: संसद्को पाँचौं दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा भाँडभैलो मच्चिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उच्चस्तरका तीनजना नेतालाई कारबाही गरेर निष्कासन गरेसँगै राप्रपाभित्रको आन्तरिक विवाद छताछुल्ल भएको हो ।
अध्यक्ष लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरी, पार्टी प्रवक्ता सगुन लावती र अनुशासन समितिका अध्यक्ष नवराज सुवेदीलाई पालैपालो कारबाही गरेर पदबाटै हटाएपछि राप्रपाको विवाद सतहमा आएको हो । एकढिक्का रहेको राप्रपा पार्टी अध्यक्षको स्वेच्छाचारी र एकलौटी प्रवृत्तिले नेताहरू दुई कित्तामा विभाजित भएका छन् । एक पक्षले अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गर्ने र अर्को पक्ष पार्टी अध्यक्षले तानाशाह लादेको आरोप लगाइरहेको छ । पार्टी अध्यक्षले गरेको कारबाहीको निर्णय लागू हुन नदिन कारबाहीमा परेका नेताहरूको समूहले आइतबार निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन् । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई उनीहरूले उजुरीपत्र बुझाएका हुन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी पार्टी अध्यक्ष लिङ्देनलले पार्टी विधानविपरीत नेताहरूलाई पदबाट निष्कासन गरेको विषयमा उजुरी आएको बताए । ‘राप्रपाका नेताहरूले पार्टीको विधानविपरीत पार्टी अध्यक्षले आफूहरूलाई पदबाट निष्कासन गरेको उजुरी लिएर आउनुभएको छ’, उनले भने, ‘हामीले उजुरी लिएका छौं । अब प्रक्रियाअनुसार उजुरीमाथि छानबिन गर्छौं ।’
अध्यक्ष लिङ्देनले शुक्रबार मात्रै पार्टीमा अनुशासनविपरीत कार्य गरेको ठहर उपाध्यक्ष गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले सञ्चारमाध्यमलाई जानकारी गराएका थिए । त्यसअघि अध्यक्ष लिङ्देनले प्रवक्ता लावती र सुवेदीलाई अनुशासनको कारबाही गरेका थिए । अध्यक्षको उक्त निर्णयलाई मान्यता नदिन राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, महामन्त्रीद्वय धवलशमशेर राणा र कुन्तीकुमारी शाहीलगायत निर्वाचन आयोग पुगेका थिए ।
कारबाहीमा परेर पदबाट निष्कासित भएका पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरी पार्टी अध्यक्षले पार्टीको विधानविपरीत पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई निलम्बन र पदमुक्त गरेकोमा आक्रोश व्यक्त गरेका छन् । ‘मलाई कारबाही गरेको कुरा सञ्चारमाध्यमहरूबाट थाहा पाएँ । उहाँ (अध्यक्ष)ले कारबाही गरेर ममाथि अन्याय गर्नुभएको छ । मेरो राजनीतिक जीवनमा यसले उतारचढाउ आउन सक्ने र मैले जीवनभरि पार्टीमा गरेको लगानीलाई उहाँले धुमिल गर्न खोज्नुभएको छ’, निर्वाचन आयोगमा राप्रपा नेता गिरीले मिडियाहरूसँग भने, ‘ममाथि अन्याय भयो । न्याय माग्न निर्वाचन आयोगमा निवेदन दिएको छु ।’
उनका अनुसार एकपछि अर्को गरिएका कारबाही विधानतह नभएका कारणले कारबाही फिर्ता हुनुपर्छ । ‘प्रक्रिया नमिलेका र कमी, कमजोरी भएको कुराहरूलाई उहाँ (अध्यक्ष)ले सुधार्नुपर्छ र पार्टीमा एकता कायम गर्नुपर्छ’, उनले भने ।पार्टीमा एकता र सिद्धान्त तह एकजुट भए मात्रै लक्ष्य प्राप्त गर्न सक्ने कुरामा अध्यक्ष गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
‘राजनीतिमा हामीले जीवनभरि गरेको लगानीलाई एउटै पत्रबाट पदमुक्त बनाउन मिल्दैन’, उनले जिक्किर गर्दै भनेका छन् । उनका अनुसार कुनै नेतामाथि अनुशासन उल्लंघन गरेको विषयमा कारबाही नै गर्ने हो भने केन्द्रीय समितिको बैठकमा लानुपर्छ । त्यहाँबाट अनुशासन समितिले छानबिन गराउनुपर्छ । आरोपीलाई सफाइको अवसर दिनुपर्छ । त्यसमा चित्त बुझेन भने फेरि त्यो विषय केन्द्रीय समिति वा कार्य सम्पादन समितिमा पठाउनुपर्छ । त्यहाँबाट निर्णय भइसकेपछि मात्रै कारबाही विषय कार्यान्वयन गर्ने काम अध्यक्षको हो ।
राप्रपा नेता गिरी थप्छन्, ‘उहाँ (अध्यक्ष)ले एकलौटी र स्वेच्छाचारी ढंगबाट कसैलाई कारबाही गर्न सक्नुहुन्न, यस कुरामा अन्याय भयो । उहाँ यसमा सच्चिनुहुन्छ भने विश्वास लिएको छु ।’ राप्रपा पार्टीमा देखिएको विवाद कसरी समाधान हुन्छ ? त्यो विषयमा पार्टीभित्र र बाहिर चासोको रूपमा हेरिएको छ । यता राप्रपाका पार्टी प्रवक्ता मोहन श्रेष्ठले पार्टी उपाध्यक्ष गिरी र लावतीले पार्टीको अनुशासनविपरीत कार्य गरेकोले कारबाही गरिएको स्पष्ट पारेका छन् । उनले अन्नपूर्णसँग भने, ‘पार्टीविरुद्ध सडक र निर्वाचन आयोगमा उपाध्यक्ष गिरी र प्रवक्ता लावती जानुभयो । त्यसैले पार्टी अध्यक्ष जुन विधानअनुसार पदमा मनोनीत गर्नुभएको थियो उहाँहरूलाई त्यहीअनुसार पदमुक्त गर्नु भएको हो ।’
पार्टीभित्रको विवाद पार्टीभित्रै मिलाउनुपर्नेमा त्यो नगरेर उहाँले पार्टीविरुद्ध षड्यन्त्र गर्दै आयोग र सडकमा जाने कुरा ठीक नभएको प्रवक्ता श्रेष्ठको दाबी छ । अनुशासन समितिका अध्यक्ष नवराज सुवेदीको हकमा उनी आफंै पदबाट राजीनामा गरेकाले रिक्त रहेको स्थानमा रोशन कार्कीलाई नियुक्त गरिएको बताए । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति संयोजक बनेका सुवेदीसँग त्यही बेलादेखि अध्यक्ष लिङ्देनको खटपट सुरुवात भएको थियो । राजावादीको नाममा २०८१ चैत १५ मा भएको हिंसात्मक आन्दोलनको समयमा सुवेदी संयुक्त जनआन्दोलन समिति संयोजक थिए ।