: पछिल्लो समयमा झापामा सवारीसाधन दुर्घटना अत्यधिक बढेको छ। जिल्लामा दिनहुँ सवारीसाधन दुर्घटनामा परेका समाचारहरू आइरहँदा समेत यसको रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित निकायले खासै चासो देखाएको पाइँदैन।
जिल्लाका विभिन्न स्थानमा खटाइएका ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता नदिई राजश्व सङ्कलनमा मात्रै बढी ध्यान दिँदा सवारी दुर्घटना दिनप्रतिदिन बढिरहेको सरोकारवालाहरू बताउँछन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष सवारी दुर्घटनामा परी ज्यान जनाको सङ्ख्या बढेको पाइएको छ। अघिल्लो वर्षको तुलनामा गत वर्ष दोब्बर भन्दा बढी सवारी दुर्घटना भएको तथ्याङ्कले देखाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा ५९३ वटा सवारी दुर्घटनामा परी ८७ जनाको ज्यान गएको थियो। गत आर्थिक वर्ष २०८१/८२ मा एक हजार २९६ सवारी दुर्घटनामा ९५ जनाको ज्यान गएको छ। अघिल्लो वर्ष १६४ जना गम्भीर र ८०३ जना सामान्य घाइते भएका थिए। गत वर्ष दुर्घटनामा परी एक हजार ९३४ जना सामान्य र १३९ जना गम्भीर घाइते भएका छन्। गत वर्षमा ५२ हजार ८७५ जना सवारी चालकलाई कारबाही गरिएको छ।
उक्त कारबाहीबाट तीन करोड ९५ लाख ५५ हजार ५६० रुपैयाँ राजस्व सङ्कलन भएको छ। अघिल्लो आर्थिक बर्ष २०८०/८१ मा ५७ हजार ४५६ सवारीसाधन कारबाहीमा परेका थिए। उक्त कारबाहीबाट तीन करोड ८६ लाख ८२ हजार ६४१ राजस्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।