— धानको राजधानी मानिने मधेश प्रदेशमा साउन पहिलो हप्ता लाग्दासमेत उल्लेख्य रोपाइँ हुन सकेको छैन । मधेशमा आइतबारसम्म धान फल्ने आधा क्षेत्रमा पनि रोपाइँ भएको छैन ।
सात प्रदेशमध्ये सबैभन्दा काम रोपाइँ मधेशमा भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । तर साउन ४ सम्म १ लाख ७४ हजार ५ सय ८ हेक्टर अर्थात् ४६.८३ प्रतिशत मात्रै रोपाइँ भएको छ ।
गत वर्षको सोही अवधिमा झन्डै दोब्बरले रोपाइँ भएको केन्द्रको तथ्यांक छ । २०८१ असार साउन ६ गतेसम्म ८०.६ प्रतिशत रोपाइँ भएको थियो । मधेशमा धान रोपाइँ नहुनुको प्रमुख कारण सिँचाइ अभाव नै हो । नेपालमा मनसुनमा आधारित खेती प्रणाली हुन्छ । सिँचाइ अभावले समयमै रोपाइँ हुन नसकेको कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ । अब भने मधेशमा पानी पर्ने मौसमविद्हरूको भनाइ छ । मौसमविद् शान्ति कँडेलले मधेशमा केही दिन वर्षाको सम्भावना रहेको जनाइन् । त्यस्तै आइतबार राति भने भारी वर्षाको सम्भावना छ ।
मधेशपछि कोशी पनि कम रोपाइँ भएको प्रदेश हो । कोशीमा ६१.७९ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ । यस प्रदेशमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये १ लाख ७० हजार ७ सय ९० हेक्टर रोपाइँ भइसकेको छ । गत वर्षको साउन ६ गतेसम्म ८२.७ प्रतिशत रोपाइँ भएको थियो ।
केन्द्रका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिममा ९६.९९ प्रतिशत धान रोपाइँ भएको छ । यस प्रदेशमा १ लाख ७६ हजार १ सय ५१ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये १ लाख ७० हजार ८ सय ४३ हेक्टर रोपाइँ भइसकेको छ । गत साउन ६ सम्म यस प्रदेशमा ९६.३ प्रतिशत रोपाइँ भएको थियो ।
दोस्रोमा कर्णालीमा ८७.९३ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा ४० हजार ८ सय ८४ हेक्टरमा रोपाइँ हुन्छ । गत साउन ६ सम्म यस प्रदेशमा ९३ प्रतिशत रोपाइँ भएको थियो । पहाडतिर जेठ दोस्रो सातादेखि नै रोपाइँ सुरु भएको थियो । यस क्षेत्रमा उत्साहजनक रोपाइँ भएको छ । केन्द्रका अनुसार लुम्बिनीमा पनि ८७.९३ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा ३ लाख २ हजार ९ सय ३९ हेक्टरमा रोपाइँ हुन्छ ।
गण्डकी प्रदेशमा ७९.२८ प्रतिशत रोपाइँ भएको केन्द्रको तथ्यांक छ । गत वर्ष साउन ६ सम्म ८४.३ प्रतिशत मात्र रोपाइँ भएको थियो । गण्डकीमा ९४ हजार १ सय ८२ हेक्टरमा रोपाइँ हुन्छ । बागमतीमा पनि गत वर्षभन्दा बढी रोपाइँ भएको छ । साउन ४ सम्म ८७.१९ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा १ लाख २० हजार ५ सय ४५ हेक्टरमा रोपाइँ हुन्छ । गत वर्ष साउन ६ सम्म ८५.५ प्रतिशत रोपाइँ भएको थियो ।