— सिंहदरबार परिसरभित्र रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भवनमा मंगलबार भएको प्रर्दशनका क्रममा सामान्य क्षति भएको छ । मन्त्रालयको प्रशासन शाखाको एउटा कोठामा मात्र क्षति भएको हो ।
उक्त कोठामा आगो लाग्न लागेपछि मन्त्रालयका कर्मचारी जुटेर निभाइएकाले ठूलो क्षति हुन नपाएको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।
उनका अनुसार नियमित कामकारबाही मन्त्रालयबाट भइरहेको छ । मन्त्रालय परिसरमा पार्किङ गरेर राखिएका सवारी साधनमा भने आगलागीबाट क्षति भएको उनले सुनाए ।
आइतबार सार्वजनिक सवारी साधनलाई कसरी सहज रूपमा सञ्चालन गर्ने र कहिलेबाट दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खुलाउने सम्बन्धमा मन्त्रालयमै छलफल भएको उनले बताए ।
‘मन्त्रालयमा त्यस्तो क्षति छैन, नियमित गर्नुपर्ने कामहरू भइरहेका छन्,’ उनले भने, ‘मन्त्रालयमातहत रहेका सडक विभाग, आयोजना कार्यालहरूमा भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।’