: नेकपा एमाले नेतृ विद्यादेवी भण्डारीले राजनीतिमा फर्किने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन गरिएको बताएकी छन्। एमालेले पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो संवैधानिक अधिकारलाई संकुचन र नियन्त्रण हुनेगरी गरिएको अपरिपक्व निर्णयले आफूलाई दुखी तुल्याएको बताएकी हुन्।
उनले भनिन्,‘यसप्रकारको निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउँछु। आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा प्रभावित तुल्याए पनि वास्तविकतालाई सधैँ छोप्न सकिँदैन।’
नेतृ भण्डारीले आफूलाई पदको कुनै लालसा नभएको बताइन्। उनले आफू देशकै सर्वोच्च पदमा पुगिसकेकाले अब पार्टीको सदस्य भएर जनताको सेवा गर्ने बताइन्। आफ्नो उद्देश्य सदस्य बनेर पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउनु रहेको उनले बताइन्।
‘अध्यक्षसँग पछिल्लो भेटमा आफ्नो सदस्यता नवीकरण र सक्रिय राजनीतिका विषयमा छलफल भएको थियो। तर पार्टीको निर्णय जारी गरेको विज्ञप्तिबाट मैले मेरो सदस्यता थाहा पाएँ। मेरो सदस्यता नवीकरण भएकाले विवादित बनाउने विषय नै होइन,’उनले भनिन्,‘म राजनीतिक व्यक्ति भएकाले राष्ट्रपति भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेको थिएँ। यसलाई आश्चर्य मान्ने विषय पनि होइन। बरु राजनीति गरेर पार्टीको नेता भएरै नै राष्ट्रपति भएको हुँ।’
नेतृ भण्डारीले संविधानको विभिन्न धारा कहीँ कतैबाट पनि आफू दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था नरहेको बताइन्। उनले जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्तलाई प्रतिकूल हुनेगरी आफूलाई पार्टीको सदस्य बन्न वञ्चित गर्नुपर्ने कुनै कारण नरहेको बताइन्।