मुख्य समाचार
नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा लगानी गरेर एक वर्षमा ९० अर्ब रुपैयाँ आम्दानी
नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा लगानी गरेर एक वर्षमा ९० अर्ब रुपैयाँ आम्दानी

। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा लगानी गरेर एक वर्षमा ९० अर्ब रुपैयाँ आम्दानी गरेको छ ।

पछिल्लो समय विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च भएसँगै केन्द्रीय बैंकको आम्दानी पनि बढेको हो ।


राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा विदेशी विनिमय सञ्चितिमा लगानी गरेर ९० अर्ब रुपैयाँ आम्दानी भएको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा करिब १२ अर्बले बढी हो । अघिल्लो आव २०८०/८१ मा यस्तो आम्दानी ७८ अर्ब १६ करोड रुपैयाँ थियो ।

२०८२ असार मसान्तसम्म राष्ट्र बैंकसँग १७ अर्ब ५ करोड अमेरिकी डलर बराबर विदेशी विनिमय सञ्चिति थियो । त्यसैगरी २०८१ असार मसान्तमा यस्तो सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर थियो ।

रेमिट्यान्स, निर्यात, प्रत्यक्ष वैदेशिक लगानीलगायत स्रोतहरुमार्फत मार्फत विदेशी मुद्रा भित्रिन्छ । उक्त विदेशी मुद्रालाई केन्द्रीय बैंकले राखेर नेपाली रुपैयाँ सम्बन्धित व्यक्ति तथा संस्थालाई भुक्तानी दिन्छ । यस प्रक्रियामा बैंक तथा वित्तीय संस्थाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका हुन्छन् ।

यसरी आएको विदेशी मुद्रालाई केन्द्रीय बैंकले जम्मा गरेर राख्छ । जम्मा भएको विदेशी मुद्रालाई आयात, अन्तर्राष्ट्रिय ऋणको साँवाब्याज भुक्तानी लगायतमा प्रदान गर्छ । यसरी भुक्तानीका लागि दिइसकेपछि बचेको विदेशी मुद्रालाई केन्द्रीय बैंकले सञ्चितिसँगै अन्तर्राष्ट्रिय वित्तीय बजारमा लगानी गर्ने गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए ।

केन्द्रीय बैंकसँग भएको विदेशी विनिमयलाई धेरै अमेरिकी र भारतीय मुद्रा बजारमा लगानी गर्ने गरेको नेपालले बताए ।

‘केन्द्रीय बैंकले कुल विदेशी विनिमय सञ्चितिको ५५ देखि ६० प्रतिशतसम्म अमेरिकी मुद्रा बजारमा लगानी गरेको हुन्छ, त्यसपछि २० देखि २५ प्रतिशत भारतीय मुद्रा बजारमा लगानी हुन्छ,’ नेपालले भने, ‘यसरी गरिएको लगानीमा आउने प्रतिफल भनेको सम्बन्धित देशको केन्द्रीय बैंकले तोकेको ब्याजदर आधारमा निर्धारण हुन्छ, साथै उनीहरूको आवश्यकताका आधारमा पनि ब्याजदर घट्ने वा बढ्ने हुन्छ ।’

केन्द्रीय बैंकले कुल विदेशी विनिमय सञ्चितिको ५५ देखि ६० प्रतिशतसम्म अमेरिकी मुद्रा बजारमा लगानी गरेको हुन्छ, त्यसपछि २० देखि २५ प्रतिशत भारतीय मुद्रा बजारमा लगानी हुन्छ।
डलर र भारुसँगै अन्य मुद्रा बजारमा सानो–सानो लगानी गर्ने गरेको नेपालले जानकारी दिए । वैदेशिक ऋण किस्ता भुक्तानी गर्दा चिनियाँ युआन र बेलायती पाउन्ड पनि आवश्यक पर्ने भएकाले ती मुद्रामा लगानी लगानी गर्ने गरेको उनको भनाइ छ ।

नेपालका अनुसार केन्द्रीय बैंकले यसरी विदेशी मुद्रा बजारमा गरेको लगानीबाट मात्रै ९० अर्ब रुपैयाँ हाराहारी आम्दानी गरेको छ । नेपालको सन्दर्भमा धेरैजसो ठूला ऋणदाता भनेका विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) भएकाले पनि डलर धेरै हुने उनको भनाइ छ ।

‘यस्तो सञ्चिति मुद्रा लगानी गर्दा अधिकतम दुई वर्षको लगानी हुन्छ,’ उनले भने । यस्तो फन्डलाई समान्यतः निजी संस्थाका वित्तीय औजारमा लगानी नगर्ने उनले जानकारी दिए ।

उनका अनुसार राष्ट्र बैंकले केन्द्रीय बैंक, गभर्मेन्टको सोभरेन बन्ड, केन्द्रीय बैंकहरूले निष्कासन गर्ने बन्डहरूमा लगानी गर्दै आएको छ । त्यसका साथै बैंक फर इन्टरनेसनल सेटलमेन्टले निष्कासन गर्ने वित्तीय औजारमा पनि लगानी गरेर अन्य मुद्राहरूको व्यवस्थापन गर्ने गरेको उनी बताउँछन् ।



केन्द्रीय बैंकमा भएको विदेशी विनिमय सञ्चिति केन्द्रीय बैंक थुप्रिएर बस्ने नभई अन्तर्राष्ट्रिय बजारमा तत्काल नगदमा परिवर्तन गर्न सकिने गरी लगानी गर्ने गरेको नेपालले बताए ।

अन्तर्राष्ट्रिय मुद्रा बजार कारोबार समयका कारण त्यस्तो विदेशी विनिमय ६ दिन केन्द्रीय बैंकमा होल्ड हुन सक्ने उनको भनाइ छ ।

सामान्यतः अर्थतन्त्रको अवस्था र आकार अनुसार विदेशी विनियम सञ्चिति राख्नुपर्ने हुन्छ । विकसित राष्ट्रका सन्दर्भमा विदशी विनिमय सञ्चिति ३ महिनाको वस्तु तथा सेवा आयातका लागि पर्याप्त भए पुग्छ भन्ने मान्यता छ ।

त्यसैगरी विकासशील देशका सन्दर्भमा ६ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त विदेशी मुद्रा सञ्चिति हुनुपर्छ भन्ने मान्यता छ । नेपालसँग अहिले करिब १५ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त विदेशी विनिमय सञ्चिति छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सेयर अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका–२०८२ पारित नहुँदा करिब ३६ कम्पनीका संस्थापक सेयर सूचीकृत हुन सकेका छैनन्। २०८१ माघमा ओम मेगाश्री फर्मास्युटिकल्सलगायत कम्पनीले आईपीओ निष्कासन अनुमति पाएका थिए। तर, यी कम्पनीहरूको संस्थापक सेयर सूचीकृत हुन सकेका हुन्। यसमा जलविद्युत् क्षेत्रका मात्रै करिब २४ आयोजनाका करिब १ अर्ब ८० करोड कित्ता संस्थापक सेयर सूचीकृतको पर्खाइमा छन्। आईजीन विवादले ...
। नेपाल र श्रीलंकाबीच क्रस–बोर्डर मोबाइल भुक्तानी सेवा सुरु भएको छ । अन्तरदेशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल र सुरक्षित गर्ने उद्देश्यले श्रीलंकाको लंकापे र नेपालको नेपाल क्लियरिङ हाउसले क्रस–बोर्डर क्यूआर भुक्तानीको थालनी गरेका हुन् । श्रीलंकाको कोलाम्बोमा आयोजित एक विशेष कार्यक्रममा क्रस–बोर्डर भुक्तानी सुरुवातको घोषणा गरिएको छ। उक्त व्यवस्थापछि श्रीलंका भ्रमण गर्ने नेपाली यात्रुले कनेक्ट ...
। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम मार्फत स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न महत्त्वाकांक्षी घोषणाहरू गरेको छ । व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्मका सबै काम ३० दिनभित्र सम्पन्न गर्ने ‘लगानी एक्सप्रेस’ लागु गर्ने, विदेशी लगानीमा ‘स्वचालित मार्ग’ विस्तार गर्ने र ठूला लगानीकर्तालाई ‘नेपाल लगानी भिसा’ उपलब्ध गराउने सरकारको घोषणा छ । मुलुकको अर्थतन्त्रलाई गति ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीतिमा र लगानी प्रवद्र्धनमा सरकारले विशेष ध्यान दिएको बताएका छन् । सिंहदरवारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री वाग्लले मुलुकका अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीतिमा र लगानी प्रवद्र्धनमा सरकारले विशेष ध्यान दिएको बताएका हुन् । केहि बर्षमा नेपालीको प्रतिव्यक्ति आय ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिले बजेट तयारीको काम भइरहेका बेला सांसदहरुको अनौपचारिक रुपमा भेटघाट बाक्लो भइरहेको बताएका छन् । संघीय संसद अन्तर्गतको आज बसेको अर्थ समितिको वैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले अहिले बजेट तयारीको काम भइरहेको हुँदा पनि धेरै सांसदहरुले नीतिगतभन्दा पनि बजेटकै विषयलाई लिएर आइरहेको बताएका छन् । उनले सांसदहरुले बजेटको विषयलाई चासो दिएर ...