मुख्य समाचार
अध्यागमनबाट यात्रु फिर्ता भए प्रहरीमार्फत अनुसन्धान
अध्यागमनबाट यात्रु फिर्ता भए प्रहरीमार्फत अनुसन्धान

— भिजिट भिसामा विभिन्न मुलुक जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुका कागजात शंकास्पद देखिए प्रस्थान अनुमति नदिई बिनाअनुसन्धान फिर्ता (अफलोड) गरिँदै आएकामा अब नेपाल प्रहरीमार्फत अनुसन्धान गरिने भएको छ ।


अध्यागमन विभाग र विमानस्थल अध्यागमन कार्यालयले त्यस्ता यात्रुमाथि अनुसन्धान गर्न विमानस्थलबाटै प्रहरीको जिम्मा लगाउने भएको हो ।

यस्तै गिरोहको योजनामा रकम बुझाएर भिजिट भिसाको आवरणमा गएका यात्रु अध्यागमन सुरक्षा जाँचपास गरेलगत्तै दोहोरो हवाई टिकटमध्ये फर्कने टिकट रद्द गर्ने गरेको तथ्य भेटिएपछि यसमा पनि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको छ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले आइतबार पत्रकार सम्मेलन गरी भिजिट भिसालाई व्यवस्थित, पारदर्शी र कानुनसम्मत बनाउन सुधारका थप प्रयास सुरु गरिएको र यसमध्ये अब ‘यात्रुको हुलिया हेरेर नभई वैध कागजात’ का आधारमा आवागमन अनुमति दिइने स्पष्ट पारे ।

अध्यागमनबाट हुने आवागमनलाई सुरक्षित, व्यवस्थित र कानुनसम्मत बनाउने विषयमा विभागले केही दिनअघि मात्रै विमानस्थल प्रहरी, मानव बेचबिखन अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, लागू औषध नियन्त्रण ब्युरोसहित विमानस्थलभित्र सक्रिय अरू निजी संघसंस्थाका प्रतिनिधिलाई पनि बोलाएर छलफल गरेको थियो ।

भिजिट भिसाको आवरणमा गिरोहले संगठित रूपमा असुली धन्दा चलाइरहेकाले त्यसलाई नियन्त्रण गर्न विभागले यात्रा, सुरक्षा, पर्यटन र वैदेशिक अध्ययन तथा रोजगारसँग सम्बन्धित मन्त्रालय तथा निकायहरूको समेत साथ खोजेको हो । गृह मन्त्रालय र अध्यागमनका कर्मचारीसँगको मिलेमतोमा भइरहेको असुली रोक्न र दोषीलाई कारबाही गर्न विभागले वैदेशिक रोजगारी र अध्ययनसँग सम्बन्धित संघसंस्था, बैंक तथा वित्तीय संस्था र सम्बद्ध सरकारी संयन्त्रमाथि नियमित अनुगमन तथा नियमन गर्न विभिन्न मन्त्रालय र राष्ट्र बैंकलाई शुक्रबार नै पत्र पठाएको छ ।

विभागका महानिर्देशक तिवारीले भिजिट भिसामार्फत भइरहेका वैदेशिक यात्रालाई व्यवस्थित र पारदर्शी बनाउन सरोकारवाला निकायहरूले पनि त्यत्तिकै रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले आवश्यक सहयोगका लागि पत्र पठाइएको बताए । ‘अध्यागमन प्रशासनलाई चुस्त, प्रभावकारी र व्यवस्थित बनाउन यसअघिका कतिपय प्रावधानलाई समयसापेक्ष बनाएका छौं र कतिपयमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर कडाइ पनि गरेका छौं,’ उनले भने, ‘यसअघि कागजात नमिलेका र शंकास्पद व्यक्तिको योजनाअनुसार कानुनविपरीत प्रस्थान गर्न लागेका यात्रुलाई विमानस्थलबाटै फिर्ता गर्दै आएका थियौं, अब फर्काउनुको कारण र यसमा थप अनुसन्धान गर्न प्रहरीको जिम्मा लगाइनेछ ।’

विगतमा भिजिट भिसाका प्रावधानलाई कठोर बनाइएकामा त्यसलाई व्यवस्थित र पारदर्शी बनाउँदै लैजाने नीति पनि विभागले लिएको हो । महानिर्देशक तिवारीका अनुसार भिजिट भिसामा जानेहरूले ६ महिनाको वैध राहदानी, गन्तव्य मुलुकको भिसा (अनअराइभल सुविधा भएका मुलुकका हकमा भिसा पनि नचाहिने), दुईतर्फी हवाई टिकट, गन्तव्य मुलुकमा होटल बुकिङ गरेको कागजात वा आफन्त वा साथीभाइ भएमा उनीहरूले राख्ने भनी पेस गरेका कागजात, कसैको निमन्त्रणामा गएको भए ‘स्पोन्सर लेटर’ र नभएमा कम्तीमा ५ सय अमेरिकी डलर बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण मात्र पेस गरे पुग्छ ।



यसअघि कतिपय यात्रुलाई ‘हैसियत’ जाँचेर अध्यागमनका कर्मचारीले विमानस्थलबाटै फिर्ता गर्ने गरेका थिए । अब व्यक्तिको आर्थिक वा अरू हैसियत हेरेर विमानस्थलमा कुनै पनि विभेद वा प्रश्न नगरिने महानिर्देशक तिवारीले बताए । त्यस्तै गन्तव्य मुलुकमा आफन्तले बसोबास व्यवस्थापन गर्ने विषयमा ‘तीन पुस्ता’ भित्रको भएको हुनुपर्ने मापदण्ड समेटिएकामा अब यसलाई हटाएर चिने–जानेका जोसुकैले पनि भ्रमणका क्रममा बसोबास व्यवस्थापन गर्न सक्ने र यसको पुस्ट्याइँ हुने विवरण भए पुग्ने व्यवस्था मिलाइएको छ ।

भिजिट भिसामा आउने–जाने टिकट हुनुपर्छ । तर, मिलेमतोमा यसरी आउजाउ टिकट व्यवस्थापन गरे पनि ‘सेटिङ’ मा जाने व्यक्ति अध्यागमनबाट जाँच गराएर प्रस्थान गरेलगत्तै आउने मितिको टिकट एयरलाइन्स र ट्राभल एजेन्सीले मिलेमतोमा रद्द गर्ने गरेको पनि भेटिएको छ । एयरलाइन्सले ‘सेटिङ’ मा मान्छे पठाउने प्रवृत्तिलाई रोक्न १ घण्टा अगावै बोर्डिङ पास दिएर अध्यागमन सुरक्षा जाँचमा पठाउनुपर्ने र यसो नगरिए त्यस्ता यात्रुको सुरक्षा जाँच नगरी फिर्ता गरिदिने तयारी भइरहेको महानिर्देशक तिवारीले बताए ।

त्यस्तै त्रिवि विमानस्थल अध्यागमन कार्यालयका प्रमुख नरहरि घिमिरेले केही वायु सेवा कम्पनीहरूले आवश्यकताभन्दा बढी सिट बुकिङ गरेर ‘होल्ड’ गर्ने र बोर्डिङ पास लिने बेलामा यात्रुहरूले सिट नपाएरसमेत फर्कने गरेको पाइएकाले यस्तो नगर्न सचेत गराइएको बताए । त्यस किसिमको अनियमितताको अनुसन्धान गर्न प्रहरीलाई जिम्मा दिइएको उनले जानकारी दिए ।

विभागले यात्रा गर्नेको राहदानीमा बैंक/वित्तीय संस्था र सटही केन्द्रबाट लगाइएका छापको नियमन गर्न राष्ट्र बैंकलाई पत्र पठाएको छ । भिजिट भिसामा गन्तव्य मुलुक प्रस्थान गर्नुअघि विमानस्थल अध्यागमनमा जाँचका क्रममा कतिपय यात्रुसँग छापमा उल्लेख गरेअनुसार विदेशी मुद्रा नरहेको भेटिएपछि विभागले यसमा निगरानी बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामाथि मानव तस्करीको आरोप प्रमाणित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनाैती दिएको छ । मप्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ बसेको कांग्रेससँगको बैठकमा उपसभामुख हटाउने प्रस्ताव गरेका थिए । रास्वपाले मानव तस्करीको मुद्दा उठाएर संसदमा विरोध गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले रास्वपामै मानव तस्कर भएको आरोप लगाएका थिए । बालुवाटार बैठकबारे ...
। नेकपा एमाले सचिव योगेश भट्टराईले सांसदहरुको हस्ताक्षर राजनीतिक दलहरुले दुरुपयोग नगर्ने स्पष्ट पारेका छन् । सिंहदरबारमा मंगलबार हस्ताक्षर गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बेला बेलामा दलले आफ्ना सांसदहरूको हस्ताक्षर लिनु कुनै नौलो कुरा नभएको बताए । ‘पार्टीको संसदीय दलमा बेलाबेला माननीयज्युहरुको हस्ताक्षर लिइराख्छौँ । आपतविपद्को काममा प्रयोग हुन्छ । दलले हस्ताक्षर दुरुपयोग गर्दैन,’ उनले भने, ‘यो ...
। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले उपसभामुखलाई पदबाट हटाउने तयारी थालेर सत्तारुढ दलले विपक्षीहरूलाई तर्साउने काम गरेको आरोप लगाएका छन् । विपक्षी दलहरूको बैठक सिंहदरबारमा बस्दैछ । त्यसअघि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘सत्तारुढ दलहरूले खासगरी एमाले कांग्रेसले बेमौसमी ढंगले जुन उपसभामुखमाथि अविश्वासको आचरणसम्बन्धी जुन प्रस्तावका लागि हस्ताक्षर सुरु गरेपछि ...
। संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउनेगरी सुरु भएको सत्तारुढ दलहरूको प्रयासको सशक्त विरोध गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको बैठकले यस्तो निष्कर्ष निकालेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । कांग्रेस–एमालेका सांसदहरूले आज बिहानैबाट उपसभामुख रानालाई हटाउनेगरी हस्ताक्षर अभियान चलाएको छ । उक्त अभियानको विरोध ...
। रातको १ बजेको थियो । अमेरिकामा रहेकी उपसभामुख इन्दिरा रानालाई तारन्तार फोन र म्यासेज आउन थाल्यो । ‘यता त हटाउने तयारी भइरहेको छ नि,’ निकटस्थहरूले उनलाई सुनाए । तीनै निकटस्थ र पार्टीका केही साथीहरूले खबर गरेपछि आफूलाई हटाउने तयारी सत्तारुढ दलहरूले थालेको खबर थाहा पाइन् । यता, नेपालमा भने दुई दलबीचका नेताहरू हस्ताक्षर संकलनमा जुटिसकेका थिए ...