मुख्य समाचार
उत्तराखण्ड बाढी : बेपत्ता नभेटिएपछि फर्किन थाले आफन्त, भन्छन्, ‘भेटिने आश छैन, घर फर्केर किरिया गर्छौँ’
उत्तराखण्ड बाढी : बेपत्ता नभेटिएपछि फर्किन थाले आफन्त, भन्छन्, ‘भेटिने आश छैन, घर फर्केर किरिया गर्छौँ’

— भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रको धरालीमा दुई साताअघि आएको बाढीमा बेपत्ता भएका नेपालीहरूका आफन्त घर फर्किन थालेका छन् । दुई सातासम्म खोजी गर्दा पनि बेपत्ता भएकाहरू नभेटिएपछि आफन्त घर फर्किन थालेका हुन् । आफन्तहरू धरालीबाट एक दिन पैदल हिँडेरै उत्तरकाशीसम्म र त्यहाँबाट बसमा आउने तयारीसहित हिँडेका हुन् ।


‘दुई सातासम्म बगरमा डुल्दा–डुल्दा केही भेटिएन, अब भेटिने सम्भावना पनि छैन,’ जाजरकोटको कुशे गाउँपालिका–२ तालीगाउँका गणेशबहादुर सिंहले भने, ‘बगरमा न खाने ठेगान छ, न बस्ने नै, अब घर गएर किरिया गर्छौँ ।’ उनी धरालीमै काम गर्ने कान्छा भाइ सुरेन्द्र र ज्वाइँ नाता पर्ने भूपेन्द्र शाहीसँगै घर फर्किन थालेका हुन् ।


सिंहका दाइ कर्णबहादुर धरालीको बाढीमा परेर बेपत्ता भएका छन् । आमाको उपचारका लागि धराली पुगेका कर्णबहादुर बाढीमा परेर बेपत्ता भएका हुन् । उनले आमालाई पनि सँगै लगेका थिए । आमालाई उत्तरकाशी नजिकै मामाको डेरामा राखेर उपचार गराइरहेका कर्ण रोजगारीका लागि धराली गएका थिए ।

बुधबार बिहान हर्षिल क्षेत्रबाट पैदल हिँडेर दिउँसो उत्तरकाशी पुगेको उनले बताए । उनका अनुसार धराली बाढीमा बेपत्ता भएका रामबहादुर सिंह, निमबहादुर सिंह र रोबिन सिंहका आफन्त पनि घर फर्किन लागेका छन् । उनीहरू भने धरालीबाट ढिलो हिँडेका कारण अबेर साँझसम्म उत्तरकाशी पुगेर बिहीबार बिहान बस चढेको सिंहले बताए ।

धरालीको बाढीमा परेर २१ जना नेपाली बेपत्ता छन् । जसमध्ये सिंहको गाउँका मात्रै ५ जना बेपत्ता छन् । बेपत्ता भएकामध्ये मानबहादुरका आफन्त भने अहिले पनि धरालीमै रहेको र उनीहरू तत्काल नफर्किने जानकारी पाएको उनले बताए ।

‘अहिले खोजी कार्य पनि सुस्त भइसकेको छ, त्यहाँ भएका धेरै नेपालीहरू घर फर्किसकेका छन्,’ सिंहले भने, ‘अब बेपत्ता हुने त भइसके, जीवित भेटिने सम्भावना छैन, उनीहरूको किरिया पनि गर्नुपर्‍यो ।’ उनले दाइका छोराहरू सानै भएकाले आफैं किरिया गर्ने गरी घर फर्केका हुन् ।

‘अब यो बगरमा जति डुले पनि बेपत्ता भेटिने सम्भावना छैन,’ कैलाली टीकापुरका प्रकाश बुढाले भने, ‘हामी पनि हरिद्वार गएर किरिया गर्ने तयारीमा छौँ ।’ उनले किरियाका लागि घरबाट पनि आफन्त बोलाएका छन् । घरबाट बिहीबार बिहान हिँड्ने र आफु पनि बिहीबार नै हिँडेपछि शुक्रबारसम्म हरिद्वार पुग्ने योजना रहेको उनले बताए । त्यसपछि हरिद्वारमै किरिया गरेर घर फर्किने उनले बताए ।




बुढाका भाइ रमेश र बुहारी प्रिया बेपत्ता छन् । उनीहरू चार महिनाअघि रोजगारीका लागि धराली पुगेका थिए । रोजगारीका लागि उक्त क्षेत्रमा अधिकांश नेपालीहरू परिवारसहित जाने गरेका छन् । दुई साताअघि उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रमा ‘क्लाउड बर्स्ट’ पछि खीरगंगा नदीमा आएको भीषण बाढीले धराली बजार बगरमा परिणत भएको छ । बाढीले बगाएर ल्याएको गेग्रानले ३०/३५ फिटसम्म पटान गरेको छ । सोही बाढीमा परेर २१ जना नेपाली बेपत्ता रहेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । यद्यपि हालसम्म पनि बेपत्ता नेपालीको पूर्ण विवरण भने संकलन भइनसकेको दूतावासले जनाएको छ ।

उत्तराखण्डको राज्य आपतकालीन परिचालन केन्द्रका अनुसार उक्त बाढीमा परेर ६८ जना बेपत्ता भएका छन् । उक्त क्षेत्रबाट १३ सय बढीलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । अहिले पनि खोज र उद्धारका काम चलिरहेको केन्द्रले जनाएको छ ।

गंगोत्री मार्गमा पर्ने धराली बजारमा बाढी आउनुभन्दा अगाडि निकै चहलपहल हुन्थ्यो । यहाँ होटलमा काम गर्नेदेखि स्याउ टिप्ने र विभिन्न किसिमका विकास निर्माण क्षेत्रमा काम गर्नका लागि नेपालीहरू धराली पुग्ने गरेका हुन् । कतिपयले जमिन भाडामा लिएर तरकारी खेती समेत गरिरहेका छन् ।

अहिले पनि चार/पाँच परिवार जमिन भाडामा लिएर खेती गरिरहेका छन् । धरालीमा भीषण बाढी आएपछि गंगोत्री यात्रा पनि बन्द गरिएको छ । गंगोत्री यात्रा वैशाख/जेठदेखि असोज/कार्तिकसम्म चल्ने गर्छ । हर्षिल क्षेत्रमा बाढी र पहिराले सडक भत्काएपछि यात्रा अवरुद्ध भएको हो ।

धराली र गंगोत्रीमा मजदुरीका लागि गएका नेपालीहरू बेरोजगार भएपछि घर फर्किसकेका छन् । बेपत्ताका आफन्तहरू भने हालसम्म खोजीमै लागेपछि अब भने भेटिने आस मारेर घर फर्किन लागेका हुन् ।

‘यहाँ भएका सबै नेपाली घर फर्किसकेका छन्, जसले जमिन भाडामा लिएर तरकारी खेती गरेका छन्, उनी मात्रै बाँकी छन्,’ कैलाली टीकापुरका बुढाले भने, ‘बेपत्ता भएकाहरूका आफन्त हालसम्म भेटिने आसमा बसेका थिए, अब उनीहरू पनि फर्किन लागेका छन् ।’ उनका अनुसार बेपत्ताका केही आफन्त बुधबार फर्केका थिए भने बाँकी बिहीबार फर्किरहेका छन् । बाढीमा परेर अलपत्र परेका उनीहरू खर्च अभावका कारण पनि समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इराक नयाँ श्रमिक पठाउन श्रम स्वीकृति नदिइएको जनाएको छ । श्रमले इराकमै काम गरिरहेका नेपालीलाई आवासीय परिचय पत्र (रेसिडेन्सी कार्ड) भएकालाई पुनः नेपालमा आई आफनो रोजगारीलाई निरन्तरता दिन चाहनेलाई श्रम स्वीकृति दिने जनाएको छ । ‘इराकमा श्रम स्वीकृति प्रदान गर्नेसम्बन्धी निर्णय सरकारले इराकमा संस्थागत एंव व्यक्तिगत रूपमा नयाँ श्रमिकलाई ...
। लन्डनमा होमलेस बनेका एक नेपाली विद्यार्थीलाई उद्धार गरेर नेपाल पठाइएको छ । गत नोभेम्बर २५, २०२४ मा युनिभर्सिटी अफ सन्डरल्याण्डमा बीए अनर्स पढ्न आएका पनौती काभ्रेपलान्चोकका २१ वर्षीय आदर्श थापालाई एनआरएनए यूकेको सहयोगमा नेपाल पठाइएको हो । युनिभर्सिटीले फि नतिरेको भन्दै होम अफिस (गृह मन्त्रालय) लाई अवगत गराएर उनको भिजा रद्द भएपछि पार्टटाइम कामसमेत गुमेपछि उनी ...
। इराकमा लामो समयदेखि कार्यरत ३० हजार हाराहारी नेपालीले श्रम स्वीकृति पाउने भएका छन् । सरकारले वैदेशिक रोजगारीका लागि इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने निर्णय गरेको थियो । योसँगै लामो समयदेखि इराकमा कार्यरत रहे पनि नेपालको अभिलेखीकरणमा समावेश नभएका उनीहरूलाई अभिलेखीकरणमा ल्याएर श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले जानकारी ...
— कतारमा तीन नेपाली नागरिकले आजीवन कैद सजाय भोगिरहेका छन्। उनीहरूलाई ‘अन्तर्राष्ट्रिय हत्या’मा संलग्न भएको ठहर गर्दै कतारको अदालतले आजीवन कैद सजाय सुनाएको हो। एकभन्दा बढी देशसँग जोडिएको घटनालाई कतारले अन्तर्राष्ट्रिय हत्याको रूपमा लिने गरेको छ। कतारी निकायबाट प्राप्त विवरणअनुसार नेपाली नागरिक कार्की, श्रेष्ठ र उरुवालाई आजीवन कैद सजाय सुनाइएको हो। कार्की र श्रेष्ठ भने ५ ...
: साउदीस्थित नेपाली दूतावासले आफ्ना नागरिकहरूलाई हुण्डी कारोबारमा संलग्न नहुन आग्रह गरेको छ। दूतावासले विज्ञप्ति जारी गरेर 'नेपालको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि विदेशमा रही अनौपचारिक रुपमा विप्रेषणको काम कारोबार 'हुण्डी' गरेको वा सङ्कलित रकम नेपाल नपठाएको' गोप्य सूचना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय वा सम्बन्धित निकायमा विद्युतीय माध्यममार्फत पठाउनुपर्ने नीतिगत व्यवस्था ...