: बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटाले परम्परागत र प्रक्रियामुखी कार्यशैलीबाट प्रदेशले अपेक्षित समृद्धि हासिल गर्न नसक्ने बताएका छन्। मन्त्रालयद्वारा आयोजित आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२/८३ को कार्ययोजना तर्जुमा गोष्ठीको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै परिणाममुखी नतिजाका लागि ‘स्मार्ट वर्क, टिमवर्क र नवीन सोच’ लाई आत्मसाथ गर्नुपर्नेमा जोड दिएका हुन्।
मन्त्री देवकोटाले कर्मचारीतन्त्रको सोच र कार्यशैलीमा आमूल परिवर्तनको आवश्यकता औंल्याए। उनले केवल औपचारिकता निभाउने र पुरानै ढर्रामा काम गर्ने प्रवृत्तिले जनतामा सकारात्मक परिवर्तनको अनुभूति गराउन नसकिने स्पष्ट पारे। ‘हामीले अब टिप्पणी उठाएर र फाइल सदर गरेर मात्रै आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने मानसिकता त्याग्नुपर्छ,’ मन्त्री देवकोटाले भने, ‘हाम्रो हरेक काम जनताले प्रत्यक्ष देख्ने र अनुभव गर्ने गरी परिणाममा देखिनुपर्छ। यसका लागि स्मार्ट तरिकाले काम गर्नुको विकल्प छैन।’
मन्त्री देवकोटाले कुनै पनि ठूलो लक्ष्य एक्लै हासिल गर्न नसकिने बताउँदै मन्त्रालयका विभिन्न महाशाखा, विभाग र कर्मचारीहरूबीच बलियो ‘टिमवर्क’ को खाँचो रहेको बताए। ‘एउटा व्यक्ति वा एउटा निकाय मात्र दौडेर हुँदैन। जबसम्म हामी सबै एउटै टोलीको रूपमा समन्वयका साथ अघि बढ्दैनौँ, तबसम्म नतिजा आउँदैन,’ उनले भने।
परिवर्तन र विकासका लागि नवीन सोच र गतिशील कार्ययोजना अपरिहार्य रहेको उल्लेख गर्दै उनले विश्वव्यापी रूपमा विकास भइरहेका नयाँ प्रविधि र अवधारणालाई प्रदेशको विकासमा जोड्नुपर्ने धारणा राखे। उनले योजनाहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गरी स्रोत र साधनको अधिकतम उपयोग गर्नसमेत निर्देशन दिए।