— गएराति कृष्ण जन्माष्टमीको लाखे जात्राका क्रममा मान्म बजारमा होहल्ला र आपसमा झगडा गरेको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ ।
शनिबार बेलुकीदेखि राति १ बजेसम्म बजारमा झगडा गर्दै होहल्ला गरेको आरोपमा १६ देखि २४ वर्ष उमेर समूहका युवालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको प्रहरीले जनाएको छ । 'बजारमा झगडा गर्ने, आपसमा कुटाकुट गर्नेलाई नियन्त्रणमा लिइएको हो,' कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले भने, 'सबैलाई सम्झाइबुझाइ गरेर अभिभावकको जिम्मा लगाउँछौं ।' उनले मेला पर्व र चाडबाडका बेला होहल्ला र झैझगडा बढी हुने भएकाले प्रहरीले सतर्कता अपनाएको बताए ।