: अविरल वर्षाको कारण दोलखाको कालिञ्चोक खोलामा आएको बाढीले सुनखानी–साङ्बा सडकमा क्षति पुर्याएपछि यातायात ठप्प भएको छ।
शनिबार राति परेको वर्षाले उक्त सडकखण्डअन्तर्गत कालिञ्चोक गाउँपालिका–६ मा क्षति पुर्याएपछि पाँच वटा सडकमा आवतजावत बन्द भएका छन्।
कालिञ्चोक खोलामा आएको बाढीले विगु–८ र कालिञ्चोक–२ जोड्ने पैदलमार्गको ढलानको पुल बगाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। सँगै सोही खोलाको बाढीले ह्युमपाइप बगाउँदा सिंगटी–बाबरे सडकखण्डमा यातायात अवरुद्ध भएको छ।
खोलामा आएको बाढीले विगु गाउँपालिका-८ का मदन थामीको माछा फर्मको पर्खाल भत्किँदा ३ सय वटा नैनी माछा बगाएको र ३० भन्दा बढी परिवारका खेतसमेत बगाएको प्रहरीले जनाएको छ।
पहिरोले माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको बाँधस्थल पुग्ने सिंगटी–लामाबगर सडकखण्डअन्तर्गत विगु गाउँपालिका–१ सोल्टिमोडमा क्षति गरेपछि सो सडकखण्डमा पनि यातायात अवरुद्ध भएको छ।