: आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले दुई नयाँ एन्टिबायोटिक विकास गरेको छ। यसले एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास गरेका गोनोरिया र एमआरएसए सुपरबगहरूलाई मार्न सक्ने छ।
अनुसन्धानकर्ताहरूका अनुसार यी औषधि एआईद्वारा डिजाइन गरिएका हुन्। प्रयोगशाला र जनावरमा गरिएका परीक्षणमा यी सुपरबगलाई मार्न सफल भएका छन्।
यी दुवै यौगिक धेरै वर्षसम्म परिष्कृत गरिने र निरन्तर परीक्षण गरिनेछन्। त्यसपछि मात्र यीनीहरूलाई प्रिस्क्रिप्शनको रूपमा अर्थात् आम मानिसले प्रयोग गर्न सक्ने जनाइएको छ।
तर यसको पछाडि रहेको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)को टोलीले एआईले एन्टिबायोटिक खोजमा दोस्रो स्वर्ण युग सुरु गर्न सक्ने बताएको छ।
प्रतिरोधात्मक क्षमता विकास भएका संक्रमणको उपचार
एन्टिबायोटिकले ब्याक्टेरियालाई मार्छ। तर अहिले एन्टिबायोटिक प्रतिरोधात्मक क्षमता विकास गरेका संक्रमण (ब्याक्टेरिया)का कारण प्रत्येक वर्ष दस लाखभन्दा बढी मानिस मरिरहेका छन्।
एन्टिबायोटिकको अत्यधिक प्रयोगले ब्याक्टेरियालाई औषधिको प्रभावबाट बच्न आफूलाई परिवर्तन गर्न मद्दत गरेको विज्ञहरू विश्वास गर्छन्।
विगत केही दशकदेखि नयाँ एन्टिबायोटिकको अभाव छ।
यसअघि अनुसन्धानकर्ताहरूले नयाँ एन्टिबायोटिक बन्न सक्ने सम्भावना भएका रासायनिक यौगिकहरू फेला पार्न हजारौं उपलब्ध रसायनहरूको खोजी गर्न एआई प्रयोग गरेका छन्।
अब एमआईटी टोलीले यस दिशामा एक कदम अगाडि बढाएको छ र एन्टिबायोटिक डिजाइन गर्न जेनेरेटिभ एआई प्रयोग गरेको छ।
यी एन्टिबायोटिकहरू सुरुमा यौन संचारित रोग गोनोरिया र सम्भावित रूपमा जीवनलाई खतरामा पार्ने मेथिसिलिन–प्रतिरोधी स्टेफिलोकोकस ऑरियस वा एमआरएसएका लागि विकसित गरिएको थियो।
अनुसन्धानकर्ताहरूको अध्ययन ʻसेलʼ नामक जर्नलमा प्रकाशित भएको छ। यस अनुसन्धानमा ३.६ करोड यौगिकहरूको जाँच गरिएको थियो। यसमा धेरै त्यस्ता यौगिकहरू समावेश थिए जुन या त अहिलेसम्म अवस्थित छैनन् वा पत्ता लागेका छैनन्।
null
प्रयोगशाला र मुसामा परीक्षण सफल
एआईलाई तालिम दिन वैज्ञानिकहरूले यसलाई रासायनिक संरचना र हाल उपलब्ध यौगिकको सम्बन्धित डेटा खुवाए। यौगिकहरूले विभिन्न प्रजातिका ब्याक्टेरियाको वृद्धिलाई सुस्त बनाउँछन्।
त्यसपछि एआईले कार्बन, अक्सिजन, हाइड्रोजन र नाइट्रोजन जस्ता परमाणुहरू मिलेर बनेका विभिन्न आणविक संरचनाले ब्याक्टेरियामा कस्तो प्रभाव पार्छ भनेर हेरे।
यसपछि एआईको साथ नयाँ एन्टिबायोटिक डिजाइन गर्न दुई तरिकाहरू अपनाइयो। पहिलो विधिमा एन्टिबायोटिक डिजाइनका लागि सुरुवात बिन्दु निर्धारण गर्न आठदेखि १९ परमाणु सम्मका लाखौं रासायनिक टुक्राहरूको पुस्तकालय खोजियो र त्यहाँबाट डिजाइनलाई थप विकसित गरियो।
दोस्रो दृष्टिकोणमा एआईलाई सुरुदेखि नै पूर्ण स्वतन्त्रता दिइएको थियो।
यस डिजाइन प्रक्रियाले अवस्थित एन्टिबायोटिकहरूसँग धेरै मिल्दोजुल्दो यौगिकलाई बहिष्कृत गरेको हो।
यसले एआईले अरू केही नभइ औषधि बनाइरहेको पनि सुनिश्चित गरेको छ। त्यसैले मानिसहरूलाई विषाक्त हुन सक्ने यौगिक पनि हटाइयो।
वैज्ञानिकहरूले गोनोरिया र एमआरएसएका लागि एन्टिबायोटिक सिर्जना गर्न एआई प्रयोग गरे। यी दुवै प्रकारका ब्याक्टेरिया हुन्। जुन सामान्यतया छालामा हुन्छन्।
यद्यपि यीनीहरूले कुनै हानि गर्दैनन्। तर यदि यीनीहरू शरीरभित्र पुगे भने यीनीहरूले गम्भीर संक्रमण निम्त्याउन सक्छन्।
औषधि बनाइसकेपछि प्रयोगशालामा ब्याक्टेरिया र संक्रमित मुसामा सबैभन्दा उपयुक्त डिजाइनहरूको परीक्षण गरियो। पछि यसबाट दुई नयाँ सम्भावित एन्टिबायोटिकहरू तयार पारिए।
मानिसमा परीक्षणका लागि कुर्नुपर्ने
null
ʻहामी यसबारे उत्साहित छौं किनभने हामी जेनेरेटिभ एआई प्रयोग गरेर पूर्ण रूपमा नयाँ एन्टिबायोटिकहरू डिजाइन गर्न सकिन्छ भनेर देखाइरहेका छौं,ʼ एमआईटीका प्राध्यापक जेम्स कोलिन्सले बीबीसीलाई भने।
एआईले सस्तो र छिटो अणुहरू पत्ता लगाउन मद्दत गर्न सक्ने जनाइएको छ। यसले गर्दा हाम्रो औषधिको भण्डार बढ्छ। यसले हामीलाई सुपरबग जीनविरुद्धको लडाईमा एक धार दिन सक्ने छ।
यद्यपि, यी औषधि अझै सामान्य परीक्षणका लागि तयार छैनन्। पहिले यीनीहरूलाई थप परिष्कृत गरिनेछ। यसमा दुई वर्ष लाग्न सक्छ। यसपछि मात्र मानिसहरूमा यीनीहरूको परीक्षणको लामो प्रक्रिया सुरु गर्न सकिन्छ।
फ्लेमिङ इनिसिएटिभ र इम्पेरियल कलेज लन्डनका डा. एन्ड्रयु एडवर्ड्सले यो काम विशेष र ठूलो सम्भावना रहेको बताए। यसले नयाँ एन्टिबायोटिक पत्ता लगाउने नयाँ तरिका प्रदान गर्छ।
यद्यपि, उनले थपे, ʻएआईले औषधि खोज र विकासमा ठूलो सुधार गर्न सक्छ। तर सुरक्षित र प्रभावकारी परीक्षण सुनिश्चित गर्न हामीले अझै पनि कडा परिश्रम गर्न आवश्यक छ।ʼ
यो लामो र महँगो प्रक्रिया हुने र औषधिहरू अन्ततः बिरामीलाई उपलब्ध हुनेछन् भन्ने कुनै ग्यारेन्टी छैन।
आर्थिक चुनौती
null
केही विज्ञहरूले एआईको सहयोगमा औषधि खोजमा व्यापक सुधारका लागि आह्वान गरिरहेका छन्।
ʻहामीलाई प्रयोगशालामा औषधिहरूले कति राम्रोसँग काम गर्छन् भन्ने कुराभन्दा बाहिर र शरीरमा यसको प्रभावको राम्रोसँग भविष्यवाणी गर्न सक्ने मोडेलहरू पनि चाहिन्छ,ʼ प्रोफेसर कोलिन्स भन्छन्।
एआई–डिजाइन गरिएका औषधिहरू निर्माणमा पनि चुनौती छन्। गोनोरियाका लागि सैद्धान्तिक रूपमा डिजाइन गरिएका ८० सबैभन्दा आशाजनक उपचारहरू मध्ये केवल दुईलाई औषधिमा विकास गरिएको छ।
वारविक विश्वविद्यालयका प्रोफेसर क्रिस डसनले यो अध्ययनलाई ʻउत्कृष्टʼ भनेर वर्णन गरे। एन्टिबायोटिक खोजका लागि एआईलाई उपकरणको रूपमा अगाडि बढाउने दिशामा यो एक प्रमुख कदम भएको उनले बताए।
उनले यो औषधि प्रतिरोध विकासको जोखिम कम गर्न महत्वपूर्ण कदम भएको बताए।
यद्यपि उनले औषधि प्रतिरोधी संक्रमणले आर्थिक समस्या पनि खडा गर्ने बताए। उनले भने,ʻतपाईं कसरी औषधिहरू बनाउनुहुन्छ जसको कुनै व्यावसायिक मूल्य छैन ?ʼ
यदि नयाँ एन्टिबायोटिक बनाइयो भने सबैभन्दा राम्रो कुरा यसलाई जति कम प्रयोग गरिन्छ त्यति नै प्रभावकारी रहने बताइएको छ।
कम प्रयोग भनेको कम बिक्री हो। यसले गर्दा जो कोहीलाई पनि नाफा कमाउन गाह्रो हुन्छ।