: नवलपरासीको सुनवल नगरपालिकामा कार्यरत ८ जना करारका कर्मचारी हटाइएपछि मेयर र उपमेयरबीच विवाद सुरु भएको छ। नगरपालिकामा कार्यरत सब–इन्जिनियरसहित ८ जना प्राविधिक कर्मचारीलाई करार अवधि सकिएको भन्दै हटाइएको हो।
असार २७ गते बसेको कार्यपालिकाले सेवा करार नवीकरण नगर्ने निर्णय भएको भन्दै साउनदेखि हाजिर नगराउन नगरपालिकाले वडा कार्यालयलाई पत्राचार गरेपछि मेयर र उपमेयरबीच लिखित जुहारी चलेको छ। कार्यपालिकाको बैठकमा उपमेयर सूर्य दुबे काठमाडौं भएका कारण अनुपस्थित थिए। काठमाडौंबाट आएका उपमेयर दुबेले साउन अर्को व्यवस्था नभएसम्म प्राविधिक कर्मचारीलाई नहटाई हाजिर गराउन भन्दै अर्को पत्र पठाएपछि मेयरसँगको विवाद बढेको हो। मेयर विमला अर्याल साउन १ गतेदेखि काठमाडौंमा छिन्।
यता कार्यपालिकामा सहभागी भएका वडाध्यक्षहरूले भने करारमा कर्मचारी निकाल्ने विषय नै प्रवेश नगराइएको र अर्कै विषयका लागि बोलाइएको बैठकको उपस्थितिमा हस्ताक्षर गराएर आफूहरूलाई झुक्काएको बताएका छन्। ‘भूमि र नदीजन्य पदार्थसम्बन्धी निर्णय गर्न छ भन्दै बैठक बोलाइएको थियो। पछि करार कर्मचारी हटाउने जानकारी पाएपछि प्रमुख प्रशासकीय अधिकृतलाई अहिले त्यो निर्णय नगरौं भनेर बैठक सकाइएको हो। पछि हस्ताक्षर नै दुरुपयोग गरेर कर्मचारी निकालेको निर्णय गरेछन्’, वडा नम्बर ३ का अध्यक्ष पविन गुरुङले भने।
वडाध्यक्ष एवं नगरका प्रवक्ता कृष्णप्रसाद बगालेसहित ८ जना वडाध्यक्षले आफूहरूको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै नगरपालिकामा पत्र दिएपछि उपमेयर दुबेले वडालाई पत्र लेख्दै कर्मचारीलाई हाजिर गराउन पत्राचार गरेका हुन्। उपमेयर दुबेले करारमा कर्मचारी निकालेको बारे अनौपचारिक जानकारी आफूले नपाएको र वडाध्यक्षहरुले लिखित पत्र दिएपछि कर्मचारीलाई हाजिर गराउन भनिएको बताए।
नगरपालिकामा झन्डै १ सयको हाराहारीमा करारका कर्मचारी छन्। ‘८ जना कर्मचारीका कारण झण्डै ५०/६० लाख बढी नगरपालिकालाई व्ययभार छ। प्रदेशबाट स्थायी पदपूर्ति भएर आएपछि राख्न नमिल्ने भएकाले हटाइएको हो’, मेयर अर्यालले भनिन्। आवश्यक नभएका अन्य करारका कर्मचारीलाई पनि क्रमशः हटाउँदै लगिने मेयर अर्यालको भनाई छ। उपमेयरले जहिले पनि बखेडा निकालेर द्वन्द्व निम्त्याउने काम गरेको मेयर अर्यालको गुनासो छ। मेयर र उपमेयर दुवै एमालेबाट निर्वाचित हुन्।