: अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले फुटबलको माध्यमबाट बालबालिकाको क्षमता अभिवृद्धि गर्न नेपालमा ‘फुटबल फर स्कुल’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
युनिसेफसँगको सहकार्यमा सञ्चालन हुने यो कार्यक्रमको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका हुन्। फिफाका डेलिगेसनसहित नेपालले दशरथ रंगशालामा यो कार्यक्रमको उद्घाटन गरेको हो। विशेषतः यो कार्यक्रम ४ देखि १४ वर्षसम्मका विद्यालयका छात्रछात्रालाई लक्षित कार्यक्रम हो। फिफाले पहिलो पटक आफ्नो २ सय ११ वटा सदस्य राष्ट्रमा यो कार्यक्रम लागू गर्न लागेको हो। फिफाका १ सय ३९ भन्दा बढी राष्ट्रले यो कार्यक्रमलाई पहिलो पटकमै खुलेर स्वागत गरेका छन्।
फिफाका अनुसार यसको अवधारणा सन् २०१९ मा लेबनानमा सुरु गरिएको थियो। सन् २०२१ देखि २०२३ सम्म चल्ने आकलन गरिएको यो कार्यक्रम २०२५ मा नेपालमा पनि प्रवेश गर्न सफल भएको हो।
नेपाल सरकारले युवा तथा खेलकुद मन्त्रालय, शिक्षा मन्त्रालयलाई समेत सहभागी गराएर अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा यो अभियान सञ्चालन गर्न लागेको हो। फिफाले दक्षिण एसियाली क्षेत्रमा यसअघि भारतमा यो कार्यक्रम लागू गरेको थियो।
यो कार्यक्रमबाट नेपालका ६ लाखभन्दा बढी विद्यार्थी र ५० हजारभन्दा बढी शिक्षक र प्रशिक्षक लाभान्वित हुने अपेक्ष गरिएको छ।
नेपालका ६८ जिल्लाबाट १,०७२ विद्यालयले हालसम्म यो कार्यक्रमका लागि स्वीकृति लिइसकेका छन्। बाँकी ९ जिल्लाबाट भने एउटा पनि विद्यालयले यस कार्यक्रमका लागि दर्ता नगराएको एन्फाले जनाएको छ। जसमा तेह्रथुम, पर्वत, म्याग्दी, प्युठान, अर्घखाँची, दैलेख, डोटी, दार्चुला र बैतडी छन्। उनीहरूलाई पनि यस कार्यक्रममा सहभागी गराउने प्रयास जारी रहेको एन्फाले जानकारी दिएको छ। यस कार्यक्रममार्फत विद्यालयको पाठ्यक्रमसँगै खेल समावेश गरी विद्यार्थीमा जीवन उपयोगी सीप विकास गर्ने र ग्रासरुट फुटबलको विकासमा टेवा पुग्ने लक्ष्य राखिएको एन्फाले जनाएको छ।
छनौट भएका विद्यालयहरू
देशभरिका विद्यालयलाई सहभागिता गराउन एन्फाले आफ्नो वेबसाइटमा फर्मसहित मापदण्ड खुलाएको थियो। यो कार्यक्रममा सहभागी हुन विद्यालयसँग अनिवार्य रूपमा शारीरिक शिक्षा सिकाउने एक जना प्रशिक्षक हुनुपर्ने, फुटबल तथा फुटसलको एउटा मैदान हुनुपर्ने मापदण्ड बनाइएको छ। यी मापदण्ड पूरा गरेका विद्यालयले मात्रै यो कार्यक्रममा सहभागी हुन पाउनेछन्।
यो कार्यक्रमले विद्यालय स्तरका बालबालिकालाई व्यक्तिगत क्षमता अभिवृद्धिमा सहयोग पुग्ने प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास लिएका छन्। उनले अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा नेपालले भाग लिन पाउनु गर्वको कुरा रहेको बताए। ‘विश्वस्तरीय कार्यक्रममा नेपालले पनि फुटबलको माध्यमबाट समावेशीता जनाउन पाउनु गर्वको कुरा हो,’ प्रधानमन्त्री ओलीले भने।
त्यस्तै एन्फाका महासचिव किरण राईले यस कार्यक्रममार्फत नेपालका बालबालिकालाई क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताए। अन्नपूर्ण पोस्ट्सँग उनले भने, ‘यो कार्यक्रमले फुटबल खेलाडी उत्पादनमा सहयोग पुर्याउनुको साथै फिफाको उद्देश्यजस्तै बालबालिकाको व्यक्तित्व विकासमा पनि सहयोग पुर्याउने छ।’null
नेपालमा यो कार्यक्रम किन ?
फुटबलको सर्वोच्च निकाय फिफाले युनेस्कोसँगको सहकार्यमा विश्वका ७० करोड बालबालिकालाई यस कार्यक्रममा जोड्ने उद्देश्य लिएको छ। उनीहरूलाई फुटबलको माध्यमबाट क्षमता अभिवृद्धि गर्ने प्रमुख लक्ष्य राखेर कार्यक्रमको सुरुवात गरिएको फिफाले जनाएको छ। हुर्कँदै गरेका बालबालिकालाई भविष्यमा शिक्षासहित क्षमता अभिवृद्धि गराउने प्रमुख लक्ष्य रहेको फिफाले आफ्नो वेवसाइटमा उल्लेख गरेको छ।
यो कार्यक्रम नेपालका लागि निकै आवश्यक र महत्वपूर्ण कार्यक्रम हो। जसको माध्यमबाट बालबालिकाले आफूभित्र भएको प्रतिभा प्रस्फुटनसहित खुलेर अगाडि आउने आत्मविश्वास वृद्धि गर्ने अवसर प्राप्त गर्नेछन्। नेपालको लागि यो कार्यक्रमले गाउँगाउँमा फुटबल विकासमा पनि सहयोग पुग्ने एन्फाका महासचिव किरण राईले बताए। ‘यो कार्यक्रम बालबालिकाको क्षमता अभिवृद्धिको लागि हो। यसका साथै यो कार्यक्रमले नेपालको दूरदराजमा फुटबल विकासलाई पनि टेवा पुर्याउँछ,’ उनले भने।
एन्फाले यो कार्यक्रमका लागि ४५ जना जिल्लाका प्रशिक्षकहरूलाई प्रशिक्षण दिइसकेको छ। यिनै प्रशिक्षकहरूले जिल्लामा अवस्थित विद्यालयका खेलकुद शिक्षकलाई प्रशिक्षण दिनेछन्। जिल्लाका प्रशिक्षकहरूलाई एन्फाको सहयोगमा फिफाका डेलिगेटले प्रशिक्षण
दिएका थिए।
कार्यक्रमको लक्ष्य र उद्देश्यसहित जिल्लाका प्रशिक्षकहरूले विद्यालयस्तरका खेलकुद शिक्षकलाई प्रशिक्षण दिनेछन्। यसले नेपालका बालबालिकालाई मात्रै नभइ विद्यालयस्तरमा रहेका शारीरिक शिक्षाका शिक्षकले समेत फुटबललाई बुझ्ने मौका पाउनेछन्। यो कार्यक्रमले विद्यालय स्तरमा पढ्ने विद्यार्थीलाई बिना कुनै भेद्भाव एकै ठाउँमा ल्याउने फिफाको उद्देश्य हो। सोही अवधारणालाई यो कार्यक्रमले नेपालमा पनि काम गर्ने प्रधानमन्त्री ओलीले बताए। ‘भविष्यको महान खेलाडीहरू हामीले उत्पादन गर्ने लक्ष्य लिएका छौं। जसलाई यो प्रयासले थप सहयोग गर्नेछ,’ उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले भने।
एन्फालाई फिफाको सहयोग
यस कार्यक्रमका लागि फिफाले एन्फालाई अनुदानमा केही रकम सहयोग गर्ने भएको छ। एन्फाका महासचिव राईका अनुसार फिफाले यस कार्यक्रमका लागि ५० हजार अमेरिकी डलर बराबरको सहयोग गर्ने छ। उक्त बजेटलाई आवश्यकताअनुसार विद्यालयमा वितरण गरिने उनको भनाइ छ। ‘विद्यालयस्तरमा शिक्षकको प्रशिक्षण र खेलकुद सामग्रीलगायतमा एन्फाले सहयोग गर्छ,’ उनले भने।
नेपालका ७७ वटै जिल्लामा यो कार्यक्रम समावेश गर्ने प्रयास भइरहेको एन्फा महासचिव राईले बताए। ‘हालसम्म ६८ जिल्लाका १०७२ विद्यालयमा यो कार्यक्रम लागू हुने निश्चित भइसकेको छ। छुटेका ९ जिल्लालाई पनि समावेश गराउने प्रयास गर्दै छौं,’ अन्नपूर्णसँग उनले भने।