: रसुवागढीमा बाढीले क्षति गरेका संरचनाहरूको चीनले पुनर्निर्माण गर्ने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ताका क्रममा चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङले रसुवामा बाढीले पुर्याएको भौतिक संरचनाहरूको पुनर्निर्माणमा चीनले सहयोग गर्ने बताएका हुन्।
भेटवार्तामा सिड्काका अध्यक्ष सियाओदोङले भौतिक संरचनाहरूको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिए।
सिड्काका अध्यक्ष सियाओदोङले बाढीपछि नेपाल सरकारले उद्धार र बेपत्ता भाकाहरूको खोजीमा देखाएको सक्रियता र सहयोगप्रति धन्यवाद व्यक्त गरे।
अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरूको पुनर्निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनियाँ पक्षलाई धन्यवाद दिए ।
‘आयात-निर्यातका लागि मात्र होइन, राजस्वका हिसाबले पनि रसुवागढी नाका महत्वपूर्ण छ। त्यसैले पुनर्निर्माणलाई छिटो अघि बढाउँछौं’, अर्थमन्त्री पौडेलले भने।