। गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागू औषध नियन्त्रण व्युरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागू औषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौतिका रुपमा देखिएको बताए ।
उनले भने, ‘लागू औषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति गर्छ । त्यसैले हामीले एक वर्षमा लागू औषधविरुद्धको महाअभियान लागू गरेका थियौं । त्यो अभियान सार्थक भएको छ ।’
विगतका वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागू औषध नियन्त्रणमा प्रगति भएको गृहमन्त्री लेखकले दाबी गरे ।
‘खास गरेर युवाहरुमा यसको लत देखिएको छ । देशको भविष्य जोडिएको युवा शक्ति लागू औषधमा फसेको देखिएको छ’, उनले भने, ‘लागू औषधविरुद्धको महाअभियानले परिणाम ल्याएको छ । लागू औषधको अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन । लागू औषधविरुद्ध अभियान चलाउन आवश्यक छ । यो प्रहरीको मात्र होइन । सबै मानिसको जिम्मेवारी हो ।’
गृहमन्त्रीले लागू औषध व्युरोलाई विभागका रुपमा विकास गर्नका लागि तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापालाई निर्देशन दिए ।