— नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अहिले नेपालको मुख्य दुस्मन राजतन्त्र नभएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालमा सामन्ती निरङ्कुशतन्त्र र राजतन्त्र मुख्य दुस्मन नभएको स्पष्ट पारे । उनले यदाकदा उठ्न खोजे पनि ती तन्त्रहरू अब मुख्य चुनौती नबनेको उल्लेख गरे ।
अध्यक्ष दाहालले भने, 'नेपालमा अहिले दलाल पुँजीपतिको समूह, बिचौलिया र केही मुठीभर व्यक्तिहरूले नेपाल राज्यलाई विध्वंसतर्फ डोऱ्याइरहेका छन्। नेपालको अर्थतन्त्र र विकास प्रक्रिया केही थोरै शक्तिकेन्द्रमा सीमित भएको छ। समृद्धिको यात्रामा नोकर शाही पुँजीवाद नै मुख्य बाधक बनेको छ।'
उनले हालको अवस्था दयनीय रहेको टिप्पणी गर्दै संघीय निजामती विधेयकमाथि भएको चलखेल र छेडखानीले सम्पूर्ण सांसदहरू अपमानित हुने अवस्था सिर्जना भएको बताए ।
'अदालत, ब्यूरोक्रेसी, भ्रष्टाचार – सर्वत्र विकृति देखिन्छ। अहिले नेपालमा सामन्ती निरङ्कुशतन्त्र र राजतन्त्र मुख्य दुस्मन होइन। त्यो उठ्न खोजे पनि उठ्नेवाला छैन,' अध्यक्ष दाहालको भनाइ थियो।
अध्यक्ष दाहालले भ्रष्टाचार, दलाल पुँजीवाद र नोकर शाही पुँजीवादविरुद्ध सबै एक हुने संकल्प गर्न आवश्यक रहेको पनि बताए ।