: जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शक्ति आर्जन गर्न फरक–फरक रणनीतिहरू अपनाएका छन्। एक : पार्टीलाई बलियो बनाउने। दुई : संयुक्त लोकतान्त्रिक मोर्चामार्फत पहिचान, अधिकार र संविधान संशोधन मागलाई शसक्त बनाउने। तेस्रो सरकारले संसद्बाट भूमि विधेक पारित गरे त्यसैको जगमा फेरि ‘मधेस विद्रोह’ चर्काउने।
संयुक्त लोकतान्त्रिक मोर्चामै आबद्ध आधाभन्दा बढी दलहरू नयाँ मोर्चा गठनमा पनि हात बढाइरहेका छन्। यसले जसपा नेपालका अध्यक्ष यादवको रणनीति भत्काउने दाउमा छन्। मोर्चामा भएका दलहरू कहिले एउटै पार्टीमा त कहिले विद्रोह गरेर नयाँ पार्टी गठन गर्दै राजनीतिक यात्रामा अघि बढेको विगत छ।
उपेन्द्र यादवसँग रुष्ट भएकाहरूकै मोर्चामा बहुल्यता
मोर्चाभित्रकै एउटा शक्तिशाली दल हो उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल। वर्ष दिनअघि पार्टी फुटबाट उपेन्द्र यादव निकै कमजोर भएका थिए। पार्टीका नेता अशोक राईले विद्रोह गरेर जनता समाजवादी पार्टी(जसपा) गठन गरेका थिए। त्यसपछि यादवले तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)को नेतृत्वको सरकारबाट बाहिरिएका थिए। प्रचण्डले पार्टी फुटाएको अध्यक्ष यादवको दाबी थियो।
पार्टी फुटको घाउलाई बिर्सिन अध्यक्ष यादवलाई वर्ष दिन लाग्यो। उनी अहिले बिस्तारै तंग्रिँदै गएका छन्। पार्टी फुटको पीडाबाट उनी पहिलोपटक भने पीडित भएका होइनन्। गएको दुई दशकमा उनको नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल–जनता समाजवादी पार्टी नेपालसम्म आइपुग्दा थुप्रै पटक पार्टी फुटिसकेको छ। तर, पनि उनी पार्टी अध्यक्ष भने छोडेका छैनन््। यसैबाट चिढिएर न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई साथमा रहे, न त महन्थ ठाकुर बसे, न त राजेन्द्र महतोले साथ दिए।
यतिखेरि पार्टी फुटबाट लडेर धूलो टकटकाई उठेका उपेन्द्र यादवलाई घेराबन्दी गर्न खोजिँदै छ। आफ्नै पहलमा ६ महिनाअघि गठन भएको संयुक्त लोकतान्त्रिक मोर्चाभित्र अर्को नयाँ मोर्चा बियुँताउने खोल सुरु भएको छ। मोर्चाको एउटा घटक डा.सिके राउत नेतृत्वको जनमत पार्टी करिब करिब बाहिरिसकेका पार्टी प्रवक्ता शरद सिंह यादवले बताए। अर्को दलहरू भित्र–भित्र दाउ खोजिरहेका छन्।
गुमेको शक्ति फकाउने उपेन्द्र यादवको रणनीति
२०६३–०६४ को मधेस आन्दोलनको राततापमा नेपाली राजनीतिमा उदाएका विद्रोही स्वभावका उपेन्द्र यादव यतिखेरि गुमेका शक्ति आर्जन गर्न भगीरथ प्रयास गरिरहेका छन्। तर, उनलाई सजिलो भने छैन।
अध्यक्ष यादवले पार्टीको गविधिलाई सशक्त बनाउने देशव्यापी रूपमा आईटी सेल निर्माण गर्ने रणनीति अख्यिार गरेका छन्। यो प्रमुखको जिम्मेवारी महेश चौरसियालाई दिइएको छ। त्यसैगरी, पार्टी अध्यक्ष यादवले पार्टीका नेताहरू जिम्मेवारी बाँडफाँड गरेर पार्टीलाई बलियो बनाउन यतिखेर मैदानमा खटिएका छन्। सदस्यता नवीकरण, नयाँ सदस्यता प्रदान, कर्याकर्ता प्रशिक्षण, सबै तहको कमिटीको अधिवेशन गर्ने गरि अघि बढेको जसपा नेपालका महासचिव राम कुमार शर्माले बताएका छन्।
वडा, स्थानीय तह र जिल्ला अधिवेशनबाट शक्ति आर्जन गर्दै, पार्टीलाई फुटबाट बचाउँदै अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीको प्रदेश अधिवेशन गर्न लागेका छन्। आउँदो भदौ २६, २७ र २८ गते सातै प्रदेशमा प्रदेश अधिवेशनका लागि मिति तोकिएको महासचिव शर्माको भनाइ छ। उनका अनुसार कोशी, मधेस, लुम्बीनी र बागमती प्रदेशमा प्रदेश अघिवेशनका सघन तयारी भइरहेको छ। अन्य तीन प्रदेशका संगठनात्मक संरचना कमजोर रहेकोले तोकिएकै मितिमा प्रदेश अधिवेशन हुनेमा टुंगो छैन।
जसपा नेपाल देशको ७७ जिल्लामध्ये ४० जिल्लामा संगठनात्मक रूपमा बलियो छ। तर, अन्य ३७ जिल्लामा पार्टी संगठनात्मक संरचना कमजोर रहेको महासचिव शर्माको भनाइ छ। ती जिल्लाहरूमा संगठनलाई विस्तार गर्ने काम भइरहेको उनले बताए। संयुक्त लोकतान्त्रिक मोर्चामार्फत अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनका अधुरा रहेका पहिचान, अधिकार र संविधान संशोधनको मुद्दालाई पूरा गराउन संयुक्त लोकतान्त्रिक मोर्चा गठन गराएका थिए। त्यसमा पनि बिस्तारै फाटो आइरहेको छ।
उपेन्द्रको रणनीतिविरुद्ध अशोक, सिकेहरू...
अध्यक्ष यादवलाई कमजोर बनाउन उनलाई छोडेर गएका पूर्वसहकर्मी तथा जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई पनि कम्मर कसेर लागेका छन्। २०७८ मा जनता समाजवादी पार्टीबाट विद्रोह गरेका राजेन्द्र महतो र अशोक राईले बिहीबार कार्यएकता गरेका छन्। महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र राई नेतृत्वको जनता समाजवादी पार्टीले भविष्यमा पार्टी एकीकरण गर्ने उद्देश्यसहित पार्टी एकता गरेका राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले बताए।
संयुक्त लोकतान्त्रिक मोर्चाबाट बाहिरिएका सिके राउत नेतृत्वको जनमत पार्टी, महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र राई नेतृत्वको जनता समाजवादी पार्टी र प्रभु साह नेतृत्वको आमजनता पार्टीले अर्को नयाँ मोर्चा बनाउने तयारीमा रहेको यी पार्टीका नेताहरूले बताएका छन्। सिके राउत र उपेन्द्र यादवबीच राम्रो सम्बन्ध छैन। राई र महतो त उपेन्द्र यादवको नेतृत्वदेखि असन्तुष्ट भएर विद्रोह गरेर पार्टी गरेका नेताहरू नै भए। यसले गर्दा पनि मोर्चाबाट शक्ति आर्जन गर्ने उपेन्द्र यादवको रणनीति फेल खाने उत्तिकै सम्भावना रहेको मोर्चाको नेताहरू बताउँछन्।
यता मोर्चा आबद्ध नेताहरूले अर्को मोर्चा गठन गर्ने तत्काल कुनै सम्भावना नरहेको दाबी गर्छन््। जनमत पार्टीका प्रबक्ता शरत सिंह यादवले संयुक्त लोकतान्त्रिक मोर्चाबाट करिब करिब बाहिरिए पनि नयाँ मोर्चा बनाउनेतर्फ कुनै छलफल नभएको बताए। उनले भने, ‘नयाँ मोर्चा बनाउनेबारे पार्टीभित्र कुनै छलफल भएको मलाई थाहा छैन। अध्यक्षजी देशबाहिर हुनुहुन्छ। उहाँ आएपछि पार्टीको नयाँ गतिविधिबारे छलफल गछौं। ’
यता राष्ट्रिय मुक्ति पार्टीका महासचिव झाले तत्काल संयुक्त लोकतान्त्रिक मोर्चाबाहेक अरू मोर्चा बनाउन कुनै तयारी नरहेको सुनाए। आम जनता पार्टीका प्रवक्ता चन्द्रभुषण साहले आफ्नो पार्टी तत्काल कुनै मोर्चा, कार्यगत एकताको पक्षमा रहेको दाबी गरे। उनले भने, ‘हामी दल तन्त्रको विरुद्धमा छौं। ’
समान विचार, एजेन्डा र सिद्धान्त भएका साना पार्टीहरू लामो समय पछि एउटै मोर्चामा आबद्ध भएपछि ठूलो राजनीतिक दल कांग्रेस, एमाले र माओवादी झस्किएका थिए। मोर्चालाई फुटाउन ठूलो दलहरूले नयाँ कार्ड प्रयोग गरेको राजनीति वृत्तमा चर्चा छ। विगतलाई फर्केर हेर्दा पहिचान, अधिकारको एजेन्डा बोक्ने मधेसवादी दलहरूलाई मन्त्री पदको प्रलोभनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चादेखि पार्टी नै फुटाएका तमाम उदाहरणहरू छन्।