मुख्य समाचार
‘मलाई यस्तो लाग्दैछ, मैले काठमाडौं छाडेकै थिइनँ,’
‘मलाई यस्तो लाग्दैछ, मैले काठमाडौं छाडेकै थिइनँ,’

— ‘मलाई यस्तो लाग्दैछ, मैले काठमाडौं छाडेकै थिइनँ,’ सञ्चारकर्मीले प्रश्न तेर्स्याउनु अगाडि नै मोन्टी देसाईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो भनाइ राखिहाले । १२ वर्षयता नेपाली क्रिकेटसँग जोडिँदै आएका उनी यस पटक नेपाल प्रिमियर लिगका लागि काठमान्डु गोर्खाजको प्रशिक्षक बनेर आएका हुन् ।


काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको गोर्खाजले गत महिना मोन्टीलाई राजधानीको फ्रेन्चाइज टोलीको प्रशिक्षक नियुक्त गरेको थियो । एनपीएल दोस्रो संस्करणका लागि शनिबार हुने अक्सनलाई केन्द्रित गर्दै उनी बिहीबार काठमाडौं ओर्लिए ।

‘म अझै यो देशको क्रिकेटलाई योगदान दिइरहेको छु, अब काठमान्डु गोर्खाजसँगको सहयात्रा उत्साहजनक हुनेछ । मिनी अक्सनबाट नयाँ खेलाडी लिँदै यो यात्रा सुरु हुनेछ,’ ६ महिनापछि पुनः नेपाल फर्किएका मोन्टीले भने, ‘म कुनै न कुनै रूपमा योगदान दिन चाहन्थें किनभने यो राष्ट्रले मलाई परिचय दिएको छ । यसप्रति म जीवनभर आभारी रहनेछु ।’

मोन्टी सन् २०२३ को फेब्रुअरीदेखि २ वर्ष नेपालको प्रशिक्षक रहे । यही क्रममा नेपाल विश्वकप लिग–२ का १२ खेलमा ११ खेल जित्दै सिधै २०२३ को एकदिवसीय विश्वकप छनोटमा पुगेको थियो । मोन्टीकै प्रशिक्षणमा नेपालले पहिलो पटक एसिया कप खेलेको थियो भने १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गरेको थियो ।

गोर्खाजले एनपीएलको पहिलो सिजनबाट मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई ‘रिटेन’ गरिसकेको छ । मोन्टीलाई गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया, प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरी र प्रशिक्षक वसन्त शाहीले विमानस्थलमा स्वागत गरेका थिए । गत वर्ष गोर्खाज पाँचौं भएको स्मरण गर्दै अझ राम्रो गर्न धेरै गृहकार्य रहेको मोन्टीले बताए ।
हामीसँग ‘भ्यालेनटाइन ब्वाइ’ करण छन्, उनले जसरी आफ्नो खेलजीवन अगाडि बढाइरहेका छन्, त्यसमा म धेरै खुसी छु । दुई वटा राम्रा देव्रेहाते स्पिनर शाहब र दीपेश छन् । प्रतीकसँग चाहिँ मैले काम गरेको छैन । उनी कस्ता खेलाडी हुन् र कस्तो क्षमता छ, हेर्न बाँकी छ,’ मोन्टीले गोर्खाज टोलीबारे भने, ‘अक्सनमा केही पुराना र केही नयाँ नाम छन् । मैले सूचीमा धेरै खेलाडीको नाम देखेको छु । हामीले मिनी अक्सनबाट ५ खेलाडी लिनु छ, त्यसैले हामी रणनीतिक भएर गोर्खाजलाई सन्तुलित बनाउनुपर्छ ।’

गत वर्ष लक्की ‘ड्र’ मा पनि भाग्यमानी बन्न नसकेको व्यवस्थापनले आफूलाई जानकारी गराएको उनले सुनाए । नेपाली टोलीका ब्याटर मध्ये भीम (सार्की) ले राम्रो भूमिका खेल्नेमा उनी आशावादी छन् । अक्सनका लागि टिमसँग छलफल गर्दै आएको तथा घरेलु क्रिकेट राम्रो हुँदै गएका कारण राम्रो खेलाडी पाउने आशा लिएको मोन्टी सुनाउँछन् ।



‘मैले गत सिजन एनपीएल हेरेको थिएँ, १–२ खेल राम्रो गरेको भए टोली शीर्ष चारमा पर्न सक्थ्यो । अब यो काठमान्डु गोर्खाजको पहिचान बनाउने समय पनि हो, अझ महत्त्वपूर्ण पक्ष भनेको जसले यो फ्रेन्चाइज टोलीबाट खेल्छ, त्यो खेलाडीमा राष्ट्रको प्रतिनिधित्व गर्ने आकांक्षा पनि होस्,’ मोन्टीले भने ।

एनपीएलका लागि पहिलो प्रस्ताव गर्ने गोर्खाज नै भएकाले आफू आएको बताउँदै उनले आफ्नो नयाँ टोलीबारे भने, ‘बलिङका हिसाबमा हामी राम्रो गर्न सक्छौं । ब्याटिङका हिसाबमा राष्ट्रिय टोलीका केही खेलाडी मिस भएजस्तो लाग्यो । तर विदेशी खेलाडीले पनि यसमा प्रभाव पार्न सक्छन् । अक्सनबाट १–२ चाहेका खेलाडी पर्‍यो भने टिममा फरक पर्न सक्छ ।’

उनी सन् २०१४ सम्म इन्डियन प्रिमियर लिग टोली राजस्थान रोयल्सको स्काउट प्रशिक्षक थिए । त्यसयता उनी क्यानडा, अफगानिस्तान, वेस्ट इन्डिज टोलीको ब्याटिङ प्रशिक्षक रहे । उनले भने, ‘फ्रेन्चाइज क्रिकेटमा केही समय बाहिर थिएँ, फेरि फर्किएको छु । राष्ट्रिय टोलीमा नभएका हाम्रा खेलाडीलाई लयमा राख्नुपर्ने चुनौती छ ।’ पुनर्निर्माणको क्रममा रहेको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गएर त्यसको अनुभूति लिने उनी सुनाउँछन् ।

प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई स्वागत गर्दै कार्यकारी निर्देशक काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीलगायत ।
एनपीएलबाट नेपाली खेलाडीले राम्रो मौका पाइरहेको र फ्रेन्चाइजहरूमा पनि प्रतिद्वन्द्विता बढिरहेकाले एनपीएल राम्रो लयमा अगाडि बढेको मोन्टीको बुझाइ छ । ‘एनपीएलले लामो दूरी लिने र यो नेपालको परिचय बन्ने छ । गत सिजनको एनपीएलले नन्दन यादवलाई अगाडि ल्याएको थियो । यस वर्ष अरू खेलाडी पनि आउने आशा लिएको छु,’ मोन्टीले भने ।

एनपीएलको दोस्रो सिजन नोभेम्बर–डिसेम्बरमा हुने तालिका छ । त्यसअघि नेपालले अक्टोबरमा ओमानमा ट्वान्टी–२० विश्वकप छनोट खेल्दै छ । ‘नेपाल विश्वकपमा पुगेको हेर्न मैले समर्थन गरिरहेको हुनेछु,’ मोन्टी नेपाली टिमसँगको आफ्नो सम्बन्धलाई अझै जोड्न खोजे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...