: नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले झन् बलियो भएर उठ्ने बताएका छन्। च्यासलस्थित पार्टी कार्यालयको निरीक्षणपछि महासचिव पोखरेलले जनताको भावनालाई सम्बोधन गर्ने सामर्थ्यसहित एमाले उठ्ने बताए।
'देशलाई कमजोर बनाउने प्रवृत्तिविरुद्ध लड्न नेकपमा एमाले कहिल्यै कमजोर हुँदैन। एमाले देशभक्तको मानक बनाएको पार्टी भएकाले हामी कहिल्यै कमजोर हुनेछैनौं। त्यसका बावजुद हाम्रा कमी कमजोरी होलान्। त्यसलाई सुधार गरिँदै लैजानुपर्छ,' उनले भने, 'हामी फेरि उठ्नेछौं। एकताबद्ध भएर, सशक्त भएर, जनताको भावनालाई सम्बोधन गर्ने सामर्थ्य लिएर उठ्नेछौं।'
महासचिव पोखरेलले भदौ २३ र २४ को घटना नेपालको इतिहासमै योभन्दा ज्यादा विनाशकारी भएको बताए। एमालेले युवाहरूको चाहना र आकांक्षा पूरा गर्नेगरी योजना बनाइरहेका बेला दुःखद घटना भएको उनको भनाइ छ। 'युवाहरूले धैर्यता गरेको भए नेकपा एमालेले नै उहाँहरूको चाहना र आकांक्षा पूरा गर्ने पार्टीको रूपमा आउँदैथ्यो। हामीले त्यसखालका योजनाहरू तयार पारेका थियौं। ती योजनाहरू व्यवहारमा लागू गर्न नपाउँदै मुलुकको दुःखद घटना घट्यो,' उनले भने।
गत २२, २३ र २४ गते एमालेको विधान महाधिवेशनमा युवाहरूमा हुर्किँदै गरेको रुची र आकांक्षालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर लामो छलफल गरी निर्णायक शक्तिको २१ बुँदे योजना बनाएको उनको भनाइ छ। महासचिव पोखरेलले युवाहरूको आकांक्षाको रूपमा सुशासन कायम हुनुपर्ने बताए। उनले सेवा प्रवाहमा प्रभावकारिता र विकासले गति लिओस् भन्ने अपेक्षा जायज रहेको बताए।
उनले संविधानभित्रैबाट युवाको चाहना बमोजिम सरकार बनाउन सकिने भए पनि त्यस विपरीत संविधानलाई कमजोर बनाउने प्रयत्न भएको आरोप लगाए। 'अहिले राजनीतिक परिस्थिति बदलिएको छ। युवाका नाममा सुशीला कार्कीजी प्रधानमन्त्री हुनुभएको छ। हामीले संविधानभित्रबाटै युवाको चाहना बमोजिम सरकार बनाउन सकिन्छ भनेका थियौं। नेपालका राजनीतिक दलहरू पनि युवा आन्दोलनको भावना सम्बोधन गर्न तयार छन् भन्ने सन्देश सम्प्रेषण गरेका थियौं। तर, त्यो कुरालाई उपेक्षा गरियो। आज जसरी अगाडि बढिएको छ, त्यसले लामो समयबाट प्राप्त भएको संविधान, हामीले स्थापित गरेको समावेशी प्रणाली, दुनियाँकै एउटा नमूना प्रणालीको रूपमा मानिन्छ। जनता सम्प्रभुता र अधिकार सम्पन्न भएको संविधानलाई कमजोर बनाउने प्रयत्न भइराखेका छन्,' उनले भनेका छन्।
युवाको आन्दोलनलाई लुटपाटमा बदल्ने खालको काम, राष्ट्रलाई कमजोर बनाउने कामप्रति गम्भीर आपत्ति जनाउँदै उनले दोषीहरूलाई पहिचान गरेर दण्डित गर्नुपर्ने बताए। त्यस्तै एमाले चुनावमा सहयोग गर्न तयार रहेको पनि बताए। अन्तरिम सरकारको काम नै निर्वाचन गराउने रहेको बताउँदै उनले एमाले त्यसका लागि सहयोग गर्न तयार रहेको बताए।