: रौतहटको देवाही गोनाही नगरपालिका-९ धरहरीस्थित श्रीराम जानकी ब्रह्माबाबा मठमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेला उद्घाटन गर्ने विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा मेयरसहित तीनजना घाइते भएका छन्।
मेलामा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह र स्थानीय रामविनोद साह पक्षबीच विवाद उत्पन्न भएपछि झडप भएको हो। मेयर साह उद्घाटन गर्न मठ परिसर पुगेपछि रामविनोद साह पक्षले विरोध गर्दै उद्घाटन हुन नदिने अडान लिँदा दुवै पक्षबीच भनाभन भएपछि हात हालाहालको अवस्था आएको प्रहरीले जनाएको छ।
झडप नियन्त्रण गर्ने क्रममा मेयर साहसँगै इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी जवान धनसुन्दर ठाकुर र जगदीश यादव घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले जानकारी दिए।
घाइतेहरुको गरुडा-४ स्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न भएको आरोपमा रामविनोद साह, उनका १६ वर्षीय छोरा ऋतिक साह र भाइ राधामोहन साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको एसपी गिरीले जानकारी दिए । झडपपछि केही समय मेला क्षेत्र तनावग्रस्त बनेको थियो। तर केही समयपछि भीडलाई नियन्त्रणमा लिई मेला सामान्य अवस्थामा ल्याइएको प्रहरीले जनाएको छ।