: प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा गर्न भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आइपुगेका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल आएका हुन्। विदेश सचिव भएपछि उनी दोस्रो पटक नेपाल आएका हुन्।
nullस्रोतका अनुसार नेपाल बसाईका क्रममा विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नेछन्। भेटमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र ओलीलाई हस्तान्तरण गर्नेछन्।
त्यसपश्चात उनले शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने स्रोतले जनाएको छ। राष्ट्रपतिसँग भेटवार्तापश्चात पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग बुढानिलकण्ठ र पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग खुमलटारमा पुगेर छुट्टाछुट्टै छलफल गर्नेछन्।
त्यसैगरी परराष्ट्र मन्त्रालयका सचिव राई र मिश्रबीच द्विपक्षीय बैठक बसेर प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा एजेन्डा तय गरिने छ। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भ्रमणको क्रममा दुई परराष्ट्र सचिवहरूले नेपाल-भारत साझेदारीका विभिन्न पक्षहरूमा छलफल गर्नेछन्, जसमा कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका अन्य विषयमा केन्द्रित हुनेछन्।’
मिश्रीसँगको संवादपश्चात प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउस वा बोधगया वा अन्य स्थानमा द्विपक्षीय वार्ता हुने टुंगो लाग्ने छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि आजै छलफल गर्ने कार्यतालिका छ। मिश्रीको सम्मानमा परराष्ट्र मन्त्रालयका सचिवले रात्री भोजको आयोजना गरेका छन्। मिश्रीले सोमबार बिहान पशुपतिनाथको मन्दिरमा दर्शन गर्ने बताइएको छ।
मिश्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, परराष्ट्र मन्त्रालयलका सहसचिव गेहेन्द्र राजभण्डारी लगायतले स्वागत गरेका थिए। उनी भोलि स्वदेश फर्कने कार्यतालिका रहेको छ।