मुख्य समाचार
३१ भदौदेखि भारत भ्रमणमा
३१ भदौदेखि भारत भ्रमणमा

— सरकारको नेतृत्व गरेको १४ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ३१ भदौदेखि भारत भ्रमणमा जान लागेका हुन् । भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ ।


प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार भारतबाट ओलीलाई भ्रमणको निम्तो आइसकेको र भ्रमणको मितिमा पनि सहमति भइसकेको छ ।

परराष्ट्र प्रवक्ता लोकबहादुर क्षेत्रीले भ्रमण निश्चित भएको र मिति पछि घोषणा हुने जानकारी दिए । ‘भारतीय समकक्षीबाट निमन्त्रणा आएपछि तयारी तीव्र रूपमा भइरहेको छ,’ उनले भने, ‘द्विपक्षीय एजेन्डा, मिति र अन्य विषय अहिल्यै भन्न मिल्दैन । मन्त्रालयका तर्फबाट तयारी अन्तिम चरणमा छ ।’

पत्रकार विजयकुमार पाण्डेसँगको हालैको अन्तर्वार्तामा ओलीले आफू ‘छिट्टै’ भारत भ्रमण गर्ने र भारतीय प्रधानमन्त्री मोदी नोभेम्बरमा नेपाल आउने सम्भावना रहेको बताएका थिए । असार २०८१ मा ओली प्रधानमन्त्री बनेदेखि नै दिल्ली भ्रमणका लागि प्रयास हुँदै आएको थियो । तर, भारतीय पक्षबाट सकारात्मक जवाफ नआउँदा भ्रमण तय हुन सकेको थिएन ।

यसबीचमा ओली र मोदीबीच विभिन्न कार्यक्रममा भेट भइसकेको छ । ओलीले न्युयोर्क र बैंककमा मोदीलाई भेटेका थिए । गत वर्ष सेप्टेम्बरमा ओली न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा जानुअघि पनि नेपाली पक्षले उनको दिल्ली भ्रमणको प्रयास गरेको थियो ।

७९ औं संयुक्त राष्ट्रसंघको महासभामा साइडलाइनमा ओली र मोदीबीच भेटवार्ता भए पनि ओलीको दिल्ली भ्रमणका विषय परिणाममुखी हुन सकेन । नोभेम्बर २०१९ मा भारतले नेपालको कालापानी क्षेत्रलाई आफ्नो भूभागमा समेटेर नयाँ नक्सा जारी गरेपछि दुई छिमेकीबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो ।




भारतको उक्त कदमको जवाफमा नेपालले लिम्पियाधुरासम्मको भूभाग समेटेर नयाँ चुच्चे नक्सा मात्र जारी गरेन, त्यसलाई संविधानमा पनि समेट्दै सोहीअनुसार निसान छापसमेत परिमार्जन गरेको थियो । त्यतिबेला ओली नै प्रधानमन्त्री थिए ।

त्यसयता ओली र दिल्लीबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन । कूटनीतिक मामिलाका जानकारहरूका अनुसार गत वर्ष मंसिरमा ओलीको चीनको औपचारिक भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भए पछि दिल्ली थप चिढिएको थियो । तर, ओलीले भारतसँगको सम्बन्ध सुधारको प्रयासलाई भने जारी नै राखे ।

गत चैतमा बैंककमा बिमस्टेकको छैटौं शिखर सम्मेलनको साइडलाइनमा ओली र मोदीबीच भेट भएको थियो । उक्त भेटलाई नेपाली पक्षले न्युयोर्कमा भएको भेटभन्दा निकै सौहार्दपूर्ण रहेको दाबी गरेको थियो । उक्त भेटले पनि दिल्लीको ओलीप्रतिको आशंका र अविश्वास पूर्ण रूपमा भने हटाउन नसकेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीको भनाइ छ । ‘तर हामीले विभिन्न माध्यमबाट भारतीय पक्षसँग सम्पर्क स्थापित गरिरह्यौं र अन्ततः भ्रमण निश्चित भएको छ,’ उनले भने ।

प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार भारतले ओलीलाई दुईदिने भ्रमणको निम्तो दिएको छ । जसअनुसार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली ३१ भदौमा दिल्ली जानेछन् । भोलिपल्ट मोदीसँग द्विपक्षीय वार्ता हुने र केही सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम छ । संयोगले १ असोज (१७ सेप्टेम्बर) मोदीको जन्मदिनसमेत परेकाले भ्रमणबाट सकारात्मक नतिजा हासिल हुनेमा सरकारी अधिकारीहरू आशावादी छन् ।

भ्रमणअघि नेपाल र भारतबीच द्विपक्षीय संयन्त्रका केही महत्त्वपूर्ण बैठकहरू हुँदै छन् । मंगलबारदेखि नयाँदिल्लीमा गृह सचिवस्तरीय बैठक हुँदै छ । बैठकमा सुपुर्दगी सन्धि र पारस्परिक कानुनी सहायता लगायतका प्रमुख मुद्दाहरू छलफल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सत्तारुढ कांग्रेसका ६ जना पूर्वपदाधिकारी चाक्सबारीमा भेला भएका छन् । पूर्वमहामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा कांग्रेसका ६ जना पूर्वपदाधिकारी भेला भएका हुन् । सोमबार साढे ३ बजेदेखि जारी भेलामा उपप्रधानमन्त्री सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, डा. शशांक कोइराला र विमलेन्द्र निधी सहभागी छन् । यो बैठकमा कांग्रेसका वर्तमान प्रवक्ता प्रकाशशरण ...
— २८ मेगावाट क्षमताको अपर काबेली जलविद्युत् आयोजना सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ । १७ सय ७२ मिटर लामो सुरुङ मार्ग छिचोलिएको आयोजनाले जनाएको छ । यो ताप्लेजुङको सिरिजंघा र सिदिङ्वा गाउँपालिकामा पर्छ । इन्टेकदेखि हप्पुखोला छेउसम्मको ५ किलोमिटर क्षेत्रको मुख्य प्रभावित क्षेत्र भने सिरिजंघा-१ सिनाम, २ आम्बेगुदिन र ४ तेल्लोक रहेका छन् । यस्तै ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन्। सोमबार सिएनआइ (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भेट गर्दै प्रचण्ड यस्तो बताएका हुन्। भेटका क्रममा अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान ...
— एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा विवाद र विभाजनको प्रयास गर्नेबाट सचेत हुनुपर्ने बताएका छन् । पार्टी एकढिक्का रहेको बताउँदै उनले आन्तरिक एकतालाई अझै बलियो बनाउनुपर्ने आवश्यकता रहेको पनि बताए । पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासमा सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन नेता र कार्यकर्ताहरूलाई ...
: देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभास्थित कोशी राजमार्ग,पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ । यस्तै,नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको सहिद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरूपमा ...