— जमिनमुनिबाट कच्चा तेलको लेदो (क्रुड) तान्ने मेसिन (डगी पम्प) निरन्तर चलिरहेको छ । ढिकीले धान कुटेझैं मेसिनले तेल तान्दै प्रशोधनका लागि पाइपमार्फत ट्यांकीतिर पठाइरहन्छ । मेसिन सुरुमा ‘स्टार्ट’ गर्न मात्र बिजुली आवश्यक पर्छ, त्यसपछि आफैं चलिरहन्छ । मेसिनले एक पटक जमिनमुनिबाट तेल तानेर पाइपमा फाल्न १० सेकेन्ड लाग्छ । यही गतिमा मेसिन २४ घण्टै चलिरहन्छ ।
यो दृश्य बहराइनको राजधानी मन्माबाट करिब ३० किलोमिटर टाढा रहेका जेवेल, दुखानको हो । जहाँ पहिलो पटक सन् १९३१ मा तेल उत्खनन थालिएको थियो । उतिखेर प्रयोग गरिएको परम्परागत प्रविधि अहिलेसम्म पनि प्रयोगमा छ । साथै, बहराइनले तेल प्रशोधनमा आधुनिक प्रविधि पनि प्रयोग गर्ने गरेको छ । यहाँ मेसिन मात्र २४ घण्टा चल्दैन, श्रमिक पनि २४ घण्टै खटिन्छन् ।
गत १९ असारको बिहान ४ बजे सर्लाही, ईश्वरपुर–१ का २७ वर्षीय लालसिंह मोक्तानसहितको टोली ‘साइट’ मा पुगिसकेको थियो । बहराइनमा बिहान ११ः३० देखि ३ बजेसम्म सिधै घाम पर्ने ठाउँमा काम गर्न नपाइने नियम छ । जुनदेखि सेप्टेम्बरसम्म त श्रमिकलाई दिउँसो काममा लगाउनै पाइँदैन । त्यतिबेला ड्युटीको समय फेरिएको हुन्छ । त्यसैले पनि श्रमिकहरू बिहान ४ बजे नै साइट पुग्नुपर्छ ।
लालसिंह साढे तीन वर्षदेखि बहराइन पेट्रोलियम कम्पनी (वाप्को) मा ठूलो संरचनाहरूमा पाइपहरू जोड्ने स्काफोल्डिङको काम गरिरहेका छन् । ‘म अफिस ब्वायमा आएको थिएँ । त्यसमा मन लागेन । त्यसपछि स्काफोल्डिङको तालिम लिएँ । योसम्बन्धी सबै जान्नुपर्ने, बुझ्नुपर्ने, सेफ्टीको प्रोटोकल परीक्षा दिएपछि स्काफोल्डिङको लाइसेन्स पाएँ,’ उनले भने, ‘त्यसपछि मात्रै तेल तथा ग्यास क्षेत्रभित्रको स्काफोल्डिङमा काम गर्न पाइन्छ ।’
स्काफोल्डिङलाई कडा कामका रूपमा लिन्छ । बिहान ४ बजे साइटमा पुग्न तीन बजे नै उठेर तयार हुनुपर्ने हुन्छ । काम सुरु हुनुअघि मिटिङ हुन्छ । कसले कहाँ के गर्ने भनेर कामको बाँडफाँट हुन्छ । सुपरभाइजरले त्यस दिन लालसिंहको टोलीलाई ‘कन्फाइन्ड स्पेस’ (ट्यांकीभित्र) स्काफोल्डिङ खोल्ने जिम्मा दिए ।
ट्यांकीभित्रको कामलाई निकै जोखिमपूर्ण मानिन्छ । खतराको हिसाबले यस्तो कामलाई ‘रिस्क टु’ मा राखिन्छ । त्यसमाथि अत्यधिक ताप ‘हिट स्ट्रेस’ त छँदै छ ।
‘कन्फाइन्ड स्पेस’ प्रवेश गर्न अनुमति अनिवार्य मानिन्छ । सुरक्षा मापदण्डहरू पूरा गरेपछि मात्र प्रवेश अनुमति दिइन्छ । ‘कन्फाइन्ड स्पेसभित्र चार वटै भित्ताहरू बन्द हुन्छन् । मान्छे छिर्ने सानो प्वाल हुन्छ । ढकनी लगाएर बन्द इनारभित्र पसेजस्तै हुन्छ । कतिखेर कहाँबाट विषालु ग्यास (एचटुएस) चुहिन्छ पत्तो हुँदैन,’ उनले भने, ‘त्यहाँभित्र हावाको मात्रा न्यून हुन्छ, निसास्सिएको महसुस हुन्छ । गर्मी अत्यधिक हुँदा हिट स्ट्रेसका कारण बेहोस हुने, हातखुट्टा बटारिनेजस्ता समस्या देखिन्छन् । भित्रै मरिन्छ कि भन्ने डर लाग्छ ।’
ट्यांकीभित्र जानुअघि लालसिंहसहितका श्रमिकले उपकरण बोक्छन् । उद्धारका लागि स्ट्रेचर, हावामा कुन ग्यास मिसिएको छ भनेर थाहा पाउन मल्टीग्यास डिटेक्टर, अक्सिजनका लागि ‘सेल्फ कन्टेन्ड ब्रिथिङ अपरेटस’ (स्काबा), दुई वटा अक्सिजन सिलिन्डर, सिट्ठी, हार्नेस, ट्राइपड आदिसहित तयारी राखिएको थियो । ‘कोही भित्र बेहोस भइहाल्यो भने त्यत्तिकै जान मिलेन । पहिला आफ्नै सुरक्षाको सुनिश्चित गर्नुपर्छ । त्यसका लागि दुई वटा अक्सिजन सिलिन्डर अनिवार्य बोक्नुपर्छ,’ उनले भने, ‘आपत् परेको जानकारी दिन सिट्ठी, खस्नबाट जोगिन हार्नेस र मान्छेलाई तान्न ट्राइपड बोक्छौं ।’
लालसिंहका अनुसार यो ग्यास र तापक्रमसँगको लडाइँ हो । कार्यक्षेत्रअनुसारको जोखिम फरक–फरक हुने उनले बताए । बिहान ६ बजेसम्म उनीहरूले तयारी सकेका थिए, तर अनुमति लिएका थिएनन् । अनुमतिबिना भित्र छिर्न पाइँदैन ।
६ बजेपछि तापक्रम बिस्तारै उकालो लाग्न थाल्यो । ट्यांकीभित्र जाने अनुमति आउन ढिलो भएपछि सुपरभाइजरले टोलीलाई तेल जम्मा हुने ट्यांकीमा बनाइएको स्काफोल्डिङ खोल्न लगाए । त्यो काममा ११ जना नेपाली संलग्न थिए । तीन जनाले खोल्न थाले, अरूले पाइप समात्ने, गाडीमा हाल्ने गरे । स्काफोल्डिङ खोल्दा ७ः३० बजेको थियो ।
त्यसको केहीबेरमा वर्क परमिट आयो । तर, घाम चर्किसकेको थियो । पसिनाले मोजासम्म भिज्ने अवस्था थियो । ‘कन्फाइन्ड स्पेस’का लागि लालसिंहको नेतृत्वमा विरहम लिम्बू, गुञ्जामान तामाङ, कृष्णबहादुर तामाङ, विकास मोक्तान, प्रकाश बोहरा, मुकेश झा, शिव खुलाल र गाडी चालक ऋषिराज पन्त तोकिए । सबैभन्दा खतरा (रिस्क टु) मानिएको ठाउँमा उनीहरू पुगे । लालसिंह ‘जब वाचर’ को भूमिकामा थिए । संगीत कुमार ‘परमिट रिसिभर’ को भूमिकामा थिए ।
उनीहरूले ‘कन्फाइन्ड स्पेस’ मा ग्यास रहे–नरहेको परीक्षण गरे । अक्सिजन २०.७ पीपीए, कार्बनडाइअक्साइड शून्य, हाइड्रोजन सल्फाइड (एचटुएस) शून्य देखियो । अर्को काम प्रज्ज्वलनशील ग्यासको न्यूनतम लिमिट (एलइएल) ग्यासको मापन गर्नु थियो । परीक्षण गर्दा त्यो जोखिमभन्दा तलै थियो । फलामको काममा सानो झिल्को निस्किँदा समेत आगो लाग्न सक्ने भएकाले एलईएलको स्तर मापन गर्नु अनिवार्य मानिन्छ । एचटुएस ग्यासले मान्छे मृत्यु भएका घटना पर्याप्त छन् ।
ग्यास डिटेक्टरलाई डोरीको मद्दतले भित्र छिराएर परीक्षण गर्दा एसटुएस र कार्बनडाइअक्साइड शून्य देखियो । दुवै ग्यासको चुहावट नदेखिएपछि को भित्र छिर्ने र कोही बाहिर बस्ने तय गरियो । विरहम लिम्बू, गुञ्जामान तामाङ, कृष्णबहादुर तामाङ र विकास मोक्तान भित्र छिरे । उद्धारको तयारीमा प्रकाश बोहोरा, मुकेश झा, शिव खुलाल बाहिर तयार रहे । ड्राइभर पन्त गाडीमै कुरिरहे ।
कन्फाइन्ड स्पेसभित्र बनाइएको स्काफोल्डिङको संरचना खोल्नु थियो । एक्कासि भुइँमा नबजारियोस् भनेर हार्नेस लगाएर पालैपालो भित्र जान थाले । लालसिंह कमजोर भएको महसुस भएको थाहा पाउनेबित्तिकै तुरुन्तै खबर गर्नु भन्दै साथीहरूलाई सम्झाइरहेका थिए । भित्र स्काफोल्डिङ खोल्ने क्रम सुरु हुँदै थियो, वाप्को कम्पनीका सुपरभाइजर आएर ‘वर्क परमिट’ मागे । लालसिंहले अनुमति देखाए ।
तर, सुपरभाइजरले काम गर्ने अनुमति दिएनन् । त्यहाँभित्र भल्भ फेर्न बाँकी रहेछ । तीन इन्चको भल्भ लगाउनुपर्नेमा ५ इन्चको लगाइएको रहेछ । जसका कारण तेल तान्न प्रेसर नपुगेको भन्दै सुपरभाइजर आइपुगेका थिए । भित्र काम गरिरहेका चार जनालाई नै बाहिर बोलाए । भल्भ नफेरेसम्म लालसिंहहरूको काम रोकियो ।त्यतिबेलासम्म बिहानको ८ बजेर ३० मिनेट भइसकेको थियो ।
उनीहरू नजिकै घाम छल्न बनाइएको छहारीमा गएर आराम गर्न थाले । यो ठाउँ श्रमिकहरूलाई सुस्ताउन पनि बनाइएको हो । त्यहाँ २५–२५ लिटरको पानीको जार राखिएको थियो । तापक्रम बढ्दै गएपछि हरेक १५–१५ मिनेटमा एक गिलास पिउनुपर्ने नियम छ । तर, यसलाई अधिकांशले पालना गरेको देखिँदैन । बिहानै गर्मीसँगै तातो हावा त्यत्तिकै बहिरहेको थियो ।
खुला मरुभूमिमा चलेको हावामा बालुवाका कणहरू पनि मिसिन्छन् । एकातिर तातो घाम, अर्कोतिर धूलो मिसिएको हावाले आरामसँग बस्ने अवस्था थिएन । खाना ल्याएकाहरू खाना खान गाडीभित्र गए । अधिकांशले रोटी र तरकारी ल्याएका थिए ।
अर्को टोलीले एक घण्टाभित्र भल्भ फेरिदियो । त्यसपछि लालसिंहहरूको पालो आयो । भित्र छिर्ने बेलामा फेरि ग्यासको परीक्षण भयो । सबै स्थिति सामान्य देखियो । त्यसपछि श्रमिकहरू भित्र छिर्न थाले । लालसिंह ट्यांकीबाट भित्र छिर्ने प्वालमा बसेर तल हेरिरहेका थिए । छिनछिनमा वाकीटकीबाट सोधपुछ गरिरहेका थिए । खोल्दै गरेको स्काफोल्डिङलाई बाहिर निकालिरहेका थिए । त्यहाँ पानी नपिउन भनिरहेका थिए । ‘भित्र पानी पिउन रिस्क हुन्छ । एचटुएस पानीसँग मिसिएर आएको हुन्छ,’ उनले भने ।
बाहिरभन्दा भित्र तीन गुणा गर्मी हुन्थ्यो । अत्यधिक पसिना बगेर कतिखेर ढल्छ भन्ने जोखिम उच्च हुन्थ्यो । १० बजेतिर फेरि अर्को टिम आइपुग्यो । उनीहरूले पाइपमा फर्म हाल्न छुटेछ भन्दै खोलिसकेको स्काफोल्डिङ फेरि गाँसिदिन भने । ‘हामी सक्दैनौं । बिहानदेखि हाम्रो काममा बाधा पुगिरहेको छ । सुपरभाइजरलाई भन्नुस्,’ लालसिंहले टोलीलाई भने ।
टोलीले सुपरभाइजरलाई फोन गर्दै अनुरोध गर्यो । सुपरभाइजरको निर्देशनपछि लालसिंहको टोलीले फेरि खोलिसकेको स्काफोल्डिङ जोड्न थाले । त्यसपछि फेरि बाहिर आएर आराम गर्न थाले । अर्को टोलीले १५ मिनेटमै फर्म हालेर निस्किए । त्यसपछि फेरि चारै जना भित्र छिरे । उनीहरूले सतर्कतापूर्वक स्काफोल्डिङ खोल्दै गए । सबै खोल्न एक घण्टा जति लाग्यो । त्यसपछि सबै फलामका डन्डी निकालेर बाहिर निस्किए । ९ जना नै मिलेर गाडीमा लोड गरे । सामान छोडिएको छ कि छैन भनेर जाँच गरे ।
‘कन्फाइन्ड स्पेस’ को ढकनी लाग्दा १२ बजिसकेको थियो । उनीहरू त्यसपछि क्याम्पतिर फर्के । ‘जुनदेखि सेप्टेम्बर महिनासम्म ड्युटीको बीचमा हामीलाई ब्रेक हुँदैन । खानाका लागि छुट्टै समय छुट्टाइएको हुँदैन । फुर्सद मिल्ने बेला खाने हो,’ लालसिंहले भने, ‘अब हामी क्याम्पमै गएर खाना पकाएर खाने हो ।’
लालसिंह र उनका साथीहरू हरेक दिन यस्तो जोखिम मोलेर ड्युटी गरिरहेका छन् । वाप्को आयोजनाभित्र लालसिंहहरूले जस्तै जोखिम मोलेर स्काफोल्डिङमा काम गर्ने नेपाली श्रमिक तीन हजारभन्दा बढी छन् । ‘कहिलेकाहीँ म किन जीवनसँग खेलिरहेको छु भन्ने पनि लाग्छ । ज्यानको बाजी लगाएर कमाइरहेको छु,’ लालसिंहले भने, ‘यो सबै परिवारका लागि हो ।
गाउँमा बोल्न नसक्ने बाबुआमा हुनुहुन्छ । हामी दुई दाजुभाइ भाग्यमानी छौं । हाम्रो बोली फुटेको छ । मेरो यही कामले बाबुआमाको दैनिक गुजारा चलिरहेको छ । यसमै म खुसी छु ।’