— नेपाल–चीनबीचको हिमाली सीमानामा आपसी सहयोग र विश्वास सुदृढ पार्ने उद्देश्यले संयुक्त टोलीले सीमा क्षेत्रको निरीक्षण गरेको छ ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ स्थित किमाथांका नाकामा नेपाल र चीनका सुरक्षा निकायका प्रतिनिधिहरूले सीमा स्तम्भहरूको संयुक्त अवलोकन तथा सरसफाइ गरेका हुन्।
सशस्त्र प्रहरी बल नम्बर ४ अरुण गुल्म, चैनपुरअन्तर्गत पर्ने किमाथांका सीमा सुरक्षा पोष्ट (बिओपी)का इन्चार्ज नविन खतिवडाको नेतृत्वमा सात जना सशस्त्र प्रहरी र चार जना नेपाल प्रहरी निरीक्षण टोलीमा सहभागी थिए ।
सो टोलीसँगै चीनतर्फबाट आठ जना प्रहरी अधिकारी पनि संलग्न थिए । संयुक्त टोलीले सीमाक्षेत्रका जङ्गे पिल्लर ६६, ६७, ६८/२, ६९/१ र ६९/२ नम्बर स्तम्भहरूको निरीक्षण मात्र गरेन, वरपरको क्षेत्रमा सरसफाइ अभियान पनि सञ्चालन गरेको थियो ।
अरुण गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक बाबुराम पौडेलका अनुसार हाल सङ्खुवासभाको उत्तरी भूभागमा नेपाल–चीन सीमाअन्तर्गत २१ वटा स्तम्भ रहेका छन् । तीमध्ये कतिपय स्तम्भहरू भौगोलिक कठिनाइ र प्राकृतिक विपत्तिका कारण जोखिममा परेका छन् ।
गत जेठ महिनामा आएको भीषण वर्षातपछि भोटखोला गाउँपालिका–१ स्थित दोङ्गोप्पा र छोकाङ खोलामा आएको बाढीले ७१/१ नम्बरको स्तम्भ बगाएको थियो । यस किसिमका प्राकृतिक चुनौतीका कारण सीमा व्यवस्थापनमा थप ध्यान दिनुपर्ने पौडेलले बताए ।
नेपाल र चीनबीच सुदीर्घ कालदेखि सीमामा सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको छ । सीमाक्षेत्रमा हुने संयुक्त गतिविधि आपसी विश्वास, मित्रता र सुरक्षात्मक सहयोगलाई अझ मजबुत बनाउन सहयोगी हुने सुरक्षा निकायले विश्वास व्यक्त गरेका छन् ।
भोटखोला गाउँपालिकाको १, २ र ३ नम्बर वडाको भूभाग प्रत्यक्ष चीनसँग जोडिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए । करिब पाँच हजार मानिस बसोबास गर्ने यस क्षेत्रमा अधिकांश बासिन्दा हिमाली भेगमा जीवन यापन गर्ने समुदायका छन् ।
सीमापार व्यापार, वस्तु विनिमय, पशुपालन र कृषि यहाँका मुख्य जीविकोपार्जनका माध्यम हुन् । तर, प्राकृतिक विपत्ति, दुर्गम भूगोल र पूर्वाधार अभावका कारण उनीहरूको दैनिकी अझै कठिन रहेको उनले बताए ।
२०७६ सालमा स्थापना भएको किमाथांका बिओपीले त्यस क्षेत्रका स्थानीय बासिन्दाको सुरक्षासँगै सीमाको निगरानीमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । बिओपी स्थापना भएपछि तस्करी नियन्त्रण, अवैध गतिविधिमा रोकथाम र आपतकालीन उद्धार कार्यमा सहजता भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताए ।
निरीक्षण टोलीले सीमास्तम्भ वरपरका क्षेत्र सफा गर्नु र स्तम्भहरूको अवस्थाबारे तथ्याङ्क संकलन गर्नु यसपटकको मुख्य उद्देश्य रहेको थियो । कतिपय स्तम्भहरू वर्षौंदेखि प्राकृतिक कारणले क्षति पुगेका छन् भने कतिपय भौगोलिक विकटता र दुर्गम मार्गका कारण निगरानीमै कठिनाइ हुने गरेको छ ।
सुरक्षा निकायका अनुसार चीनसँग प्रत्यक्ष जोडिएको सीमाक्षेत्रमा समन्वय र सहयोग अझ मजबुत बनाउन यस्ता संयुक्त अवलोकनहरू आगामी दिनमा पनि निरन्तर हुनेछन् । यसले दुवै देशबीचको आपसी सम्बन्धलाई बलियो बनाउने अपेक्षा गरिएको अध्यक्ष भोटेले बताए ।
करिब पाँच हजार जनसंख्या रहेको भोटखोला गाउँपालिकाका बासिन्दाले सीमाक्षेत्रमा शान्ति, सुरक्षा र सहज व्यापारिक गतिविधिको अपेक्षा गरेका छन् । यस किसिमको संयुक्त निरीक्षणले उनीहरूको सुरक्षामा थप विश्वास दिलाएको सुरक्षा निकायले जनाएको छ ।