मुख्य समाचार
गाजामा इजरायली हमला तीव्र : २ दिनमा झन्डै ६० को मृत्यु
गाजामा इजरायली हमला तीव्र : २ दिनमा झन्डै ६० को मृत्यु

— गाजाको नागरिक सुरक्षा विभागले आइतबार इजरायली हवाई आक्रमण र गोलीबारीमा कम्तीमा १८ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ । प्रवक्ता महमुद बासलका अनुसार, गाजा सिटीको एक अस्पताल परिसरमा ड्रोन आक्रमण हुँदा ७ जनाको ज्यान गएको हो । ती मृतकहरू हमासका सदस्य रहेको जनाइएको छ, जो खाद्यान्न वितरण र सुरक्षाको जिम्मेवारीमा रहेका थिए ।


दक्षिण गाजाको खान युनिस क्षेत्रमा विस्थापितहरू बसोबास गरिरहेको एउटा टेन्टमा आक्रमण हुँदा थप ४ जनाको ज्यान गएको छ । त्यस्तै, सहायता वितरण केन्द्र नजिकै इजरायली सेनाको गोली लागेर दक्षिण गाजामा ६ जनाको मृत्यु भएको प्रवक्ता बासलले बताएका छन् । मध्य गाजामा पनि एक व्यक्ति सहायता लिन गएका बेला मारिएका छन् ।

इजरायली सेनाले हाल गाजा सिटीको जैतुन क्षेत्रमा ठूलो सैन्य कारबाही गरिरहेको छ । एक सातादेखिको यो कारबाहीले ठूलो जनधनको क्षति गराएको बताइए पनि उद्धार टोलीहरू निरन्तर आक्रमण र साधनको अभावका कारण पीडितहरूसम्म पुग्न सकिरहेका छैनन् ।

संयुक्त राष्ट्रसंघ समर्थित विज्ञहरूले गाजामा गम्भीर खाद्य संकट र दुर्भिक्षको चेतावनी दिएका छन् । इजरायलले मानवीय सहयोगको आपूर्ति कडाइ गरेकाले समस्या झन् गहिरिँदै गएको हो । 
यसैबीच, इजरायली रक्षा मन्त्रालयले गाजा सिटीबाट नागरिकलाई सुरक्षित क्षेत्रतर्फ सार्न नयाँ तयारी थालिएको जनाएको छ । तर हमासले यसलाई गाजा सिटीमाथि कब्जा जमाउने योजना भन्दै त्यसको विरोध जनाएको छ ।

७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि हमला गर्दै १ हजार २ सय १९ इजरायलीलाई मार्नुका साथै केहीलाई बन्धक बनाएर लगेपछि इजरायलद्वारा गरिएको जवाफी कारबाहीमा हालसम्म ६१ हजार ८ सय ९७ भन्दा बढी प्यालेस्टिनी मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघले पनि यस तथ्यांकलाई विश्वसनीय मानेको छ ।

अघिल्लो दिन शनिबार पनि भएको इजरायली आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । यो घटनालाई इजरायली सेनाले गाजा सहर कब्जा गर्ने योजनाअघि गरिएको ठूलो आक्रमणको संकेतका रूपमा हेरिएको छ । 
 


२२ महिनादेखि चलिरहेको युद्धले गम्भीर मानवीय संकट निम्त्याइरहेका बेला इजरायलले गाजा सहर कब्जा गर्ने निर्णय एक साताअघि मात्र गरेको थियो । हमासले भने यस कदमलाई ‘गाजा सहर कब्जा गर्ने क्रूर योजनाको हिस्सा’ भन्दै कडा विरोध गरेको छ ।



गाजाका नागरिक सुरक्षा प्रवक्ता बासलका अनुसार गाजा सहरको जितुन क्षेत्र अत्यन्तै खराब अवस्थामा पुगेको छ । त्यहाँ करिब ५० हजार स्थानीय रहेका र तिनीहरूमध्ये धेरै जना खाना, पानी र अन्य आधारभूत आवश्यकताबाट वञ्चित भएको उनले बताए ।

हालैका दिनमा गाजा सहरका आवासीय क्षेत्रहरूमा निरन्तर हवाई आक्रमण भएको स्थानीयवासीले बताएका छन् । इजरायली सेनाले भने आफ्नो कारबाही अन्तर्राष्ट्रिय कानुनअनुसार भएको दाबी गर्दै नागरिक क्षति कम गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

एक स्थानीय बासिन्दा भन्छन्, ‘हामीलाई निद्राको अनुभव छैन । विस्फोट र बमबारी कहिल्यै रोकिन्न ।’ संयुक्त राष्ट्रसंघ समर्थित विज्ञहरूले इजरायलले मानवीय सहायतामा कटौती गरेकाले यस क्षेत्रमा ठूलो अनिकालको खतरा रहेको चेतावनी दिएका छन् । शनिबार मात्र गाजामा सहायता वितरण स्थल नजिकै सेनाले गोली चलाउँदा खाना लिन लाइनमा उभिएका १३ जना प्यालेस्टिनीको ज्यान गएको बताइएको छ ।

आइतबार नै इजरायली सेनाले यमनमा इरान समर्थित हुथीहरूलाई लक्ष्य बनाउँदै राजधानी साना नजिक पावर प्लान्टमाथि हमला गरेको छ । यस हमलालाई इजरायलले आफ्नो भूमिमा हुथीहरूद्वारा प्रक्षेपित मिसाइल र ड्रोनको जवाफ भनेर व्याख्या गरेको छ ।

युद्धविराम र बन्धक मुक्तिको माग गर्दै इजरायलमा प्रदर्शन

जेरुसलेम : गाजामा हमास लडाकुहरूले बन्धक बनाएर राखेकाहरूको रिहाइको मागसहित इजरायलमा आइतबार प्रदर्शनसँगै हडताल गरिएको छ । हडतालका कारण यातायात अवरुद्ध भएको थियो भने धेरै व्यवसाय तथा कार्यालयहरू बन्द भएका थिए ।

केही साताअघि लडाकुहरूले बन्धकहरूको भिडियो सार्वजनिक गरेको र इजरायलले नयाँ आक्रमणको संकेत दिएको दोहोरो परिस्थितिबीच इजरायलमा यसखाले प्रदर्शन दिनानुदिन तातिँदै गएको छ ।

प्रदर्शनकारीहरूले इजरायलको गाजा नियन्त्रण गर्न थालेको सैन्य कारबाहीले यसअघि नै हमासद्वारा बन्धक बनाइएका ५० जनाको जीवन थप जोखिममा पर्न सक्ने भन्दै चिन्ता जनाएका छन् । ती बन्धकहरूमध्ये करिब २० जना मात्र जीवित रहेको अनुमान गरिएको छ । जसमा नेपालबाट कृषि अध्ययनका लागि इजरायल गएका विपिन जोशी पनि रहेका छन् । यति बेला विपिनको रिहाइको माग गर्दै उनका बहिनी र आमा इजरायलमा छन् ।

‘हामी बन्धकहरूको शवमाथि युद्ध जित्न सक्दैनौं,’ भन्ने नारा लगाउँदै प्रदर्शनकारीले युद्धविराम सम्झौताको माग गरेका छन् । उक्त प्रदर्शन बन्धक तथा बेपत्ता परिवार फोरमद्वारा आयोजना गरिएको हो । गाजा पूर्ण नियन्त्रण गर्ने साताअघिको निर्णयबाट इजरायली सरकारविरुद्ध अन्तर्राष्ट्रिय दबाब चर्को रहे पनि प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भने कारबाहीबाट पछि हटेका छैनन् । यसबीच, अर्थमन्त्री बेजलेल स्मोट्रिचले हडताललाई ‘हानिकारक अभियान’ भन्दै आलोचना गरेका छन् । उनले यस्ता प्रदर्शनले उल्टै हमासलाई नै फाइदा पुर्‍याउने र इजरायललाई आफ्ना शत्रुहरूसमक्ष कमजोर बनाउने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...