मुख्य समाचार
भारतीय उत्पादनमा अमेरिकाको ५० प्रतिशत भन्सार : आर्थिक अस्त्र, कूटनीतिक दबाब
भारतीय उत्पादनमा अमेरिकाको ५० प्रतिशत भन्सार : आर्थिक अस्त्र, कूटनीतिक दबाब

— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सात वर्षपछि चीन भ्रमणमा जान लाग्दा भारतका लागि विश्व राजनीतिक परिदृश्य सामान्य अवस्थामा छैन । अमेरिकासँग भारतको सम्बन्ध तनावपूर्ण स्थितिमा पुगेका बेला मोदी चीन जान लागेका हुन् । उनी ३१ अगस्टमा हुने सांघाई सहयोग संगठन सम्मेलनमा भाग लिन चीन जान लागेका हुन् ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने भारतीय वस्तुहरूमा ५० प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरिरहेको समयमा हुन लागेको मोदीको चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । २०२० मा गलवान उपत्यकामा भएको चिनियाँ र भारतीय सेनाबीचको घातक झडपपछि एक–अर्काका विभिन्न वस्तु तथा सेवामा प्रतिबन्ध लगाउने गरी बिग्रिएको सम्बन्धलाई सहज बनाउन मोदीको भ्रमणले भूमिका खेल्ने भारतीय सञ्चारमाध्यमको दाबी छ ।

भारतले रुसबाट पेट्रोलियम पदार्थ आयात गरेर रुस–युक्रेन युद्धलाई सघाइरहेको अमेरिकाको आरोप छ । आफूहरूले स्पष्ट आपत्ति जनाउँदासमेत भारतले तेल खरिदलाई निरन्तरता दिएको भन्दै ट्रम्पले बुधबार भारतीय वस्तुहरूको आयातमा भन्सार दर ५० प्रतिशतसम्म पुर्‍याएका हुन् । यस घोषणाले भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १ प्रतिशतले संकुचन आउन सक्ने भारतीय अर्थविद्हरूको विश्लेषण रहेको ‘द इकोनमिक टाइम्स’ ले जनाएको छ ।

भारतद्वारा रुसी तेल किन्ने क्रम नरोकिए थप प्रतिबन्ध लगाउने ट्रम्पले अर्को चेतावनी दिइसकेका छन् । उनी भारतप्रति दिन प्रतिदिन आक्रामक बन्दै गएको देखिन्छ । ट्रम्पलाई उद्धृत गर्दै ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘भारतले ठूलो परिमाणमा रुसी तेल किनिरहेको मात्र छैन, त्यस तेलको धेरै हिस्सा खुलेआम बजारमा बेचेर ठूलो नाफा कमाइरहेको छ । त्यसकारण म भारतले अमेरिकातर्फ तिर्ने भन्सार महसुललाई महत्त्वपूर्ण रूपमा बढाउनेछु ।’ अमेरिकामा भारतको २० प्रतिशत वस्तु वा जीडीपीको २ प्रतिशत निर्यात हुने गरेको र अब बहुमूल्य पत्थर, गरगहना, पहिरन, लत्ताकपडा र रसायनसम्बन्धी एकआपसको व्यापारमा उल्लेख्य समस्या आउन सक्ने भारतीय व्यवसायीले सीएनबीसीसँग भनेका छन् ।

ट्रम्पले यसअघि घोषणा गरेको २५ प्रतिशत कर यही बिहीबारदेखि र बुधबार घोषणा गरेको थप २५ प्रतिशत कर २१ दिनपछि लागू हुने ह्वाइट हाउसले जनाएको छ । यसमा सूचना प्रविधि क्षेत्र भने नसमेटिने भएका कारण अमेरिकी बजारमा ९ प्रतिशत प्रत्यक्ष प्रभाव रहेको सेवामा खास असर नपर्ने देखिन्छ । यसले गर्दा सेमिकन्डक्टर र इलेक्ट्रोनिक उत्पादनलाई प्रतिक्रियात्मक भन्सार महसुलले छुँदैन । त्यस्तै, भारतबाट अमेरिका जाने औषधिसम्बन्धी उत्पादनमा पनि भन्सार दर लाग्दैन । भारतले अमेरिकामा स्टिल र आल्मुनियमसमेत निर्यात गर्ने भए पनि यस्ता वस्तुहरूमा छुट्टै कार्यकारी आदेशमार्फत कर निर्धारण गरिएकाले ५० प्रतिशत महसुल तिर्नुपर्ने छैन ।

ट्रम्पले किन लगाए ५० प्रतिशत भन्सार ?

रुसी इन्धन खरिदलाई लिएर पछिल्ला केही दिनयता भारत र अमेरिका आमनेसामने भएका छन् । भारतले रुसबाट पेट्रोलियम पदार्थ आयात गरेर युक्रेन युद्धलाई सघाइरहेको भन्ने अमेरिका र युरोपको आरोप तर्कहीन भएको भारतले प्रतिक्रिया दिएको छ । ट्रम्पले भने बुधबार सञ्चारमाध्यमहरूसँग कुरा गर्दै यो घोषणा सुरुवात मात्रै भएको र अझै विभिन्न थप प्रतिबन्ध र सजायहरू आउन बाँकी रहेको प्रतिक्रिया दिए । रुसी तेल आयात गर्ने देशमध्ये भारतलाई मात्र किन एक्ल्याएको भन्ने पत्रकारको प्रश्नमा ट्रम्पको जवाफ थियो, ‘अहिले त आठ घण्टा मात्रै भएको छ, हेर्दै जाऊँ, के हुन्छ ।’



पाकिस्तानसँगको युद्ध रोक्न आफूले मध्यस्थता गरेको विषयलाई भारतले औपचारिक रूपमा मान्न अस्वीकार गरेयता ट्रम्प र भारतबीचको सम्बन्ध चिसिन सुरु भएको थियो । सुरुवाती चरणमा युक्रेनसँग रुसको युद्धविराम गराउने आशामा रुसमाथि अतिरिक्त कर नलगाएका ट्रम्प आफ्ना प्रयासहरू विफल भएपछि रुसमाथि पनि खनिन थालेका छन् । इजरायल–इरान तनाव र रुसको एकोहोरो युक्रेन नीतिपछि ट्रम्पले भन्सार महसुल र व्यापार सम्झौतासम्बन्धी विषयहरू अघि सारेर रुस र इरानसँग इन्धन खरिद गरिरहेका देशहरूलाई दबाबमा पार्ने रणनीति लिएको छ ।

हालैको युद्धमा पाकिस्तानसँग स्पष्ट रूपमा उभिएको चीनसँगै ट्रम्पले आलोचना गर्ने ब्राजिल, दक्षिण अफ्रिका, रुसजस्ता देशहरूसँग भारतको सहभागिता बाक्लिएपछि पनि ट्रम्पले त्यसको खुला आलोचना गर्दै आएका छन् । उनले सार्वजनिक रूपमै ब्रिक्स देशहरूलाई अतिरिक्त शुल्क लगाउने जस्ता चेतावनी दिँदै चीनसँग भने व्यापार सम्झौताको प्रयास जारी राखेका छन् ।

अमेरिकी आरोपलाई भारतले कडा रूपमा खण्डन गरेको छ । भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘हाम्रो आलोचना गरिरहेका ती राष्ट्रहरू स्वयं रुससँग उल्लेख्य व्यापार गरिरहेका छन् । तर हाम्रा लागि यो व्यापार आधारभूत ऊर्जालगायतको आवश्यकता पूरा गर्नका लागि हो ।’ मन्त्रालयका प्रवक्ताले २०२४ मा युरोपेली संघले रुससँग गरेको व्यापार भारतको तुलनामा निकै उच्च भएको र भारतलाई मात्रै एक्ल्याउने अमेरिकी कदम ‘अन्यायपूर्ण र तर्कहीन’ भएको दोहोर्‍याएका छन् ।

यस विषयमा भारतका ऊर्जामन्त्री हरदीपसिंह पुरीले सीएनबीसीसँगको अन्तर्वार्तामा भनेका छन्, ‘रुस–युक्रेन युद्ध सुरु हुँदाताका भारतलाई रुसी तेल किन्न अमेरिकाले नै सुझाव दिएको थियो । त्यो बेला तेल किन्न रोकेको भए, तेलको मूल्य प्रतिव्यारेल १३० डलरसम्म पुग्थ्यो ।’ उनका अनुसार अमेरिकी पक्षको उक्त सुझाव इन्धनको मूल्य अत्यधिक नबढोस् भन्ने उद्देश्यले गरिएको थियो ।

भारतले २०२४ मा अमेरिकामा करिब ८१ अर्ब डलर मूल्य बराबरको वस्तु निर्यात गरेको थियो । ट्रम्पको कडाइले करिब ६४ अर्ब डलरको व्यापार जोखिममा पर्न सक्ने अनुमान गरिएको छ । तथापि, भारतको केन्द्रीय बैंक (आरबीआई) ले भने आफ्नो पूर्ववत् आर्थिक वृद्धिदर प्रक्षेपणमा अडिग रहँदै पछिल्लो चुनौतीको प्रभाव सीमित हुने जनाउ दिएको छ । कूटनीतिक प्रभाव भने आर्थिकभन्दा गहिरो हुन सक्ने आकलन गरिएका छन् । मोदीको चीन भ्रमणलाई वासिङ्टनतर्फ स्पष्ट सन्देशका रूपमा हेरिएको छ । ‘भारतले कूटनीतिक क्षेत्रमा कुनै एक देशको पक्ष नलिएर आफ्नो आवश्यकताअनुसार बहुपक्षीय सन्तुलन कायम गर्ने प्रयास गर्दै आएको छ,’ अमेरिकी थिंक ट्यांक सेन्टर फर अ न्यु अमेरिकन सेक्युरिटीकी वरिष्ठ विश्लेषक रेचेल जिम्बाले भनेकी छन् ।

एसियामा प्रभाव गुमाउने

अमेरिकाका लागि दक्षिण एसियामा सबैभन्दा भरपर्दो मित्र भारत नै हो । तर ट्रम्पका कारण अमेरिकाले अब यो मित्र पनि टाढा बन्ने निश्चित छ । विश्व आर्थिक होस् या सैन्य शक्तिमा अमेरिकाको मुख्य प्रतिस्पर्धी चीन हो । यता दक्षिण एसियामा चीनको प्रतिस्पर्धी भारत हो । अमेरिकी परियोजनाहरू अहिलेसम्म भारत हुँदै दक्षिण एसियाली देशहरूमा लागू हुँदै आएका छन् । तर अब भने ट्रम्पको ट्रेड वारका कारण यो प्रभाव पनि कम हुँदै जाने देखिन्छ ।

चीनले यसअघि नै पटक–पटक जस्तोसुकै युद्धका लागि पनि तयार रहेको चेतावनी दिइसकेको छ । यसैबीच भारतले पनि अमेरिकालाई आफ्नो देश र जनताको हितका लागि कुनै विषयमा नझुक्ने जवाफ दिएको छ । प्रधानमन्त्री मोदीले पनि विभिन्न फोरममा अमेरिकाको यस्तो नीति तर्कहीन रहेकाले कुनै सम्झौता नगर्ने बताएका छन् । अझ अमेरिका आफैं रुससँग व्यापार गर्दै आएकाले अन्य देशलाई यस्तो दबाब दिन नमिल्ने उनको तर्क छ ।

यही विवादकै बीच भारतीय प्रधानमन्त्री मोदी चीन जाँदै छन् । भलै चीन र भारत प्रतिस्पर्धी देश हुन् । तर छिमेकी पनि हुन् । अर्को कारण दुवै देश अहिले अमेरिकी कर नीतिबाट निसानामा छन् । २०२० को गलवान भिडन्तपछि पहिलो पटक चीन जान लागेका मोदीको भ्रमणलाई लिएर ट्रम्पको नीतिसँग पनि जोडेर हेरिएको छ । ट्रम्पले भारतमाथि निरन्तर बढाएको दबाबलाई काउन्टर गर्नका लागि मोदीले चीनको भ्रमण रोजेका रूपमा समेत हेरेका छन् । चीनमा आयोजना हुने प्रतिष्ठित सांघाई सहयोग संगठन (एससीओ) समिटमा सहभागी हुन मोदी ३१ अगस्ट देखि १ सेप्टेम्बरसम्म चीनको भ्रमणमा निस्किन लागेका हुन् ।

यो बलियो क्षेत्रीय अन्तर्राष्ट्रिय संस्थाका रूपमा रहेको छ । यसमा भारतसहित चीन, रुस, इरान, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, पाकिस्तान र बेलारुस रहेका छन् । धेरैले यस सम्मेलनलाई ट्रम्पको नीतिमाथि दबाब बढाउने एक विशेष अवसरका रूपमा पनि चर्चा गरेका छन् ।

यस्तै कर नीतिको विवादकै बीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि भारत भ्रमणमा आउने चर्चा चुलिएको छ । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै पुटिन छिट्टै भारत भ्रमणमा आउने बताएका छन् । रुसी तेल खरिद गरिएको विषयमा अमेरिकाले दबाब बढाइरहेका बेला रुसी राष्ट्रपतिको भ्रमणले अमेरिकामाथि दबाब अवश्य बढाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम