मुख्य समाचार
ट्रम्पले भारतीय सामानमा भन्सार शुल्क ५० प्रतिशत पुर्‍याए
ट्रम्पले भारतीय सामानमा भन्सार शुल्क ५० प्रतिशत पुर्‍याए

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत ट्यारिफ (भन्सार शुल्क) लगाएका छन् । यो नयाँ ट्यारिफ पहिले लागू भइसकेको २५ प्रतिशत ट्यारिफमा थपिएर कुल ५० प्रतिशत पुगेको छ ।

ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार यो थप ट्यारिफ आदेश जारी भएको मितिले २१ दिनपछि लागू हुनेछ ।




बुधबार जारी गरिएको ह्वाइट हाउसको आदेशमा भारत सरकारले हाल प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसबाट तेल आयात गरिरहेको छ । यही आधारमा अमेरिकाले भारतबाट आउने सबै वस्तुमा थप २५ प्रतिशत शुल्क लगाउने निर्णय गरेको हो ।

रुस युक्रेन युद्ध सुरु भएपछि भारतले रुसबाट आयात गर्ने कच्चा तेलको परिमाण ह्वात्तै बढेको थियो । सन् २०१८ सम्म रुसबाट भारत आयात हुने कच्चा तेलको हिस्सा १.८ प्रतिशत मात्र थियो तर सन् २०२५ मा यो परिमाण ३५ प्रतिशत पुगेको थियो ।



थप ट्यारिफ लगाउने अमेरिकाको यो निर्णयले अमेरिकी बजारमा भारतीय सामान धेरै महँगो हुनसक्ने विशेषज्ञ बताउँछन् । उनीहरुका अनुसार भारतको अमेरिका तर्फको निर्यातमा ४० देखि ५० प्रतिशतसम्म गिरावट पनि आउन सक्छ ।

भारतले भन्यो– अमेरिकाको निर्णय अनुचित, अकारण र तर्कहीन

अमेरिकाको यस निर्णयपछि भारतको परराष्ट्र मन्त्रालयले प्रतिक्रिया दिंदै ‘अनुचित, अकारण र तर्कहीन’ भनेर टिप्पणी गरेको छ ।

भारतले १ अर्ब ४० करोड जनताको ऊर्जा सुरक्षा सुनिश्चित गर्न रुसबाट तेल आयात गर्नुपरेको प्रष्ट पारेको छ ।



अमेरिकाले भारतमाथि थप ट्यारिफ लगाउने निर्णयलाई दुर्भाग्यपूर्ण भन्दै थपेको छ, ‘रुसी तेल आयात गरेको भनेर अमेरिकाले थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेको छ । जबकि त्यस्तै काम अरू धेरै देशहरूले पनि आफ्ना राष्ट्रिय हितमा गरिरहेका छन् । हामी फेरि दोहोर्याउँछौं कि अमेरिकाको यो कदम अनुचित, अकारण र तर्कहीन छ । भारतले आफ्नो राष्ट्रिय हितको रक्षा गर्न सबै आवश्यक कदम चाल्नेछ ।’

अमेरिकी निर्णयपछि कांग्रेसले गर्‍यो मोदीको आलोचना

अमेरिकाको यो निर्णयपछि भारतीय कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेको छ । कांग्रेसले एक्स (पहिलेको ट्विटर) मा एक पोस्टमा लेखेको छ, ‘नरेन्द्र मोदीका मित्र ट्रम्पले भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाएका छन् । ट्रम्प निरन्तर भारतविरुद्ध कदम चालिरहेका छन्, तर नरेन्द्र मोदीले त उनको नामसम्म लिंदैनन् । मोदीजी, हिम्मत गर्नुहोस्, ट्रम्पलाई जवाफ दिनुहोस् ।’

कांग्रेस नेता राहुल गान्धीले पनि एक्समा लेखेका छन्, ‘ट्रम्पको ५० प्रतिशत ट्यारिफ एक प्रकारको आर्थिक ब्ल्याकमेल हो । भारतलाई अनुचित व्यापार सम्झौताका लागि डराउने प्रयास हो । प्रधानमन्त्री मोदीले आफ्नो कमजोरीलाई भारतीय जनताको हितभन्दा माथि राख्न दिनुहुँदैन ।’

विशेषज्ञ के भन्छन् ?

दिल्लीस्थित थिंक ट्यांक ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभका प्रमुख अजय श्रीवास्तव भन्छन्, ‘यो निर्णयसँगै भारत अब अमेरिकाका ती व्यापारिक साझेदारहरूमध्ये पर्छ जसलाई सबैभन्दा बढी ट्यारिफ लगाइएको छ । चीन, भियतनाम र बंगलादेश जस्ता प्रतिस्पर्धीहरूभन्दा धेरै माथि । यो भारतको अमेरिका तर्फको ८६.५ अर्ब डलर वार्षिक निर्यात (कपडादेखि लिएर मेशिनरीसम्म) को ठूलो हिस्सा संकटमा पार्न सक्छ ।’

उनका अनुसार, २०२४ मा चीनले रुसी तेल ६२.६ अर्ब डलरको आयात गरेको थियो, जुन भारतले गरेको ५२.७ अर्ब डलरको आयातभन्दा धेरै हो, तर चीनमाथि कुनै कारवाही गरिएको छैन ।

श्रीवास्तवको भनाइमा, ‘वाशिंगटन चीनमाथि कारवाही गर्न डराइरहेको छ, किनभने चीनले अमेरिकी रक्षा तथा प्रविधि क्षेत्रका लागि महत्त्वपूर्ण कच्चा पदार्थ– जस्तै ग्यालियम, जर्मेनियम, रेयर अर्थ र ग्रेफाइट को आपूर्ति नियन्त्रणमा राखेको छ ।’

उनी भन्छन्, ‘अमेरिकाले आफ्ना साझेदारहरूका रुसी व्यापारलाई पनि नदेखेझैँ गरेको छ । अघिल्लो वर्ष युरोपेली संघले रूसबाट ३९.१ अर्ब डलरको सामान आयात गर्‍यो, जसमा २५.२ अर्ब डलरको तेल थियो । अमेरिका स्वयंले पनि रूसबाट ३.३ अर्ब डलरको रणनीतिक संसाधन आयात गर्‍यो ।’

अजय श्रीवास्तवको अनुमानमा, यो ट्यारिफका कारण अमेरिकी बजारमा भारतीय सामान धेरै महँगो हुनसक्छन् र भारतको अमेरिका तर्फको निर्यातमा ४० देखि ५० प्रतिशतसम्म गिरावट आउन सक्छ ।

ट्रम्पका विशेष दूतले पुटिनसँगको भेटेपछि ट्रम्पको निर्णय सार्वजनिक

बीबीसीका अनुसार मस्कोमा ट्रम्पका विशेष दूत स्टीव विटकोफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेपछि ट्रम्पले भारतमाथि थप ट्यारिफ लगाउने घोषणा गरेका हुन् ।

यूक्रेन युद्धविरामका लागि रूसी सहमतिका सम्बन्धमा शुक्रवारको डेडलाइनअघि यो भेटवार्ता भएको हो।

यसअघि ट्रम्पले अमेरिकाले रूसबाट युरेनियम, मल र रसायन जस्ता वस्तु आयात गर्ने कुरा आफूलाई थाहा नभएको बताएका थिए ।

भारतले अमेरिकालाई चुनौती दिँदै यसबारे प्रश्न उठाएको थियो ।

पत्रकारले सोधेको प्रश्न र ट्रम्पको उत्तर

एक पत्रकारले ‘अमेरिकाले पनि रूसबाट युरेनियम, रसायन र मल आयात गर्छ, तर भारतको तेल आयातमा आपत्ति जनाउँछ । तपाईंको जवाफ के हो ?’ भनेर ट्रम्पसँग प्रश्न गरेका थिए ।

ट्रम्पले जवाफमा भने, ‘मलाई यसकोबारेमा केही थाहा छैन। म यसको जानकारी लिनेछु र पछि जानकारी दिनेछु ।’

उनले यसअघि पनि रूसबाट तेल किनेका देशमाथि चाँडै ट्यारिफ लगाउने निर्णय लिने धम्की दिएका थिए । ट्रम्पले भारतमाथि ठूलो परिमाणमा रुसी तेल किनेको र त्यसलाई अन्य देशमा बेचेर मुनाफा कमाएको आरोप लगाएका थिए ।

भारतको जवाफ के थियो ?

भारतले गत सोमबार पनि अमेरिकालाई चेतावनी दिँदै र युरोपेली संघमाथि टिप्पणी गर्दै भनेको थियो, ‘रुसी कच्चा तेल किनेकै कारण भारतलाई निशाना बनाउनु अनुचित र तर्कहीन हो ।’

भारतको परराष्ट्र मन्त्रालयले स्पष्ट शब्दमा भनेको थियो, ‘अमेरिका र युरोप स्वयं पनि रूससँग व्यापार गरिरहेका छन् तर भारतमाथि दोहोरो मापदण्ड अपनाइरहेका छन् ।’

मन्त्रालयले भनेको थियो– युरोपले रूसबाट ऊर्जा मात्र होइन, मल, खनिज पदार्थ, रसायन, फलाम–स्टील र मेशिनरीसमेत किनिरहेको छ । अमेरिका रूसबाट आफ्नो आणविक उद्योगका लागि युरेनियम हेग्जाफ्लोराइड, इलेक्ट्रिक गाडीका लागि प्यालेडियम, मल र रसायन आयात गरिरहेको छ । त्यसैले भारतलाई भने रुसबाट तेल किनेको भनेर ट्यारिफ लगाउने अनुचित हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...