मुख्य समाचार
त्रिवि क्रिकेट मैदानको पुनर्निर्माण सकिँदै, धमाधम सिट जडान हुँदै, फ्लडलाइट पर्खंदै
त्रिवि क्रिकेट मैदानको पुनर्निर्माण सकिँदै, धमाधम सिट जडान हुँदै, फ्लडलाइट पर्खंदै

— प्रधानमन्त्री केपी शर्मा ओली सरकारको मन्त्रिपरिषद् बैठकले गरेको पहिलो निर्णय थियो, ३ सय दिनभित्र त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दर्शक बस्न मिल्ने प्यारापिट, रात्रिकालीन खेलका लागि फ्लडलाइट जडान गर्नेलगायत आवश्यक संचरना बनाउने ।


तोकेको समयमा भनेजस्तो काम नभए पनि यतिबेला मैदानलाई क्रिकेट रंगशालामा परिणत गर्ने काम धमाधम भइरहेको छ । सम्झौताअनुसार काम भएको भए वैशाख २४ गते सबै काम सकिएर रातिमा पनि खेल खेलाउन मिल्ने व्यवस्थित संरचना बनिसकेको हुन्थ्यो । तर, समयमा काम नसकिएपछि प्रधानमन्त्री ओलीले निर्माण कम्पनीसँग स्पष्टीकरण नै सोधे । त्यसपछि दुई महिना म्याद थप । तर काम सकिएन । समयमा काम नसकेका कारण सम्झौताअनुसार निर्माण कम्पनीले अहिले दैनिक २ लाख हाराहारीमा जरिवाना तिर्नुपर्ने हुन्छ । त्यसकारण पनि कम्पनीले धमाधम काम अघि बढाइरहेको छ ।

क्रिकेट रंगशालामा १० हजार सिट क्षमताको प्यारापिट निर्माण काठमाडौंको बिकेओआई–केसिडिसी–बिजी जेभीले गरिरहेको छ । कम्पनीका अनुसार रंगशाला पुनर्निर्माणको सम्झौताअनुसार ९० प्रतिशतभन्दा बढी काम सकिएको छ ।

१० हजार सिट क्षमताको प्यारापिटमा पूर्वतर्फ ३ हजार सिट र पश्चिमतर्फ ७ हजार सिट जडान गरिनेछ । अब केही सिट राख्ने र रेलिङको मात्र काम बाँकी छ । बाँकी काम १० दिनभित्र सकिने बिकेओआई–केसिडिसी–बिजी जेभीका प्रोजेक्ट डाइरेक्टर भरत गिरी दाबी गर्छन् ।

यता फ्लडलाइट जडानको जिम्मा पाएको ललितपुरको विशन–ईश्वरी जोइन्ट भेन्चरको काम भने सुस्त गतिमा छ । युरोपबाट आउनुपर्ने लाइटका सामग्री आउन ढिलाइ भएकाले फ्लडलाइट जडानको काम सुस्त भएको कम्पनीको भनाइ छ । अहिले कामको प्रगति विवरण ६० प्रतिशत भए पनि लाइट आएपछि जडानको काम छिटो हुने र प्रगति विवरण पनि बढ्ने विशन–ईश्वरी जोइन्ट भेन्चरका प्रतिनिधि सौरभ शाह बताउँछन् । छ वटा पोलमा फ्लडलाइट जडान गरिने छ । ‘यसका लागि युरोपबाट सामान आउँदैछ,’ साहले भने, ‘एउटा पोलमा ७० वटा लाइट जडान गर्नुपर्छ । त्यस आधारमा सबै पोलमा गरी ४२० लाइट जडान गरिनेछ । सामान आएपछि जडान गर्न समय धेरै लाग्दैन ।’

साहका अनुसार डिजाइनको परिवर्तन, बर्खासँगै पहिलो प्रस्तावित फ्लडलाइटले स्वीकृति नपाएकाले नयाँ प्रक्रियामा जाँदा ढिलो भएको हो । ‘यो नेपालका लागि नयाँ पनि भयो । लाइट आएपछि जडान हुनासाथ ९० प्रतिशत काम सकिन्छ अनि प्राविधिक पाटोमात्र बाँकी रहन्छ,’ उनले भने ।

त्रिभुवन विश्वविद्यालयसँग लिजमा लिएर नेपाल क्रिकेट संघ (क्यान) ले यो मैदानमा क्रिकेट प्रतियोगिताहरू आयोजना गर्दै आएको छ । नेपाल प्रिमियर लिग (एनपीएल)का बेला यो रंगशाला हजारौं क्रिकेटप्रेमीको उपस्थिति रहन्छ । दर्शकहरू रुखमा चढेर जोखिमपूर्ण तरिकाले क्रिकेट हेरिरहेको दृश्य भाइरल बनेपछि यहाँ प्यारापिटसहितको व्यवस्थित रंगशाला बन्नुपर्ने माग उठेको थियो । थपिएको अवधिभित्र रंगशाला बनेमा एनपीएलको दोस्रो संस्करणमा दर्शकले आनन्दसँग क्रिकेटको मज्जा लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...