— झुण्डिएको अवस्थामा तीन दिनअघि मृत फेला परेकी बालिकाको हत्या भएको आशंकामा छानबिनको माग गरिएको छ ।
साउन २९ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रामकुमार हिङमाङको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी १२ वर्षीया तारा अछामीको बलात्कारपछि हत्या गरिएको आशंकामा छानबिन गर्नुपर्ने माग राख्दै आफन्तले प्रहरीमा जाहेरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार मृतकका बुवा टेकबहादुर सार्कीले जाहेरी दिएपछि भदौ १ गते पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमपछि अत्येष्टिका लागि बालिकाको शव अर्खौले लगिएको छ ।
आफन्तले जाहेरी नदिँदा पोस्टमार्टम गर्न ढिलाई भएको डीएसपी विष्टले बताएका छन् । उनका अनुसार ज्यानसम्बन्धी कसुरमा जाहेरी परेको हो । तर जाहेरीमा कसैको विरुद्ध नाम उल्लेख गरिएको छैन । ‘छानबिनको माग गर्दै जाहेरी परेपछि पोस्टमार्टम गरिएको छ,’ उनले भने, ‘आफन्तले जाहेरी नदिँदा पोस्टमार्टम हुन सकेको थिएन ।’
तारा बाम्राङस्थित सावित्रा माविमा कक्षा ४ मा अध्ययनरत थिइन् । उनी एक महिनादेखि हिङ्माङ्को घरमा बस्दै आएकी थिइन् । उनकी आमा सरिता सार्की एक भाइ छोरासहित हिङ्माङ्को घरमुनि डेरा लिएर बस्दै आएकी थिइन् ।
आफ्नै घरमा घटना भएकाले तथ्यसत्य छानबिन गरी घटनामा कोही दोषी ठहरिए कारबाही हुनुपर्ने राम हिङ्माङले बताएका छन् ।