: राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा ९५ दिनदेखि सदनमा आन्दोलित भएपनि सरकारले नसुनेको बताएको छ। बैठक सुरु हुने बित्तिकै सभामुख देवराज घिमिरेले समय दिएपछि बोलेका रास्वपाका सांसद हरि ढकालले भिजिट भिसा प्रकरणका विषयमा आफूहरूको माग यथावत रहेको बताएका हुन्।
सांसद ढकालले आफूहरुले भिजिट भिसा प्रकरणको विषय उठाउँदा उल्टै आफूहरूमाथि झुटा आरोप लगाउने गरेको बताए। उनले सत्ता पक्षले आफूहरूले सदनमा बोलेको २ मिनेट समयको विषयलाई बंग्याउन घण्टौं समय खर्चिइरहेको आरोप लगाए । उनले अहिले अख्तियारलाई समेत दलीयकरण गरेको भन्दै ८४ पछि यस्तो अवस्था नरहने जिकिर गरे।
उनले राणा शासनमा समेत विरोध गर्नेलाई निस्तेज पारिएको स्मरण गर्दै उनले लोकतन्त्रमा दलीयकरणले विरोधलाई नसुनेको आरोप लगाए। भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपाका सांसद ढकाल र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बोलेसँगै बुधबार प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। सांसद शाहीले भिजिट भिसा प्रकरणका आफूहरूले निरन्तर आवाज उठाउदा पनि कुनै सुनुवाइ नभएको भन्दै आपत्ति जनाए।