— एक वर्षअघि बाढीले भत्काएको बीपी राजमार्ग बनाउन जापानसँग सरकारले २.८ अर्ब येन(२ अर्ब ६१ करोड नेपाली रुपैयाँ) अनुदान सहायता लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीले भत्काएको बीपी राजमार्गको सिन्धुली खण्ड बनाउनका लागि जापानसँग अनुदान सहायता लिने निर्णय गरेको हो ।
२०८१ असोजमा आएको बाढीले क्षति गरेको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढाइसकिएको छ । भकुण्डेबेंसीदेखि नेपालथोकसम्म बाढीले क्षति गरेको ३०.५ किमिमा दुई लेन सडक निर्माण गर्न लागिएको हो । अहिले काभ्रेतर्फ दुई र सिन्धुलीतर्फ एकसहित तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ ।
दुवै ठेक्काको सम्झौता गत असारमा भएको र सम्झौता भएको मितिले दुई वर्षभित्र काम सकिसक्नुपर्ने सडक विभागले जनाएको छ । यही राजमार्गको ५ किमि खण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले काम गर्ने भनेर विभागले यसबाहेकको खण्डमा मात्र ठेक्का आह्वान गरेको थियो ।
पछि जाइकाले पिप्लेदेखि बर्खेखोलासम्म ३.२ किमि सडक बनाउन तयार भएको हो, जुन खण्डको अहिले जाइकामार्फत फाइनल सर्भेको काम भइरहेको छ । उक्त खण्ड जापान सरकारको अनुदानमा बन्न लागेको हो ।