरीको परिवारलाई सहयोग गर्ने घोषणा गरेको हो ।
नगर प्रमुख महेशप्रसाद चौधरीले बिहीबार पत्रकार सम्मेलन गर्दै मृतक चौधरीको परिवारलाई खाद्यान्न सामग्रीसहित एक लाख रुपैयाँ, उनकी श्रीमतीलाई शैक्षिक योग्यताका आधारमा रोजगारी तथा चार वर्षीया छोरीलाई कक्षा १२ सम्म नि:शुल्क शिक्षा प्रदान गरिने जानकारी दिए ।
चौधरीको गत भदौ २३ गते काठमाडौंस्थित बानेश्वरमा प्रदर्शनका क्रममा ज्यान गएको थियो । काठमाडौंमै श्रीमती र छोरीसहित डेरा गरी बस्दै आएका चौधरी हाउसवायरिङको काम गर्दै आएका थिए ।
जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते लहान नगरपालिकामा पनि आक्रमण भएको थियो । नगरपालिकामा भएको तोडफोड, लुटपाट र आगजनीबाट ७ करोडबढीको क्षति भएको नगरपालिकाले जनाएको छ ।
तर, जेन-जीका नाममा राजनीतिक प्रतिशोधका आधारमा यस्तो घटना घटाइएको मेयर चौधरीको भनाइ छ । यसको छानबिन गरी संलग्नलाई कारबाहीको दायरामा ल्याउन उनले माग गरेका छन् ।
नगरपालिकाले आंशिक रूपमा काम कारबाही थालिसकेको र आइतबारदेखि पूर्ण र"पमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको मेयर चौधरीले जानकारी दिए ।