दक्षिण कोरियामा अन्तर्राष्ट्रिय शिक्षाको अभिलाषा बोकेर पुगेका हजारौं नेपाली विद्यार्थीको अहिले बिल्लीबाठ भएको छ । मेधावी विद्यार्थीहरूसमेत अवैध कामदारका रूपमा लुकेर बस्न विवश छन् । यो समस्या केही ठग कन्सल्टेन्सीहरूबाट उत्पन्न भएको हो । नेपालमा शैक्षिक परामर्श व्यवसाय एउटा अनियन्त्रित र नाफामुखी धन्दामा परिणत भएको छ । त्यसैको परिणाम आज विद्यार्थी बनेर गएका विद्यार्थी कोरियामा बिचल्लीमा परिरहेका छन् ।
‘लाखौं कमाइ’ र ‘भिसाको ग्यारेन्टी’ जस्ता भ्रामक विज्ञापन सामाजिक सञ्जालभरि देखिन्छन् । तिनमै युवाहरू सजिलै फस्छन् । तर कोरिया पुगेपछि विद्यार्थीले रोजेको विषय पढ्न पाउँदैनन्, बरु जबरजस्ती तेक्वान्दो सिक्ने कोर्समा दाखिला गरिन्छ । वर्ष दिनको शुल्क लिएर ६ महिनाका लागि मात्रै भर्ना गरिन्छ । यस्ता थुप्रै केसहरू नेपाली विद्यार्थीका भेटिएका छन् । यो केवल ठगीमात्रै होइन, ठूलो अपराध हो ।
यस्तै अपराधको चंगुलमा परेका नेपाली विद्यार्थी घोर मानसिक तनावबाट गुज्रिएका मात्रै छैनन्, तिनले जीवनै समाप्तसमेत गरेका छन् । पछिल्लो सात वर्षमा कोरियामा १ सय ४८ नेपालीको मृत्यु हुनु र ३७ जनाले आत्महत्या गर्नुका पछाडि यस्तै ठगी र अपराधको कारण लुकेको छ । रहरले कसैले देश छोड्दैन । गुणस्तरीय शिक्षा र रोजगारीको अभावले युवाहरूलाई बिदेसिन बाध्य छन् । यही बाध्यताको जगमा ठगहरूको व्यापार फस्टाएको हो । जब राज्यले आफ्ना युवालाई देशमै अवसर र भरोसा दिन सक्दैन, तब उनीहरू अन्धकारमा हाम फाल्न तयार हुन्छन् । जस्तो कोरियामा फालिरहेका छन् ।
त्यसो त विदेश भन्नासाथ आँखा चिम्लिएर कुदिहाल्ने प्रवृत्ति पनि कम्ता दोषी छैन । जाने देश कस्तो हो, त्यहाँ कस्ता विश्वविद्यालय छन् र तिनको स्तर के छ मात्रै होइन कि विद्यार्थी भएर जाँदा कमाइ गर्न पाइन्छ कि पाइन्न भन्ने बुझ्दै नबुझी जाने चलन छ । जसरी पनि विदेश भन्ने मनोभावना भएका युवालाई जो कोहीले प्रलोभनमा पारेर ठग्न सकिहाल्छ । चाँडै धेरै पैसा कमाइहाल्ने हतारो मानसिकताले जो गाँजेको छ ।
कोरिया गएर अलपत्र युवाका कारण देशको छविसमेत झन् कमजोर भएको छ । त्यसको अर्काे असर के पनि हुन सक्छ भने कोरियाले नेपालका नीति अब झन् कठोर नीति लिन सक्छ र सरकारी सम्झौताअनुसारको मजदुरीमा जानेहरूलाई पनि अप्ठेरो पर्न सक्छ । विद्यार्थी भिसामा कोरिया पठाउनेहरूमाथि शिक्षा मन्त्रालय र सम्बन्धित निकायले कडा अनुगमन गर्नुपर्छ । ठगी गर्नेलाई सामान्य कारबाही होइन, संगठित अपराधअन्तर्गत मुद्दा चलाएर कडा दण्ड दिनुपर्छ । सरकारले विद्यार्थीलाई सही सूचना दिने आधिकारिक संयन्त्र बनाउनुपर्छ ।
विदेशस्थित नेपाली दूतावासहरूमार्फत विभिन्न देशका विश्वविद्यालयको गुणस्तर र कानुनी प्रावधानबारे अध्यावधिक जानकारी उपलब्ध गराउन सकिन्छ । सँगसँगै विद्यार्थी र अभिभावक स्वयं पनि सचेत हुनुपर्छ । विदेश जानुअघि सम्बन्धित देशको भाषा, संस्कृति, कानुन र आफूले पढ्न चाहेको विषय तथा कलेजको आधिकारिकताबारे राम्रोसँग अनुसन्धान गर्नु अनिवार्य छ । कोरियामा छटपटाइरहेका नेपाली विद्यार्थीका सपनाहरू हाम्रो राष्ट्रिय अकर्मण्यताको सिकार बन्नु हुँदैन । सरकारले ठगहरूलाई कारबाहीको कठघरामा उभ्याउनुपर्छ । युवाहरू पनि विदेशको मृगतृष्णामा अन्धाधुन्ध दौडिनु हुँदैन ।