: नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशन समयमै सम्पन्न गर्न नेतृत्वलाई दबाब दिनुपर्ने बताएका छन्।
कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसको महाधिवेशन समयमै हुन नसके पार्टी कमजोर हुने र पार्टी कमजोर भए लोकतन्त्र नै कमजोर हुने बताएका हुन्।
नेता कोइराला समयमै आगामी महाधिवेशन आयोजना गर्न पार्टी सभापति शेर बहादुर देउवालाई दबाब दिनुपर्ने बताए। २०८४ पछि मात्रै पार्टीको महाधिवेशन गर्ने कुरा सुनिन थालेको भन्दै उनले त्यस्तो भए कांग्रेसको भविष्यमाथि नै प्रश्न उठ्न सक्ने जिकिर गरे।
नेता कोइरालाले कांग्रेसभित्रको गुटका कारण अनुशासन समिति पनि गुटमा विभाजन हुन पुगेको बताए। पार्टीमा देखिएको बेतिथि अन्त्यका साथै एकढिक्का बनाएर अघि बढाउन पनि १५ औँ महाधिवेशन समयमै हुन जरुरी रहेको उनको भनाइ छ।
त्यस्तै नेता कोइरालाले ठुला दल मिलेर सरकार बनेपनि भ्रष्टाचार, दण्डहीनता बढ्दै गएको टिप्पणी गरे।