– प्रदर्शनकारीबाट आगजनी र तोडफोड भए पनि अर्थ मन्त्रालय काम सुरु गर्न सक्ने अवस्थामा रहेको अर्थ सचिव घनश्याम उपाध्यायले बताएका छन् । शुक्रबार मन्त्रालय निरीक्षणपछि केही मन्त्रालयका केही विभागमा क्षति पुगे पनि बजेट, राजस्व र भन्सार प्रणालीका तथ्यांक सुरक्षित रहेकाले तत्काल काम सुरु गर्न सक्ने अवस्थामा रहेको उनले जानकारी दिए ।
‘भौतिक रूपमा धेरै तथ्यांक नष्ट भएका छन् । तर, अर्थ मन्त्रालयअन्तर्गतका बजेट प्रणाली, भन्सार प्रणाली र राजस्व प्रणालीका तथ्यांक जोगिएको छ । यसका आधारमा अर्थ प्रशासन तत्काल काम सुरु गर्न सक्ने अवस्थामा छ,’ उनले भने, ‘काम सुरु गर्न सरसफाइ, क्षति व्यवस्थापनलगायत सुरु भएको छ ।’
झन्डै दुई दर्जन भन्सार र राजस्व कार्यालयहरूमा क्षति भएको उनले जानकारी दिए । ‘अर्थ मन्त्रालय छिट्टै पूर्ण रूपमा सञ्चालन गरेर अर्थतन्त्रमा आशा र भरोसा जगाउने प्रयास गर्छौं । मूल प्रश्न निजी क्षेत्रमा ठूलो क्षति भएको छ भने उनीहरूको मनोबल उठाउनुपर्ने अवस्था छ । त्यसका लागि मन्त्रालय अहोरात्र खटेर लाग्नेछ,’ उपाध्यायले भने ।
मुलुकमा लगानी विस्तार, रोजगारीका अवसर सिर्जना र उत्पादन बढाउने काम निजी क्षेत्रबाट हुने भएकाले सबैभन्दा पहिले त्यो क्षेत्रको आत्मविश्वास बढाउनेतर्फ मन्त्रालयको ध्यान केन्द्रित हुने उनले बताए । यसका लागि समाजका सबै सरोकारवालाहरूसँग समन्वय गरेर अघि बढ्ने पनि उपाध्यायले जानकारी दिए । ‘क्षति राम्रो सुरुवात गर्ने अवसर पनि हो । अब सबै सक्रिय भएर काम गर्नुपर्ने बेला आएको छ,’ उनले भने ।