। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य मुलुकले जसरी गति समात्न नसक्दा नेपाल पछि परेको बताएका छन् । प्राकृतिक स्रोतले भरिपूर्ण भएपनि नवप्रवर्तनतर्फ उन्मुख नहुँदा मुलुक पछाडि परेको बताएका हुन् ।
गत सोमबार काठमाडौंको ठमेलस्थित होटेल अलफ्टमा अनलाइनखबरले आयोजना गरेको ४० मुनिका ४० युवाहरुको सूची सार्वजनिक तथा अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यक्तिव्यक्तिको आत्मविश्वास मिलाएर राष्ट्रिय आत्मविश्वास निर्माण गर्नुपर्ने बताए ।
‘यस्तो प्राकृतिक स्रोतहरूले भरिपूर्ण देश छ । इन्नोभेटर्स पुर्खाका सन्तान हामी । यो धर्ती त्यही धर्ती हो, जहाँ पहिलो ज्ञान निस्क्यो । त्यस्ता पुर्खाका सन्तान यही धर्तीमा हामी किन पछाडि परेका छौँ भने हामीले इन्नोभेटिव क्यारेक्टर छोड्यौं । हामी आत्मविश्वासका साथ अगाडि बढेनौं’, उनले भने ।
हरेक मानिसमा फरक क्षमता हुने भन्दै प्रधानमन्त्री ओलीले आत्मविश्वास र रुचि भएको क्षेत्रमा अघि बढ्न युवाहरुलाई आह्वान गरे ।
सूचीमा परेका युवा र सहभागीहरुलाई प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु क्षमतावान् हुनुहुन्छ । क्षमतावान् छु भनेपछि सबै कुरामा क्षमतावान भइँदैन फेरि । एउटा एउटा फिल्डमा क्षमतावान् हुने हो । त्यसै गरेर सिंगै राष्ट्र क्षमतायुक्त राष्ट्र हुन्छ । हरेक क्षेत्र अगाडि बढ्छ । खेती अगाडि बढ्छ, उद्योग अगाडि बढ्छ, व्यापार अगाडि बढ्छ, विज्ञान अगाडि बढ्छ र सबै क्षेत्रहरू अगाडि बढ्छन् ।’
देशभित्र र बाहिर उदाहरणीय काम गरेर अनलाइनखबरको ४० मुनिका ४० को सूचीमा परेका युवाहरुलाई उदाहरण दिँदै प्रधानमन्त्री ओलीले आत्मविश्वास र सक्रियताका साथ लागे सफलता हासिल हुने बताए ।
‘हामी निराश हुने होइन र निराशा फैलाउने पनि होइन । आफू पनि निराश हुने होइन । आत्मविश्वासका साथ सक्रियता बढायो भने सफल नभएर अरु के हुन्छ ? सफल हुन्छ, हुन्छ । यहाँ सम्मानित गरिएका ४० मुनिका ४० जना, कसरी सफल हुनुभयोे भन्दा त्यही आत्मविश्वाससहितको, सही बाटो लिनुभयो, आफ्नो विधाको सही बाटो लिनुभयो’, उनले भने ।
प्रस्तुत छ अनलाइनखबरको ‘४० मुनिका ४० ‘सूची सार्वजनिक समारोहमा सोमबार प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको सम्पादित अंश :
यस कार्यक्रमका आयोजक, ग्लोबल आईएमई बैंक, अनलाइन खबर र यसमा साथ दिने संस्थाहरू, जुरीका संयोजक अनिल सिन्हाज्यूलगायत जुरी मेम्बर्स, अतिथि, महानुभावहरू ।
आज सम्मानित हुने ४० मुनिका ४० युवाहरू र यस कार्यक्रममा यसलाई सफल पार्न, युवाहरूलाई प्रोत्साहित गर्न र युवाहरूलाई प्रोत्साहित गर्ने यस्ता कार्यक्रमका आयोजकहरूलाई पनि प्रोत्साहित गर्न यहाँ उपस्थित हुनुभएका सम्पूर्ण साथीहरू, दिदीबहिनी, दाजुभाइहरू ।
आज फोर्टी अन्डर फोर्टी आयोजना भएको छ । म सम्मानित हुनेहरूलाई फेरि एकपल्ट धेरै धेरै बधाई भन्न चाहन्छु । धेरै धेरै शुभकामना भन्न चाहन्छु । तपाईंहरुको भविष्य अझ ठुल्ठुला सफलताहरू प्राप्त गर्दै सफल हुन सकोस्, धेरै धेरै शुभकामना । तपाईंहरुले यो सम्मान प्राप्त गर्नु भएको छ, धेरै धेरै बधाई । हामी सबैको तर्फबाट उहारूलाई बधाई र शुभकामना धेरै धेरै !
यो छनोट सजिलो पक्कै थिएन । आजकल यति धेरै युवाहरू, यति नयाँ नयाँ सिर्जना, धेरै इनोभेटिव ढंगले काममा लाग्नु भएको छ । निराशाको बादल फैलाइएकोे बेला, त्यसलाई फाँडेर एउटा उत्साह र आत्मविश्वासका साथ अगाडि बढिरहनुभएको छ । देशभरि थुप्रै, हजारौ युवाहरू अझ त्योभन्दा पनि धेरै युवाहरू, लाखौँ युवाहरू । त्यस मध्ये चालीस छान्नु भनेको सजिलो कुरा होइन ।
जुरीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । कठिन काम, थुप्रो योग्यहरू मध्येबाट योग्य छान्नुपर्यो । थुप्रै युवाहरूलाई लागेको होला, म पनि पर्नुपर्ने भनेर । जम्मा ४० वटा कुर्सी भएपछि, ४१ अट्ने भएन । समस्या त्यत्ति हो । नत्र भने अरू सम्मानित हुन, पुरस्कृत हुन योग्य युवाहरू थुप्रै हुनुहुन्छ । यो जुरीले पनि महसुस गरायो । यसलाई दिउँ कि उल्लाई दिउँ भएको हो । तर जम्मा सङ्ख्या ४० ! यस्तो कठिन काम गरेकोमा जुरीका सबै साथीहरूलाई संयोजकज्यूलाई र सबैलाई धेरै धेरै धन्यवाद छ ।
आज सम्मानित गर्ने काम त एकैछिनमा सिद्ध्यिो, ४० जनाको । एक घण्टा लगभग लाग्यो होला । छिटै सिद्ध्यिो । एक घन्टामा स्वागत, सम्मान, मन्तव्य, आउने जाने बाटो म्याद, फोटो खिच्नु पर्यो, सम्मान ग्रहण गर्नु पर्यो । गर्दा पनि एक घन्टा लाग्यो । ४० जनाले एक घन्टाभित्र ।
तर त्यो ४० जनाले एक घन्टाभित्र प्राप्त गरेको सम्मान र अवार्ड कति मेहनतको फल होला ! कति मेहनतको फल ! कति लामो समयको धैर्य होला, कति लामो समयको आत्मविश्वास होला, कति लामो समयको प्रयास होला, सङ्घर्ष होला । उतारचढाव आए होलान् ।
तेन्जिङ नोर्गेले भनेजस्तै, ‘सगरमाथा चढ्न खोजेको, अलिक माथि पुग्यो, सकेन फेरि झर्यो । फेरि अलिक माथि पुग्यो, फेरि सकेन फेरि झर्यो । धेरै पल्टपछि बल्ल सक्यो अनि सगरमाथाको टुप्पोमा पुग्यो ।’ आज त्यस्तै भएको छ । कतिपल्ट झर्नु पनि भयो होला, फर्किनु पनि भयो होला । र आज देशका ४० जना युवाहरूभित्र परेर सम्मानित हुन सफल हुनुभएको छ, फेरि धेरै धेरै बधाई भन्न चाहन्छु ।
लामो मिहिनेत, लामो धीरता र यो तपाईंहरूको गर्न सकिन्छ भन्ने आत्मविश्वास, आफूप्रतिको सेल्फ कन्फिडेन्स, त्यसलाई म सलाम भन्न चाहन्छु । यु आर द मोडल्स् । तपाईंहरू समाजका विभिन्न क्षेत्रका नमुना र दृष्टान्तहरू हो ।
तपाईंहरुले नयाँ काम थालेर जसरी नयाँ हाइट प्राप्त गर्नुभएको छ वा आफ्नो क्षेत्रमा जसरी नयाँ उचाई प्राप्त गर्नुभएको छ । त्यसबाट अरूले पनि प्रेरणा लिन सकून् । आ-आफू भित्र आत्मविश्वास, म केही गर्न सक्छु भन्ने आत्मविश्वास जगाउन सकुन् । र, अर्को वर्ष पनि के गर्ने, अनलाइनखबरले ४० भन्दा बढीलाई सम्मान गर्छ जस्तो लाग्दैन । उही ४० मात्रै छान्नु पर्छ । तर, ४० मा अर्को एउटा शून्य थपेर छनोट गर्ने हो भने पनि पुग्दैन । अर्को शुन्ना थप्यो भने पनि पुग्दैन । अर्को शुन्ना थप्यो भने पनि पुग्दैन । अवस्था त्यो छ । त्यसकारण छनोट यस्तैबाट हुन्छ ।
म एक पटक एउटा कार्यक्रममा कम्बोडिया गएको थिएँ । त्यहाँ उहाँहरुले हाफ मेराथन राख्नुभएको रहेछ । को को भाग लिन्छ भनेँ म पनि भाग लिन्छु भनेँ । अनि म पनि भाग लिन गएँ । अघिल्लै लाइनमा मलाई राखेका थिए । तर म त्यति बेरसम्म दौडिरहेँ, जबसम्म म अन्तिमबाट फर्स्ट भइनँ । तर मैले धेरै कुद्नु परेन । एक किलोमिटर पनि कुद्नु परेन । आधा किलोमिटर जतिमा उताको फर्स्ट हुन धेरै बेर लाग्थ्यो । यत्ताको फर्स्ट छिटै टुंग्यो । तर मैले कोसिस त गरेको हो । म छिट्टै हारेँ । अरू पनि एक दुई जना बाहेक सबैले हारे त अन्तिममा !
हार्न गाह्रो मान्नु हुँदैन । हार्न गाह्रो मानियो भने खेलिँदैन । कोसिस त गरियो नि । हामी सबै कुद्छौँ । म अहिले पनि कुदेकै छु है । कुद्नु पर्छ, दौड्नु पर्छ । युएईका प्रधानमन्त्री एवं दुबईका शासक शेख मोहम्मद विन रसिद अल माक्तुमले एउटा ‘माइ भिजन : च्यालेन्जेज इन द रेस फर एक्सिलेन्स’ भन्ने पुस्तक लेख्नुभएको छ ।
त्यसमा एउटा नीति उल्लेख गर्नुभएको छ, रन फास्टर देन अदर्स । यदि फास्टर कुदेनौ भने, यु क्यानट् सर्भाइव । उनले एउटा कथा सुनाउँछन्– ‘अफ्रिकाको जंगलमा एउटा कुनामा एउटा सिंह बिहान उठ्छ, आङ तान्छ र विचार गर्छ– आज म छिटोभन्दा छिटो कुद्ने, हरिण भन्दा अझ छिटो कुदिनँ म भोकैले मर्छु, किनभने मैले भोजन नै पाउदिनँ । त्यसकारण मैले आज सबैभन्दा छिटो कुद्ने हरिण भन्दा छिटो कुद्न सक्नुपर्छ, छिटो कुद्नु पर्दछ । अर्को कुनामा एउटा हरिणले, त्यसैगरी बिहानै उठ्छ, यसो आङ तान्छ र विचार गर्छ–आज सबैभन्दा बलियो र धेरै दौड्ने सिंहभन्दा म छिटो दौड्नुपर्छ । नत्र मेरो अस्तित्व समाप्त हुन्छ, म मारिन्छु ।’
सिंहलाई पीर छ, छिटो दौडिएन भने खान नपाएर मर्छ । मर्न त मर्ने नै हो, छिटो दौडिएन भने मर्छ, सिंह भए पनि मर्छ । त्यसकारण उ सोच्छ की मैले छिटो दौड्नुपर्छ । उता हरिणले पनि सोच्छ म खाइन्छु, मारिन्छु । एउटा सोच्छ मार्न र खान पाउदिनँ, त्यसकारण म भोकै मर्छु । त्यसकारण छिटो दौड्नुपर्छ । अर्को, मैले छिटो यसकारण कुद्नुपर्छ कि, नत्र मलाई समातेर खाइदिन्छ । चाहे खान नपाएर मरोस्, चाहे खाइएर मरोस्, छिटो कुदेन भने मर्छ ।
त्यसकारण, यु ह्याब टु रन फास्टर देन अदर्स । म यहाँका ४० धावकहरूलाई फास्टर, फास्टेस्ट धावकहरूलाई बधाई भन्न चाहन्छु, यु क्यान सर्भाइव । तपाईंलाई कसैले समातेर खान पनि सक्दैन, किनभने यु रन फास्टर देन अदर्स । तपाईंले कसैलाई समाउन नसकेर, भेट्न नसकेर भोकै मर्न पनि पर्दैन । किनभने यु रन फास्टर देन अदर्स ।
हाम्रो देश किन पछाडि पर्यो भन्दा हामी अरू जसरी कुद्न सकेनाैं, अरु छिटो कुदे । यस्तो प्राकृतिक स्रोतहरूले भरिपूर्ण देश छ । खनिजहरूले भरिपूर्ण देश छ, उर्वर देश छ । यस्तो देशमा पौरखी पुर्खाका सन्तान हामी हौं । दुनियाँमा ज्ञानको सुरुवात गर्ने पुर्खाका सन्तान हामी हौँ । ज्ञान फैलाउने पुर्खाका सन्तान हामी हौँ । आविष्कारक पुर्खाका सन्तान हामी हौँ । इन्नोभेटर्स पुर्खाका सन्तान हामी र यस्तो धर्तीका सन्तान हामी ।
यो धर्ती त्यही धर्ती हो, जहाँ पहिलो ज्ञान निस्क्यो । पहिलो शास्त्र निक्लियोे, पहिलो अक्षर निक्लियो, पहिलो ज्ञान निस्क्यो । पहिलो ज्ञानको ज्योति निस्क्यो । पहिलो विकासको अंकुर टुसायो । यो त्यही भूमि हो, जहाँ हाम्रा पुर्खाहरूले ती सबै सफलता प्राप्त गरेका थिए । त्यस्ता पुर्खाका सन्तान यही धर्तीमा हामी किन पछाडि परेका छौँ भने हामीले इन्नोभेटिव क्यारेक्टर छोड्यौं । हामी आत्मविश्वासका साथ अगाडि बढेनौं ।
अब समय आएको छ । हामीले आत्मविश्वासका साथ, यो व्यक्तिगत आत्मविश्वास र व्यक्ति व्यक्तिगत आत्मविश्वासहरु मिलाएर राष्ट्रिय आत्मविश्वास निर्माण गर्नुपर्दछ । राष्ट्रिय आत्मविश्वासले हामी देश विकास गर्न सक्छौं– आआफ्ना क्षेत्रमा । कोही पनि मानिस हरेक क्षेत्रका लागि विज्ञ हुन सक्दैन । आआफ्नो क्षेत्र हुन्छ । राम्रो खेलाडीलाई खेल्न दिइयो भने, आज हामीले खेलाडीहरूलाई सम्मानित गर्यौं नि । त्यसैगरी सम्मानित गर्न पाइन्छ ।
राम्रो शिक्षकहरूलाई पढाउन दिइयो भने सम्मान गर्न पाइन्छ । शिक्षकलाई खेलमा लगेर हाल्दियो, खेलाडीलाई शिक्षकमा लगेर हालिदियोे भने सम्मान गर्ने होइन, सम्भावना नै समाप्त हुन्छ । त्यसकारण हामीले आफ्नो क्षमता के मा छ भन्ने कुरा, आफ्नो क्षमता, त्यो कुरा चिन्नुपर्छ । म हाम्रा युवाहरूलाई के आग्रह गर्न चाहन्छु भने, आफूभित्र के मा क्षमता छ, त्यो चिनेर हिँड्नु पर्छ ।
नारायण गोपाललाई कुस्तीमा लगाइदिएको भए कसले हड्डी भाँचिदिएर थला पर्दथे । गायनमै भएको हुनाले ‘स्वर सम्राट’ । त्यसकारण जुन विधामा, पत्रकारितामा छ आफूभित्र रहेको क्षमता, त्यो भएको क्षमता प्रस्फुटित गर्ने हो ।
सबै विषयमा र सबै विधामा क्षमता हुँदैन । मानिसको मस्तिष्कमा कसैको के चिजमा अगाडि बढ्ने कसैको के मा । त्यसैकारण बालबालिकाहरूलाई परामर्श चाहिन्छ भन्छन् नि । हामी परामर्श पाएर हुर्किएका होइनौं । स्ट्रगलबाट हुर्किएका हौं र त्यो कुनै नराम्रो कुरा होइन ।
स्ट्रगलबाट हुर्किएर हामी देशका लागि केही गर्न खोजिरहेका छौं । म युवाहरूलाई विविध क्षेत्रमा जे गर्नुभएको छ आफ्नो तरिकाले, आफ्नोपनका साथ यस क्षेत्रमा म केही गर्न सक्छु भनेर लाग्नुभएको छ, त्यो क्षेत्रलाई अगाडि बढाउनुस् ।
त्यो क्षेत्रमा असफल हुनुभयो भने केही नमिलेरै मात्रै असफल भएको हो कि त्यो क्षेत्र तपाईंको मस्तिष्कको जुन विधामा तपाईंको क्षमता छ, त्योसँग नमिलेर हो ? तपाईंको प्रतिभाको क्षेत्रसंँग यदि त्यो नमिलेको हो भने त्यो प्रस्फुटन फेरि हुन सक्दैन, त्यसलाई परिवर्तन गर्नुस् । तर तपाईंहरु क्षमतावान् हुनुहुन्छ ।
क्षमतावान् छु भनेपछि सबै कुरामा क्षमतावान भइँदैन फेरि । एउटा एउटा फिल्डमा क्षमतावान् हुने हो । त्यसै गरेर सिंगै राष्ट्र क्षमतायुक्त राष्ट्र हुन्छ । हरेक क्षेत्र अगाडि बढ्छ । खेती अगाडि बढ्छ, उद्योग अगाडि बढ्छ, व्यापार अगाडि बढ्छ, विज्ञान अगाडि बढ्छ, प्रविधि अगाडि बढ्छ, संगीत अगाडि बढ्छ, कला अगाडि बढ्छ र सबै क्षेत्रहरू अगाडि बढ्छन् ।
युवाअवस्थामा सुरु नगरेर ज्येष्ठ नागरिक भएपछि अनि गरौँला भनेको छ भने, त्यो गर्दैन । लेखक हुनुहुन्छ भने तपाईंले युवाअवस्थाबाट, अझ किशोरावस्थाबाट लेखन थाल्नुपर्दछ, अनि लेखक हुन सक्नुहुन्छ । म पछि रिटायर्ड होउँला अनि पछि लेखक हौँला भन्यो भने हुँदैन ।
सबैले एउटै मात्रै काम गर्ने हो भने ! डाक्टर नै डाक्टर भए देशमा भने अनि सडक कसले बनाउने, पुल कसले बनाउने, घर कसले बनाउने ? कसले गर्छ त ? मज्जाले आधुनिक खेती गरेर राम्रो एकदम उर्वरताका साथ फलाउने फूलाउने मात्रै भयो भने आइटी सेक्टरमा कसले काम गर्ने त ? दुनियाँ आईटीको जमानामा आइसक्यो, एआईको जमाना आइसक्यो ।
यो जमाना अनुसारको काम कसले गर्ने ? सबै आईटीमा लाग्ने हो भने थालमा खाना कसले हाल्दिने ? त्यसकारण सामाजिक जीवनका सबै क्षेत्रमा हामीलाई प्रतिभा चाहिन्छ । हामीले मिहिनेत गर्नुपर्छ र त्यसका लागि प्रकृतिले नै हामीलाई विविध प्रकारको क्षमता दिएको हुन्छ । त्यही क्षमताको प्रतिबिम्ब आज हामीले यहाँ फोर्टी अन्डर फोर्टीमा देख्यौ ।
त्यही क्षमताको प्रतिबिम्ब यहाँ देख्यौ कि विविध विधाहरूमा तपाईहरु अगाडि बढी रहनुभएको छ । म एउटा के सुझाव दिन चाहन्छु भने, त्यति मिठो सुनिँदैन । मिठो नसुनिए पनि मैले भन्नुपर्छ ।
मानिसभित्र सफलताले अझ सफलता थप्छ । कहिलेकहिले सफलताले मानिसभित्र घमण्ड प्रवेश गराइदियो भने त्यसपछि घमण्डले अरु केही ज्ञान पस्नै दिँदैन । घमण्ड मात्रै बाँकी रहन्छ । त्यसले प्रगति र सफलता सबै खाइदिन्छ । सिक्न पनि परेन, किनभने आफैँ जान्दछु भन्ने भावना हुन्छ । अरु कसैसंँग सोध्न बुझ्न केही परेन, कसैको सहयोग लिन परेन, ‘म’ भन्ने हुन्छ । म ले फुल्दाफुल्दै मान्छे खोक्रो बेलुन जस्तो हुन्छ । भित्र घमण्डको हावा मात्रै हुन्छ । त्यसकारण मेरो सुझाव छ युवाहरूलाई घमण्डी कहिल्यै हुनु हुँदैन । घमण्डलाई पस्नै दिनु हुँदैन आफूभित्र ।
त्यसकारण मैले आज एक ठाउँमा बोल्दा पनि भनेका थिएँ, हाम्रो शिक्षामा हामी गुणस्तरीय शिक्षाभन्दा पनि त्यो विषयको ज्ञानको गुणस्तरको कुरा गर्छौं । गुणवत्ताको कुरा गरिराखेका हुँदैनौं । मानिसको शीलस्वभाव, आचरण कस्तो हुनुपर्छ, उसको सामाजिकता कस्तो हुनुपर्छ, हाम्रो कोर्सहरूमा यी कुराहरू छैनन् ।
ज्ञान त छ, तर गुणवत्ता छैन । ज्ञानवत्ता छ, गुणवत्ता छैन । कोर्समा छैन भनेपनि हाम्रो परम्परा हो, हाम्रो रगतमा छ गुणवत्ता । हाम्रो समाजको परम्परामा छ, संस्कृतिमा छ, सभ्यतामा छ । त्यसकारण हामीले नेपालीपन, नेपालीमन, मानवतावाद यी कुराहरूलाई छोड्नु हुँदैन । यसैले हामीलाई अगाडि बढाउँछ र अरूभन्दा पृथक बनाउँछ । भोलि सम्पन्नता मात्रै होइन । सम्पन्नता त दुनियाँमा हासिल गर्नु छ छ, गरिन्छ, गरिन्छ । दुनियाँले गर्छ सम्पन्नता हासिल ।
अब हामी पनि तीव्रताका साथ सम्पन्नता हासिल गर्छौं । तर गुणवत्तामा हामी अरुभन्दा बेटर हुनुपर्दछ । आर्थिक हिसाबले बलियो भएर मात्रै हुँदैन, हामी बेटर हुनुपर्छ । बेटर भनेको यो नलेज आदि मात्रै होइन, मान्छेको स्वत्त्व, उसको आफ्नोपन, उसको बानी, उसको आचरण त्यो चिज हो । मान्छेले ठूलाठूला काम जे गरेका छन् नि, युवाअवस्थामै सुरु गरेका छन् ।
युवाअवस्थामा सुरु नगरेर ज्येष्ठ नागरिक भएपछि अनि गरौँला भनेको छ भने, त्यो गर्दैन । लेखक हुनुहुन्छ भने तपाईंले युवाअवस्थाबाट, अझ किशोरावस्थाबाट लेखन थाल्नुपर्दछ, अनि लेखक हुन सक्नुहुन्छ । म पछि रिटायर्ड होउँला अनि पछि लेखक हौँला भन्यो भने हुँदैन ।
आजकल घोस्ट राईटिङ पाउँछ नि, घोस्ट राईटिङको वैशाखीबाट तपाईं लेखक बन्न सक्नुहुन्छ । आफँै लेखक बन्न सक्नुहुन्न । त्यसो भएर जुनसुकै काम गर्दाखेरि साइन्टिस्टहरूले युवा अवस्थाबाट शुरु गरेका छन् । चिन्तकहरूले, वैज्ञानिकहरूले, खोज अध्ययनकर्ताहरूले, अन्वेषणकर्ताहरूले, ठूलाठूला सफल व्यक्तिहरूले, जतिबेला कम्प्रमाइजिङ टेन्डेन्सीले ढाकिसकेको हुँदैन, त्यतिबेलै, त्यो भनेको युवाअवस्थामै । युवाहरूमा कम्प्रमाइजिङ टेन्डेन्सीले घर जमाइसकेको हुँदैन । परिस्थिति यस्तै छ र ठिकै छ, यसैमा गरिखाउँ, यसैमा चल्छ भन्ने युवाले सोच्दैन । यसलाई बदल्नुपर्छ, मैले केही गर्नुपर्छ र परिस्थितिमा परिवर्तन ल्याउनुपर्छ भनेर युवा लाग्छ, त्यो युवा विशेषता हो ।
अब, यदि कम्प्रमाइजिङ टेन्डेन्सी, परिस्थिति यस्तै छ, ठिकै छ भन्ने ,त्यो बुढौँतीमा अलिक आउन सक्छ । कति देखियो, कति लड्यो, कति के गरियो, अब कति लड्ने, कति सङ्घर्ष गर्ने, भैगो यस्तै त रहेछ दुनियाँ भन्ने थाकेको मानसिकता हो । युथहरू थाक्दैन, थाक्नु हुँदैन युथहरूले । न्यायोचित कुराहरूका साथ अगाडि बढ्नुपर्छ ।
ठीक कुराको प्राप्तिका लागि अगाडि बढ्नुपर्छ । परिस्थितिलाई अझ बढी अनुकूल बनाउनेतिर अगाडि बढ्नुपर्छ । कम्प्रमाइजिङ टेन्डेन्सी बढी लिनु हुँदैन युथहरूले । अब जति गरें, गरें भनेर यत्तिकै होइन । युथ हुँदै जति गरें, गरें यत्ति नै हो, अब सिद्धियो भन्ने हो भने कहाँ हुन्छ त्यो ?
माइकल ज्याक्सन भन्ने एउटा डान्सर असाध्यै प्रसिद्ध भए । कसरी प्रसिद्ध भए भने, नाँच्ने तरिकामा उनले नयाँपन ल्याए । अनि उनको नाच भनेपछि मान्छेको भीड, माइकल ज्याक्सन भनेपछि दौडादौड, नयाँ तरिका । उनले नाँच्न आइहाल्छ, पुरानै ढाँचाले नाँच्छु भनेर हुँदैन । आजकल नयाँ नयाँ नाँचहरू त्यसैकारण आएका छन् । नाँच त छर्लङ्गै फरक परेको देखिन्छ ।
अरु चिज तुरुन्त फरक परेको नदेखिएला तर फरक पार्नु पर्दछ, फरक ढङ्गले गर्नु पर्दछ र फरक ढङ्गले प्रस्तुत हुनु पर्दछ । पुरानै कुराहरूसँग कम्प्रमाइजिङ टेन्डेन्सी, सम्झौतापरस्त प्रवृत्ति, जे भए पनि ठिकै छ भन्ने चित्त बुझाउने प्रवृत्ति होइन । चित्त नबुझाउनुको अर्थ असन्तुष्टि भड्काउनु, केही पनि हुँदैन, यस देशमा केही पनि हुँदैन, बेकार छ यहाँ, केही हुँदैन, सबै भ्रष्ट छन्, सबै अनैतिक छन्, सबै चोरैचोर, अनि यो नेपाल भन्ने देशले कोही इमानदार जन्माए कि छैनन् ? यस्तो देश भइसक्यो यो ? त्यो होइन । मानिसहरू सबै प्रकारका छन् ।
असललाई प्रोत्साहित गर्नुपर्दछ । खराबलाई दुरुत्साहन गर्नु हँुदैन, त्यसलाई हतोत्साहित गर्नुपर्छ । असललाई प्रोत्साहित गर्नुपर्दछ ।
आज किन आईएमई बैंक अनलाइन खबरको आयोजनामा अरु समेत सहभागी भएर सम्मानित किन गरेको छ तपाईंहरू चालिस जनालाई भन्दा, प्रोत्साहित गर्नलाई, राम्रो काम गर्नेलाई प्रोत्साहित गर्नलाई हो । यही तरिका र यही बाटो हो । यही तरिका र यही बाटोबाट हामी अगाडि बढ्नुपर्छ । राम्रो गर्नेलाई प्रोत्साहित गर्नुपर्छ । नराम्रो गर्ने कोही एकजना पनि सम्मानित भएन । राम्रो गर्ने मात्रै सम्मानित भए, यो हो नि प्रोत्साहन गर्ने तरिका हो ।
हामी निराश हुने होइन र निराशा फैलाउने पनि होइन । आफू पनि निराश हुने होइन । गर्यो भने हाम्रो लागि सम्भावा नै सम्भावना छ । अब गरेन भने त सम्भावना हुँदैन । आत्मविश्वासका साथ सही बाटो लियो, आत्मविश्वासका साथ सक्रियता बढायो भने सफल नभएर अरु के हुन्छ ? सफल हुन्छ, हुन्छ ।
यहाँ सम्मानित गरिएका ४० मुनिका ४० जना, कसरी सफल हुनुभयो भन्दा त्यही आत्मविश्वाससहितको, सही बाटो लिनुभयो, आफ्नो विधाको सही बाटो लिनुभयो र सक्रिय रहनुभयो । निष्क्रिय रहनुभएन । अर्थात् सक्रिय हुनुको अर्थ संघर्ष गर्नुभयो, मिहिनेत गर्नुभयो, परिश्रम गर्नुभयो र सम्मानित हुनुभएको छ । म अत्यन्त खुशी व्यक्त गर्न चाहन्छु ।
हामीहरु राजनीतिक मान्छेहरूको एउटा डिफेक्ट के हुन्छ भने, बोल्दै गयो भने फेरि बोल्दै जाला भन्ने डर । त्यसकारण म सबै सम्मानितहरूलाई धेरै धेरै बधाई फेरि भन्न चाहन्छु । धेरै धेरै शुभकामना भन्न चाहन्छु ।
४० नकटेका अरु ४० कमसेकम अर्को साल पनि सम्मानित हुनेछन् । नागरिकता राम्रो हेर्नुहोला, कहिले कहिले सक्रियता देखेर झुक्किनु होला फेरि ।
त्यसो भएर सबैलाई धेरैधेरै बधाई शुभकामना भन्दै र आयोजकहरूलाई यस प्रोत्साहनका लागि धेरै धेरै धन्यवाद भन्दै सबै उपस्थित महानुभावहरुलाई धन्यवाद भन्दै मलाई पनि यहाँ आमन्त्रण गर्नुभयो, त्यसका लागि पनि धेरैधेरै धन्यवाद । सबैमा धेरै धेरै शुभकामना ।