मुख्य समाचार
नेपालमा निजी क्षेत्रको लगानीमा निर्माण हुने अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनामा ऋण लगानी सुनिश्चित
नेपालमा निजी क्षेत्रको लगानीमा निर्माण हुने अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनामा ऋण लगानी सुनिश्चित

— नेपालमा निजी क्षेत्रको लगानीमा निर्माण हुने अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनामा ऋण लगानी सुनिश्चित भएको छ । ३४१ मेगावाट क्षमताको बुढीगण्डकी अर्ध जलाशययुक्त जलविद्युत् (पीआरओआर) आयोजना निर्माणका लागि १० वटा बैंक तथा वित्तीय संस्थाले संयुक्त रूपमा साढे ५२ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् ।


नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) को नेतृत्वमा कन्सोर्टियम मोडलमा लगानी व्यवस्थापन गरिएको आयोजना प्रवर्द्धक कम्पनी टाइम्स इनर्जीले जनाएको छ । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा टाइम्स इनर्जीका तर्फबाट सञ्चालक सुशील थापा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

आयोजनाको कुल अनुमानित लागत ७० अर्ब रुपैयाँ छ । त्यसमध्ये ७५ प्रतिशत अर्थात् साढे ५२ अर्ब रुपैयाँ ऋणमार्फत जुटाइनेछ भने बाँकी २५ प्रतिशत प्रवर्द्धकको स्वपुँजी रहनेछ । प्रवर्द्धक कम्पनी टाइम्स इनर्जीमा साहस ऊर्जा लिमिटेडको ५१ प्रतिशत स्वामित्व छ । सोहीअनुसार साहस ऊर्जाले स्वपुँजी लगानीको अधिकांश हिस्सा बेहोर्ने कम्पनीले जनाएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा नबिल, लक्ष्मी सनराइज र ग्लोबल आईएमई बैंकले सहनेतृत्वमा ऋण लगानी गर्न लागेको हो । एनआईएमबीको १० अर्ब, नबिल बैंकको ८ अर्ब, लक्ष्मी सनराइज बैंकको ८ अर्ब, ग्लोबल आईएमई बैंकको ७ अर्ब, माछापुच्छ्रे बैंकको ४ अर्ब, सिटिजन्स बैंकको ३ अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ३ अर्ब, प्रभु बैंकको ३ अर्ब,

कृषि विकास बैंकको २ अर्ब ५० करोड र हाइड्रो इलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनीको ४ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछ । बुढीगण्डकी जलविद्युत् आयोजना साहस ऊर्जा लिमिटेडले प्रवर्द्धन गरेको सबैभन्दा ठूलो हो । यसअघि २८५ मेगावाटको माथिल्लो तमोर र २१६ मेगावाटको माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भइसकेको छ ।

सञ्चालनमा आइसकेका आयोजनामध्ये ८६ मेगावाटको सोलुखोला दूधकोशी नै निजी क्षेत्रबाट निर्माण सकिएको ठूलो आयोजना हो । साहस ऊर्जाले निर्माण गरेको सोलुखोला दूधकोशी २०७९ माघबाट सञ्चालनमा छ । ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा समेत एनआईएमबीको नेतृत्वमा ऋण लगानी गरिएको थियो ।

कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेले यसअघि ८६ मेगावाटको सोलु दूधकोशी पनि साहस ऊर्जाले समयमै निर्माण पूरा गरेर सञ्चालनमा ल्याएको बताउँदै फेरि लगानी गर्न तयार भएको बताए । ‘पहिला पनि लगानी गरेका थियौं, साहस ऊर्जाको नेतृत्वको अनुभव र काम गर्ने शैलीका कारण बुढीगण्डकी आयोजनामा लगानी गर्न बैंकहरू तयार भएका हौं,’ उनले भनेका थिए ।



गोर्खाको चुमनुब्री गाउँपालिका–३ मा बुढीगण्डकी अर्ध जलाशययुक्त आयोजनाको बाँध निर्माण गरिनेछ । विद्युत् गृह भने धार्चे गाउँपालिका–३ मा रहने जनाइएको छ । बाँध र पावर हाउसको बीचमा झन्डै १० किलोमिटर दूरी छ । पावर हाउस भूमिगत हुने आयोजनामा ३ सय ९८ मिटर लामो हेड (पानी खस्ने उचाइ), ६.९ किलोमिटर सुरुङ र ५६.८ मेगावाट क्षमताका ६ वटा टर्बाइन रहनेछन् । बाँधमा १७ लाख ६० हजार घनमिटर पानी सञ्चित गर्न सकिनेछ, जसबाट दिनको ६ घण्टासम्म विद्युत् उत्पादन गरिनेछ ।

आयोजना सञ्चालन भएपछि वार्षिक औसत १८६७.७७ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । मुख्य सुक्खायाममा ३२०.३० गिगावाट, सामान्य सुक्खायाममा २४३.४३ गिगावाट र वर्षायाममा १३०४.०४ गिगावाट विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजना सञ्चालनका लागि आवश्यक ‘डिजाइन डिस्चार्ज’ १००.२५ घनमिटर प्रतिसेकेन्ड छ ।

टाइम्स इनर्जीले आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्नेछ । प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) अनुसार वर्षायाममा प्रतियुनिट ४.८०, हिउँदमा ८.४० र पिक समयमा १०.५५ रुपैयाँ दरमा प्राधिकरणले बिजुली खरिद गरिनेछ । उत्पादित विद्युत् करिब ४५ किलोमिटर लामो २२० केभी प्रसारण लाइनमार्फत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत निर्माणाधीन ४०० केभी क्षमताको नुवाकोटस्थित रातामाटे सबस्टेसनमा जोडिनेछ ।

कम्पनीका अनुसार आयोजनाको प्रतिमेगावाट लागत करिब २० करोड ५३ लाख रुपैयाँ पर्छ । लगानी प्रतिफल दर १६.९९ प्रतिशत रहने अनुमान छ । सम्भाव्यता अध्ययनअनुसार आयोजनाबाट साढे ५ वर्षभित्र लगानी फिर्ता हुन सक्नेछ । आयोजनाको ‘नेट प्रेजेन्ट भ्यालु’ २३ अर्ब २४ करोड रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

साहस ऊर्जाले २०८० पुसमा टाइम्स इनर्जीको ५१ प्रतिशत सेयर खरिद गरेको थियो । त्यसपछि विद्युत् विकास विभागबाट आयोजना निर्माण तथा उत्पादनको अनुमति प्राप्त गरिसकेको छ । कम्पनीले २०८७ सालको पुस १७ भित्र आयोजनाबाट व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ ।

आयोजनाको आर्थिक तथा भौतिक जोखिम न्यून रहेको प्रवर्द्धक कम्पनीको दाबी छ । निर्माणस्थलसम्म सडक पहुँच, प्रसारण लाइनको पहुँच, जलस्रोतको सुनिश्चितता र निर्माण स्थलमा आवश्यक भौगोलिक अवस्था उपयुक्त भएकाले आयोजना समयमा सम्पन्न हुनेछ ।

निजी क्षेत्रको यति ठूलो आयोजनामा लागानी जुट्नु आफैंमा खुसी र गर्वको विषय रहेको टाइम्स इनर्जीका प्रालिका अध्यक्ष हिमप्रसाद पाठकको भनाइ छ । ‘निजी क्षेत्रबाट सञ्चालनमा आइसकेका मध्ये पनि ठूलो आयोजना र अब निर्माण गर्ने ठूलो आयोजना पनि हामीले बनाउन लागेका छौं,’ उनले भने ।

नेपालमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोज्नेहरूका लागि साहज ऊर्जा र यसले लगानी गरी निर्माण गरेका आयोजना गतिलो जवाफ भएको वित्तीय व्यवस्थापन कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । विगतकै अनुभवका आधारमा बुढीगण्डकी जलविद्युत् आयोजना पनि समयमै निर्माण पूरा हुने अपेक्षा रहेको उनको भनाइ छ ।

निजी क्षेत्रको क्षमता वृद्धि हुँदै यो स्तरको आयोजना विकास हुने आफैंमा खुसीको विषय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनाए ।

५ वर्षभित्रै लगानी उठ्ने अनुमान गरिएको बुढीगण्डकी जलविद्युत् आयोजना आकर्षक भएको र समयमै निर्माण सम्पन्न हुने अपेक्षा रहेको उनको भनाइ छ । निजी क्षेत्रले प्रवर्द्धन गर्न लागेको सबैभन्दा ठूलो जलविद्युत् आयोजना लगानी गर्नु गौरवको विषय रहेको एनआईएमबीका सिनियर डेपुटी सीईओ महेश ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मध्यपूर्वमा जारी युद्धका कारण विगत केही महिनादेखि इन्धन सहित निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धि पश्चात् निर्माण व्यवसायीले अहिलेसम्म पनि मूल्य समायोजन नपाएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । मूल्य समायोजनबाट बञ्चित हुँदा निर्माण उद्योग र व्यवसायीहरू इतिहासकै सबैभन्दा धराशायी स्थितिमा पुगेको महासंघका महासचिव शिवहरि घिमिरेद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । आ.व. २०८३/०८४ को बजेट ...
। अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड म्यारिअटले नेपालमा दुई ‘अल्ट्रा लक्जरी होटल’ सञ्चालन गर्ने गरी सीजी हस्पिटालिटी ग्लोबलसँग ऐतिहासिक सम्झौता गरेको छ । म्यारिअट इन्टरनेसनल बोर्डका अध्यक्ष डेभिड म्यारिअट र सीजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष विनोद चौधरीको उपस्थितिमा नेपालमा दुई लक्जरी होटल र भारत सिलिगुडीमा एक होटल सञ्चालन गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ । म्यारिअट र सीजी दुवैै विश्वस्तरीय ...
। सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय यहाँको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ । सन्धिखर्कबाट झण्डै २० मिनेटको गाडीको यात्रा गरेपछि यस स्थानमा पुग्न सकिन्छ । प्रकृतिले आफैँ कुँदेर बनाएको जस्तो देखिने विशाल चट्टानहरूको संरचना, ढुङ्गाको बगैँचा जस्तै फैलिएको भू–आकृति, चिसो स्वच्छ हावा र क्षणक्षणमा बदलिने मौसमले यहाँ पुग्ने जो–कोहीलाई मोहित बनाउने ...
। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र श्रीलंकाको सिलन चेम्बर अफ कमर्सबीच बीटुबी बैठक सम्पन्न भएको छ। महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ टोलीको नेतृत्वमा गएको व्यावसायिक भ्रमणका क्रममा दुई देशका उद्योगी व्यवसायीबीच लगानी प्रवद्र्धन गर्ने सम्बन्धमा छलफल भएको थियो। उक्त छलफलमा सिलन चेम्बरमा आबद्ध उद्योगी व्यवसायीहरूले आफूहरू नेपालमा लगानी गर्न तयार भएको बताएका हुन् । कार्यक्रममा नेपाली ...
। नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको छ । सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो ...