मुख्य समाचार
नेपालमा निजी क्षेत्रको लगानीमा निर्माण हुने अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनामा ऋण लगानी सुनिश्चित
नेपालमा निजी क्षेत्रको लगानीमा निर्माण हुने अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनामा ऋण लगानी सुनिश्चित

— नेपालमा निजी क्षेत्रको लगानीमा निर्माण हुने अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनामा ऋण लगानी सुनिश्चित भएको छ । ३४१ मेगावाट क्षमताको बुढीगण्डकी अर्ध जलाशययुक्त जलविद्युत् (पीआरओआर) आयोजना निर्माणका लागि १० वटा बैंक तथा वित्तीय संस्थाले संयुक्त रूपमा साढे ५२ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् ।


नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) को नेतृत्वमा कन्सोर्टियम मोडलमा लगानी व्यवस्थापन गरिएको आयोजना प्रवर्द्धक कम्पनी टाइम्स इनर्जीले जनाएको छ । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा टाइम्स इनर्जीका तर्फबाट सञ्चालक सुशील थापा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

आयोजनाको कुल अनुमानित लागत ७० अर्ब रुपैयाँ छ । त्यसमध्ये ७५ प्रतिशत अर्थात् साढे ५२ अर्ब रुपैयाँ ऋणमार्फत जुटाइनेछ भने बाँकी २५ प्रतिशत प्रवर्द्धकको स्वपुँजी रहनेछ । प्रवर्द्धक कम्पनी टाइम्स इनर्जीमा साहस ऊर्जा लिमिटेडको ५१ प्रतिशत स्वामित्व छ । सोहीअनुसार साहस ऊर्जाले स्वपुँजी लगानीको अधिकांश हिस्सा बेहोर्ने कम्पनीले जनाएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा नबिल, लक्ष्मी सनराइज र ग्लोबल आईएमई बैंकले सहनेतृत्वमा ऋण लगानी गर्न लागेको हो । एनआईएमबीको १० अर्ब, नबिल बैंकको ८ अर्ब, लक्ष्मी सनराइज बैंकको ८ अर्ब, ग्लोबल आईएमई बैंकको ७ अर्ब, माछापुच्छ्रे बैंकको ४ अर्ब, सिटिजन्स बैंकको ३ अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ३ अर्ब, प्रभु बैंकको ३ अर्ब,

कृषि विकास बैंकको २ अर्ब ५० करोड र हाइड्रो इलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनीको ४ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछ । बुढीगण्डकी जलविद्युत् आयोजना साहस ऊर्जा लिमिटेडले प्रवर्द्धन गरेको सबैभन्दा ठूलो हो । यसअघि २८५ मेगावाटको माथिल्लो तमोर र २१६ मेगावाटको माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भइसकेको छ ।

सञ्चालनमा आइसकेका आयोजनामध्ये ८६ मेगावाटको सोलुखोला दूधकोशी नै निजी क्षेत्रबाट निर्माण सकिएको ठूलो आयोजना हो । साहस ऊर्जाले निर्माण गरेको सोलुखोला दूधकोशी २०७९ माघबाट सञ्चालनमा छ । ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा समेत एनआईएमबीको नेतृत्वमा ऋण लगानी गरिएको थियो ।

कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेले यसअघि ८६ मेगावाटको सोलु दूधकोशी पनि साहस ऊर्जाले समयमै निर्माण पूरा गरेर सञ्चालनमा ल्याएको बताउँदै फेरि लगानी गर्न तयार भएको बताए । ‘पहिला पनि लगानी गरेका थियौं, साहस ऊर्जाको नेतृत्वको अनुभव र काम गर्ने शैलीका कारण बुढीगण्डकी आयोजनामा लगानी गर्न बैंकहरू तयार भएका हौं,’ उनले भनेका थिए ।



गोर्खाको चुमनुब्री गाउँपालिका–३ मा बुढीगण्डकी अर्ध जलाशययुक्त आयोजनाको बाँध निर्माण गरिनेछ । विद्युत् गृह भने धार्चे गाउँपालिका–३ मा रहने जनाइएको छ । बाँध र पावर हाउसको बीचमा झन्डै १० किलोमिटर दूरी छ । पावर हाउस भूमिगत हुने आयोजनामा ३ सय ९८ मिटर लामो हेड (पानी खस्ने उचाइ), ६.९ किलोमिटर सुरुङ र ५६.८ मेगावाट क्षमताका ६ वटा टर्बाइन रहनेछन् । बाँधमा १७ लाख ६० हजार घनमिटर पानी सञ्चित गर्न सकिनेछ, जसबाट दिनको ६ घण्टासम्म विद्युत् उत्पादन गरिनेछ ।

आयोजना सञ्चालन भएपछि वार्षिक औसत १८६७.७७ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । मुख्य सुक्खायाममा ३२०.३० गिगावाट, सामान्य सुक्खायाममा २४३.४३ गिगावाट र वर्षायाममा १३०४.०४ गिगावाट विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजना सञ्चालनका लागि आवश्यक ‘डिजाइन डिस्चार्ज’ १००.२५ घनमिटर प्रतिसेकेन्ड छ ।

टाइम्स इनर्जीले आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्नेछ । प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) अनुसार वर्षायाममा प्रतियुनिट ४.८०, हिउँदमा ८.४० र पिक समयमा १०.५५ रुपैयाँ दरमा प्राधिकरणले बिजुली खरिद गरिनेछ । उत्पादित विद्युत् करिब ४५ किलोमिटर लामो २२० केभी प्रसारण लाइनमार्फत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत निर्माणाधीन ४०० केभी क्षमताको नुवाकोटस्थित रातामाटे सबस्टेसनमा जोडिनेछ ।

कम्पनीका अनुसार आयोजनाको प्रतिमेगावाट लागत करिब २० करोड ५३ लाख रुपैयाँ पर्छ । लगानी प्रतिफल दर १६.९९ प्रतिशत रहने अनुमान छ । सम्भाव्यता अध्ययनअनुसार आयोजनाबाट साढे ५ वर्षभित्र लगानी फिर्ता हुन सक्नेछ । आयोजनाको ‘नेट प्रेजेन्ट भ्यालु’ २३ अर्ब २४ करोड रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

साहस ऊर्जाले २०८० पुसमा टाइम्स इनर्जीको ५१ प्रतिशत सेयर खरिद गरेको थियो । त्यसपछि विद्युत् विकास विभागबाट आयोजना निर्माण तथा उत्पादनको अनुमति प्राप्त गरिसकेको छ । कम्पनीले २०८७ सालको पुस १७ भित्र आयोजनाबाट व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ ।

आयोजनाको आर्थिक तथा भौतिक जोखिम न्यून रहेको प्रवर्द्धक कम्पनीको दाबी छ । निर्माणस्थलसम्म सडक पहुँच, प्रसारण लाइनको पहुँच, जलस्रोतको सुनिश्चितता र निर्माण स्थलमा आवश्यक भौगोलिक अवस्था उपयुक्त भएकाले आयोजना समयमा सम्पन्न हुनेछ ।

निजी क्षेत्रको यति ठूलो आयोजनामा लागानी जुट्नु आफैंमा खुसी र गर्वको विषय रहेको टाइम्स इनर्जीका प्रालिका अध्यक्ष हिमप्रसाद पाठकको भनाइ छ । ‘निजी क्षेत्रबाट सञ्चालनमा आइसकेका मध्ये पनि ठूलो आयोजना र अब निर्माण गर्ने ठूलो आयोजना पनि हामीले बनाउन लागेका छौं,’ उनले भने ।

नेपालमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोज्नेहरूका लागि साहज ऊर्जा र यसले लगानी गरी निर्माण गरेका आयोजना गतिलो जवाफ भएको वित्तीय व्यवस्थापन कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । विगतकै अनुभवका आधारमा बुढीगण्डकी जलविद्युत् आयोजना पनि समयमै निर्माण पूरा हुने अपेक्षा रहेको उनको भनाइ छ ।

निजी क्षेत्रको क्षमता वृद्धि हुँदै यो स्तरको आयोजना विकास हुने आफैंमा खुसीको विषय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनाए ।

५ वर्षभित्रै लगानी उठ्ने अनुमान गरिएको बुढीगण्डकी जलविद्युत् आयोजना आकर्षक भएको र समयमै निर्माण सम्पन्न हुने अपेक्षा रहेको उनको भनाइ छ । निजी क्षेत्रले प्रवर्द्धन गर्न लागेको सबैभन्दा ठूलो जलविद्युत् आयोजना लगानी गर्नु गौरवको विषय रहेको एनआईएमबीका सिनियर डेपुटी सीईओ महेश ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले अर्थमन्त्री रामेश्वर खनाललाई ‘विदेशी लगानीकर्ता परिषद्’ गठन गर्न सुझाव दिएको छ। निक्कीका अध्यक्ष सुनिल केसीले आज अर्थमन्त्री खनालसँग भेटवार्ता गर्दै नेपालमा रहेका भारतीयलगायत सबै बहुराष्ट्रिय कम्पनीहरूले भोगिरहेका समस्यालाई मध्यनजर गर्दै विदेशी लगानीकर्ता परिषद् गठन गर्न सुझाव दिएका हुन्। उनका अनुसार नेपालमा रहेका भारतीयलगायत सबै बहुराष्ट्रिय कम्पनीहरूले भोगिरहेका समस्या तथा जटिलता एवं ...
। कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा तीन अर्ब दुई करोड ७३ लाख ३८ हजार राजस्व संकलन गरेको छ। भन्सार प्रमुख रमेश खड्काका अनुसार बितेका तीन महिनामा एक हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ। यो नाकाबाट २८ वटा मालबाहक सवारीसाधनले स्वदेशी उत्पादन चीनको स्वशासित क्षेत्र ...
। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट निर्यात वृद्धि भएको छ । प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आर्थिक वर्षमा सोही अवधिमा रु आठ अर्ब ८४ करोड मूल्य बराबरका वस्तु निर्यात भएका थिए । चालु ...
— डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेबापत थप प्रिमियम रकम नितरेका कारण १३ उद्योगमा अझै विद्युत् जोडिएको छैन । नेपाल विद्युत् प्राधिकरणले कात्तिक ४ र कात्तिक ७ मा गरी २३ उद्योगको विद्युत् आपूर्ति बन्द गरेको थियो । तीमध्ये १३ उद्योगको बिजुली अझै काटिएको छ । बक्यौता तिर्नुपर्ने कुल २५ उद्योगमध्ये दुई उद्योग पहिले नै बन्द भएका ...
: देशभरका ३९ वटा करदाता सेवा कार्यालयहरू खारेज हुने भएको छ। अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागअन्तर्गत करदाता सेवा कार्यालयहरूलाई खारेज गरी यसका सबै सेवा स्थानीय तहबाट दिने भएको छ। जसअनुसार करदाता सेवा कार्यालयहरूबाट प्रवाह भइरहेका सेवाहरू मध्ये स्थायी लेखा नम्बर प्रमाणपत्र जारी गर्ने लगायतका सेवाहरू सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको हो। तत्कालै स्थानीय तहबाट ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम