: उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा रहेको कमी कमजोरी हटाउन र समाजमा रहेको असन्तुष्टि मेटाउनका लागि भूमिका निर्वाह गर्न नेविसंघलाई सुझाव दिएका छन्। नेपाल विद्यार्थी संघ काठमाडौंका पूर्व जिल्ला अध्यक्ष सम्मान कार्यक्रम एवम् विद्यालय शिक्षा विधेयक सम्बन्धी सचेतना सभालाई सम्बोधन गर्दै उनले परिवर्तित समयअनुसार नेविसंघको भूमिका परिष्कृत हुनपर्नेमा उनले जोड दिए।
उनले नेविसंघका गतिविधि शिक्षा क्षेत्र, अभिभावक र विद्यार्थी सबैले रुचाउने ढंगले अगाडि बढाउन पनि नेविसंघ नेतृत्वलाई सुझाव दिए। ‘अहिलेको परिवर्तित समयमा नेविसंघले विद्यार्थीका मुद्दा राम्रोसँग पहिचान गरेर सम्बोधन गर्नतर्फ लाग्नुपर्छ। शिक्षामा कमी कमजोरी हटाउन र समाजमा रहेको असन्तुष्टि मेटाउन नेविसंघले काम गरोस् , उनले भने।
शिक्षा क्षेत्रलाई राम्रोसँग अघि बढाउँदा समाज गतिशील हुने भन्दै शैक्षिक सुधारमा जोड दिए। नेविसंघ काठमाडौंका पूर्वअध्यक्ष समेत रहिसकेका सिंहले नविसंघको महाधिवेशन नजिकिएको भन्दै उपयुक्त व्यक्तिहरूलाई नेतृत्वमा ल्याउनका लागि अहिलेबाटै लाग्न पनि विद्यार्थीहरूलाई सुझाव दिए।
उनले संसदमा शिक्षा विधेयक प्रक्रियामा रहेको र यसले शिक्षामा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाली कांग्रेस शिक्षा विभागका प्रमुख नैनसिंह महरले नेविसंघले विगतमा खेलेको भूमिकाको चर्चा गर्दै नेविसंघलाई गतिशील बनाउनुपर्नेमा जोड दिए।