— कांग्रेस जुम्लाले तत्काल विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्न माग गरेको छ । आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमा भावी प्रधानमन्त्री स्पष्ट पार्दै उसकै नेतृत्वमा जिम्मेवारपूर्वक निर्वाचनमा सहभागिता जनाउनुपर्नेमा जोड दिएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै कांग्रेस जुम्लाले अहिलेको अवस्थामा नेतृत्व सक्किने र सच्चिने दुई विकल्प कांग्रेसका सामु खडा भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । कांग्रेस जुम्लाले पार्टीलाई सही बाटोमा उभ्याउन तत्काल विशेष महाधिवेशन बोलाएर मार्ग खोल्नसमेत आग्रह गरेको कार्यवहाक सभापति कार्मा बुढाले जानकारी दिए । उनका अनुसार पटकपटक पार्टीको पद र सार्वजनिक पद धारण गर्ने नेताहरुले अब पार्टीको जिम्मेवारीबाट संन्यास लिएर अभिभावकको भूमिकामा बस्नुपर्ने र एक व्यक्ति एक पदको सिद्धान्त अंगाल्नुपर्ने बताए ।
पार्टीका सभापतिदेखि पदाधिकारीसम्मका पदहरुमा दुई कार्यकालभन्दा बढी हुन नहुने,सार्वजनिक पदहरु राष्ट्रिपति एक पटक,प्रधानमन्त्री,मन्त्री २ पटक, सांसद चार पटक र स्थानीय तहका पदहरु अधिकतम २ पटकसम्म हुन पाउनुपर्ने व्यवस्था विशेष महाधिवेशनले गर्नुपर्ने मागसमेत राखिएको छ ।
जेनजी आन्दोलनका क्रममा नेताहरुको घरमै अकुत नगद तथा जिन्सी सम्पत्ति रहेको समाचार बाहिरएकोले तत्काल आन्तरिक छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिइएको छ । कार्यबहाक सभापतिले भने, ‘यो कार्यले पार्टीको छवि सुर्धान मद्दत पुर्याउनुका साथै सुशासन कायममा सहयोग पुग्नेछ ।’
कांग्रेस जुम्लाका कार्यवहाक सभापति, २ स्थानीय तहका कार्यवहाक सभापति र ६ वटा स्थानीय तहका सभापतिको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमा जेनजी आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवा र धर्मपत्नी आरजु देउवाप्रति भएको अपमानप्रति गहिरो दुःख व्यक्त गरेको छ ।